सय योजनाले लिए निर्माण अनुमति

केही ठाउँमा काम सुरु, केहीले तयारी गर्दै
हरिराम उप्रेती

गोरखा — लकडाउनले विकास निर्माणका काम ठप्प छन् । कामदार गाउँ फर्किएपछि भइरहेका काम पनि अलपत्र छन् । रोकिएका विकास निर्माणका काम पुन: सुरु गर्न प्रशासनले भने अनुमति दिएको छ ।

सय योजनाले लिए निर्माण अनुमति

कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले निर्धारण गरेका सर्तमा रहेर काम पुन: सुरु गर्न एक सातामा सयभन्दा बढी योजनाले अनुमति लिएका छन् । तर कामदार नहुँदा निर्माण थाल्न नसकिएको ११ किलो छेवेटार भालुस्वारा सडक आयोजनाका इन्जिनियर राजेश यादवले बताए । कार्यालयअन्तर्गत सोतीखोला र चेपेखोलाको मोटरेबल पुलमा फाट्टफुट्ट काम भएका छन् । ‘दुईवटा पुलको काम लकडाउनमा पनि कहिलेकाहीँ भइरहेको छ,’ उनले भने, ‘अरू योजना ठप्प छन् ।’

जिल्ला प्रशासनबाट ११ किलो छेवेटार भालुस्वारा सडक कार्यालयले ११ वटा योजनाको काम सुरु गर्न अनुमति लिएको छ । तर झट्ट काम गर्ने अवस्था नरहेको यादवको भनाइ छ । ‘बाहिरबाट मजदुर ल्याउनुपर्छ, एउटा सामान बिग्रिए बनाउन कहाँ लैजाने भन्ने जस्ता समस्यामा रुमल्लिरहेका छौँ,’ उनले भने । कालोपत्रका लागि यो उपयुक्त समय रहेको प्राविधिक बताउँछन् ।

अनुमतिपछि बारपाक सडकखण्डअन्तर्गतका अन्तिमका दुई प्याकेजको काम पुन: सुरु गर्ने प्रयास भइरहेको यादवले जानकारी दिए । पयाप्त निर्माण सामग्री ढुवानीमा सहज नहुँदा पनि काम अघि बढाउन समस्या भएको अनुमति लिएका कार्यालयले बताएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत मात्र ३८ योजनाले काम गर्न सञ्चालन अनुमति लिएका छन् । ‘चलिरहेका योजनामध्ये केहीको काम लकडाउनमा पनि गर्न लागेका छौं,’ कार्यालय प्रमुख तुलसी बस्नेतले भने, ‘केही योजनामा काम सुरु भइसक्यो ।’ धेरैजसो मजदुर घर गइसकेकाले काम अघि बढाउन समस्या भएको उनको भनाइ छ ।

बारपाक सुलिकोट गाउँपालिकाको चनौटे–पाल्खु सडक निर्माण र कुन्दुर टार पालुङटार सिँचाइ योजनाका लागि पनि जिल्ला प्रशासन कार्यालयले अनुमति दिइसकेको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गतका २० योजना, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयअन्तर्गतका २९ योजनाले निर्माणका लागि अनुमति लिएका छन् । सडक, पुल, खानेपानी, लघुजलविद्युत्, झोलुंगे पुललगायत योजनाको काम अघि बढाउन अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले जानकारी दिए । स्थानीय तहसँग समन्वय गरेर स्थानीय स्तरकै जनशक्ति काममा खटाउन भनिएको उनले बताए । अन्य आयोजनाले पनि अनुमति लिने क्रम बढेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख १५, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?