३२ दिनपछि युनिलिभर सञ्‍चालनमा आयो

मकवानपुर — सरसफाइजन्य सामग्री उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड उद्योग सञ्चालनमा आएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै बन्द भएको उद्योग सोमबारबाट सञ्चालनमा आएको हो ।

३२ दिनपछि युनिलिभर सञ्‍चालनमा आयो

हेटौंडा–३ स्थित बसामाडीमा रहेको सरसफाइजन्य सामग्री उत्पादन गर्ने उद्योगमा स्टक रहेको साबुन सकिने अवस्थामा पुगेपछि उद्योग सञ्चालन गर्न व्यवस्थापन र मजदुर पक्ष सहमत भएका हुन् । सरकारले सरसफाइजन्य सामग्रीहरुलाई अत्यावश्यक सूचीमा राखेको भए पनि मजदुर र उद्योग प्रशासनबीचको विवादका कारण उद्योग ३२ दिन बन्द भएको थियो ।

‘उद्योगमा साबुनको स्टक सकिएपछि लकडाउनकै अवधिमा हामी उद्योगमा काम गरिरहेका छौं,’ अखिल नेपाल औद्यागिक मजदुर संघका अध्यक्ष जयराम धितालले भने । उनले बिहान ९ बजेबाट ५ बजेसम्म उद्योग सञ्चालन भइरहेको जानकारी दिए । उद्योगले साबुनसहित डिटर्जेन्ट पाउडर (सरफ), स्याम्पु र मञ्जन उत्पादन गर्छ । तर, अहिले साबुन मात्र उत्पादन सुरु गरेको छ । ‘सरकारले घरमै बस्नु भनेका कारण मजदुरहरु उद्योगमा कामका लागि गएनन् । अहिले एकपटकमा १८ जना मजदुरले सरकारले तोकेअनुसार दूरी कायम गरेर काम गरिरहेका छौं,’ उनले थपे ।

उद्योग प्रशासनका अनुसार पहिलो चरणमा साबुन मात्र उत्पादन सुरु भएको र सरकारले भनेअनुसार दूरी कामय गरी क्रमश: अन्य उत्पादन पनि सुरु गर्ने तयारी भइरहेको छ । सम्पूर्ण उत्पादन एकैपटक सुरु गर्न सक्ने अवस्था नभएकाले पहिलो चरणमा साबुन उत्पादन गरेको उद्योग प्रशासनले जनाएको छ । उद्योगले हालको अवस्थामा दैनिक १५ टन साबुन उत्पादन गर्ने जनाएको छ । अहिले हप्तामा एकपटक मात्र मजदुरहरुको काम गर्ने पालो आउने पनि उद्योगले जनाएको छ । उद्योगले प्रतिमजदुर दैनिक तीनसय ५० रुपैयाँ जोखिम भत्ता समेत उपलब्ध गराउने जानकारी दिएको छ ।

संघीय सरकारको स्वास्थ्य मन्त्रालय, उद्योग मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयबाट उद्योग सञ्चालन गर्न व्यवस्थापन पक्षलाई पटक/पटक आग्रह भए पनि उद्योगले आफ्नो उत्पादन सुरु गर्न सकेको थिएन । उद्योग प्रशासनले सरकारले तोकेअनुसारको दूरी कायम गरेको, स्वास्थ्यजन्य सम्पूर्ण सामग्री उपलब्ध गराएको र मजदुरलाई घरबाटै आउजाउ गर्ने गरी व्यवस्था मिलाएको जनाएको छ ।

उद्योगमा मजदुर र कर्मचारी गरी करिब दुई सयजना कार्यरत् रहेका छन् । उद्योगले वार्षिक करिब १५ हजार मेट्रिक टन मञ्जन, १० हजार मेट्रिकटन सरफ, ६ हजार मेट्रिकटन साबुन, ५ हजार मेट्रिक टन स्याम्पु उत्पादन गर्छ । उद्योगले गत वर्ष करिब ६ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

प्रकाशित : वैशाख १६, २०७७ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?