कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिमेन्ट उद्योग पुन: सञ्चालन हुँदै

हेटौंडामा रहेका अन्य उद्योग पनि आंशिक रूपमा चलिरहेका छन्
प्रताप विष्ट

हेटौंडा — लकडाउनका कारण बन्द भएका यस क्षेत्रका सिमेन्ट उद्योग पुन: सञ्चालनमा आउँदै छन् । मजदुर, कर्मचारी र प्राविधिकलाई उद्योगमै आवासीय प्रबन्ध गरेर उद्योग चलाउन लागिएको हो।

सिमेन्ट उद्योग पुन: सञ्चालन हुँदै

हेटौंडा उपमहानगरपालिका–१६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योग शुक्रबारदेखि आंशिक सञ्चालनमा आएको छ । चैत ११ देखि बन्द उद्योगले सिमेन्ट उत्पादन गर्न आवश्यक मजदुर, कर्मचारी र प्राविधिक गरी सय जनालाई उद्योगमै खानेबस्ने व्यवस्था गरिएको बताएको छ । ‘स्वास्थ्य सुरक्षा र भौतिक दूरी कायम राखेर उद्योग चलाएका छौं,’ उद्योगका प्रशासन प्रमुख सरोज शर्माले भने, ‘प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित कमान्ड पोस्टसँग स्वीकृति लिएर उद्योग चलाउन थालेका हौं ।’

सिमेन्ट उत्पादन गर्न उद्योग संघ क्लिंकर भएकाले उत्पादन सुरु गरिएको उनको भनाइ छ । शिवम्सँग सिमेन्ट उत्पादन गर्ने क्लिंकर एक महिनाभन्दा बढी समयलाई पुग्नेछ । ‘यो समयमा खानी सञ्चालनमा ल्याउँदैनौं,’ शर्माले भने, ‘क्लिंकर पनि उत्पादन गर्दैनौं ।’

उद्योगले अहिले दैनिक ५० केजीका ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगको कुल उत्पादनको यो ५० प्रतिशत मात्र हो । राष्ट्रिय प्राथमिक आयोजनामा सिमेन्ट बिक्री गर्दै आएको उद्योगले बिहान ६ देखि बेलुका ६ बजेसम्म उद्योग चलाइरहेको छ । लकडाउनअघि भने चौबीसै घण्टा उद्योग चल्ने गरेको थियो ।

यसैगरी सरकारी पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग पनि बुधबारदेखि सञ्चालनमा ल्याइँदै छ । लकडाउनको समयमा पनि सम्बन्धित निकायको अनुमति लिएर उद्योगले सिमेन्ट बेचिरहेको छ । ‘मापदण्ड पूरा गरेर बुधबारदेखि उद्योग सञ्चालन गर्ने तयारीमा छांै,’ उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले भने, ‘लामो समयसम्म उद्योग बन्द गर्दा ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्छ ।’

निजी क्षेत्रबाट हेटौंडा उपमहानगर–१५ चुरियामाईमा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योग पनि मंगलबारदेखि पुन: सञ्चालनमा आउँदै छ । ‘सुरक्षाको प्रबन्ध मिलाएर सञ्चालनमा ल्याउँछौं,’ उद्योगका प्रबन्ध निर्देशक राजेश खरेलले भने, ‘यस्तो अवस्थामा पूर्ण रूपमा सञ्चालन गर्न सक्दैनौं । आंशिक रूपमा चलाउँछौं ।’

उपमहानगरमा एक सरकारीसहित तीनवटा ठूला सिमेन्ट उद्योग छन् । हेटौंडा औद्योगिक क्षेत्रमा अन्य २२ उद्योग पनि आंशिक सञ्चालनमा छन् ।

प्रकाशित : वैशाख १५, २०७७ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?