कुखुरालाई दानाको सट्टा घाँसपात

न मासु बिक्छ, न दाना पाइन्छ 
रीना मोक्तान

काठमाडौँ — सरकारले लकडाउन थपेसागै भक्तपुर सिपाडोलका कुखुरा व्यवसायीले कुखुरा पाल्न छाडेका छन् । लकडाउनमा दानाको अभाव र पालेका कुखुराको बिक्री हुन छोडेपछि उनीहरुले लाखौंको घाटा व्यहोर्नु परेको छ ।

कुखुरालाई दानाको सट्टा घाँसपात

शुक्रबार सिपाडोल पुग्दा अधिकांश कुखुरा फार्म खाली थिए । त्यहाा न कुखुरा थिए, न कुखुरा व्यवसायी नै ।

एउटा खाली फार्मभित्र सरफाई गर्दै भेटिइन्, माइली तामाङ । लकडाउनअघि पालेको १७ सय कुखुरा बल्ल–तल्ल बिक्री गरिन् । कुखुरा बिक्री भएपछि फार्म सफा गर्ने,चल्ला ल्याउने गर्थिन् । लकडाउन अनिश्चित भएपछि उनी चल्ला हाल्ने–नहाल्ने दोधारमा छिन् ।

‘अब बन्द हुने हो कि खुल्ने हो ? कुखुरा राख्ने/नराख्ने ठेगान छैन,’ उनले भनिन्,‘अब राखे पनि सप्लाई भएन भने घाटा हुन्छ ।’

लकडाउन भएससँगै कुखुरालाई चाहिने दानाको अभाव भएको छ । तीनवटा टहरामा उनले ६ वर्षदेखि कुखुरा पाल्दै आएकी छन् । एउटा टहराको भाडा वार्षिक १ लाख तिर्नुपर्छ ।

फोहोर बर्ड फ्लू यसपाली कोरोनाले गर्दा उनको व्यवसाय चौपट बनेको छ । उनले भनिन्,‘यही लकडाउनले गर्दा कुखुरा नबिकेपछि १५ सय कुखुरा मार्नुपर्‍यो । ’ अरुबेला ४०/४२ दिनमा सबै कुखुरा बिक्री हुने गरेको उनले सुनाइन ।

माइली तामाङको घर नजिकै छ, समुन्द्रको कुखुराको टहरा । समुन्द्र फार्मलाई चल्ला र दाना दिएर कुखुरा पालन गर्न लगाउँथे । हुर्किसकेको कुखुरालाई सूर्यविनायकमा रहेको मासु पसलमा बेच्थे । उनी दिनमा ४ सय केजीसम्मको मासु बेचेर ३५ हजारसम्मको व्यापार गर्थे । तर लकडाउनले मासु खानेहरु घटे । उनको व्यापार पनि डामाडोल भएको छ ।

‘हाम्रो कुखुरा बेच्ने पसल छ । मेरो पसल मासु नभइ चल्दैन । अहिले कुखुरा पाउनै गाह्रो । लकडाउनले गर्दा फार्महरुले कुखुरा पाल्न छाडे,’ उनले भने । लकडाउनपछि मासु बेच्न कुखुरा नपाइने डरले अहिले उनले आफ्नो घर नजिकै टहरा बनाएर १२ सय चल्ला पालेका छन् ।

लकडाउनअघि उनले विभिन्न फार्मलाई चल्ला पाल्न दिएका रहेछन् तर दाना नपाएपछि सबै कुखुरा मर्‍यो । लकडाउनले १७/१८ लाखको घाटा भएको उनले बताए ।

मासुबाट कोरोना सर्ने हल्ला फैलिएपछि मासुको बिक्री घटेको उनले बताए । ‘अरुबेला दिनमा २० केजी मासु बेच्ने पसलले लकडाउनमा ३–४ केजी मात्र बेचे,’ श्रेष्ठले भने, ‘कोरोना कुखुराबाट त सर्ने होइन । मासुबाट लागेको भए कुखुरा मारिन्थ्यो होला । कसैले भ्रम फैलाइदियो ।’

दानाको सट्टा घाँसपात :

पाँच वर्षदेखि कुखुरा पालन गर्दै आएका प्रेम तामाङले लकडाउनमा दाना अभाव हुँदा घाँस पनि टुक्रा पारेर कुखुरालाई खुवाए । अहिले जसोतसो गहुँ, मकै उसिनेर दाना बनाइरहेका छन् ।

पालेको कुखुरा बेच्नका लागि तयार भएपनि लकडाउनले गर्दा मासु पसलहरु पनि बन्द छन् । कुखुरा बेच्ने समयमा दानापानी खोजेरै उनको दैनिकी बितिरहेको छ ।

उनले लोकल कुखुरा पालेका छन् । अरुबेला यी कुखुरा चार महिनामा बेचिसक्थे । ‘कुखुरा बेच्ने ठाउँ छैन । दानापानी अपुग छ । दाना नभएर कुखुराले मान्छे नै खाला जस्तो गर्‍यो,’ उनले भने, ‘त्यतिबेला त घाँस काटेर दियौं । अहिले चाहीँ गहुँ, मकै उसिनेर दिँदैछौं ।’

प्रकाशित : वैशाख १९, २०७७ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?