किसानले बनाउन थाले च्याउको सुकुटी

ताजा च्याउ बिक्री नभएका बेला सुकुटीले पनि बजार नपाउने हो कि भन्ने चिन्ता
नुमा थाम्सुहाङ

काठमाडौँ — किसानले उत्पादन खेर नजाओस् भनेर च्याउको सुकुटी बनाए पनि बिक्री गर्न बजार नपाएको गुनासो गरेका छन् । लकडाउनका कारण उत्पादित ताजा च्याउले बजार पाएको छैन । बिक्रीको विकल्पमा उनीहरूले सुकुटी बनाएर राखे । तर सुकुटी पनि खेर जाने हो कि भन्ने चिन्ता रहेको किसान बताउँछन् ।

किसानले बनाउन थाले च्याउको सुकुटी

अछामको मंगलसेन नगरापालिका–५ स्थित दुर्गा कृषि च्याउ उत्पादन केन्द्र र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित तिमिल्सिना च्याउ फार्मले बढी भएको च्याउको सुकुटी बनाएर राखिरहेका छन् ।

दुर्गा कृषि च्याउ केन्द्रका गुमानसिंह बटालाले अहिलेसम्म ४६ क्विन्टल च्याउको सुकुटी बनाइसकेको जानकारी दिए । १० किलो च्याउ बराबर एक किलो सुकुटी हुने उनको भनाइ छ । त्यस्तै काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित तिमिल्सिना च्याउ फार्मका सञ्चालक सीताराम तिमल्सिनाले पनि ७० केजी च्याउको सुकुटी बनाएर राखिरहेको बताए ।

लकडाउनका कारण सबै च्याउ किसान समस्यामा परेको बटालाको भनाइ छ । मंगलसेनमा ५ रोपनी र पञ्चदेवल विनायक नगरपालिका–२ मा ४ रोपनी क्षेत्रफलमा उनले कन्ये च्याउको खेती गरेका छन् । १० लाख रुपैयाँ लगानीबाट खेती सुरु गरेका उनले अहिले व्यवसाय धरापमा रहेको गुनासो गरे ।

‘लकडाउनले गरेर १० लाख रुपैयाँ बराबरको नोक्सान भयो । गत असोजमा ५ लाख रुपैयाँ लगानी गरेर पहिलो लटको च्याउ लगाएँ,’ उनी भन्छन्, ‘फागुनदेखि उत्पादन दिन थाल्यो । तर चैतबाट लकडाउन सुरु भयो । अर्काे लटका लागि च्याउ लगाउन समस्या छ ।’

ताजा च्याउ बिक्री हुन नसकेका बेला सुकुटी बिक्री गर्न झनै समस्या रहेको तिमिल्सिना बताउँछन् । उनले पनि यस अवधिमा १० लाख रुपैयाँ नोक्सान भएको जानकारी दिए । ‘फागुनमा १७ लाख रुपैयाँ लगानी गरेर ८ हजार पोका च्याउ लगाएँ । बेच्ने बेला लकडाउन भयो,’ उनले भने ।

दोस्रो चरणको बीउ लगाउन समस्या

च्याउ किसानलाई लकडाउनका कारण च्याउको बीउ लगाउन समस्या भएको छ । आवश्यक लगानी र कच्चापदार्थ नभएकाले समस्या थपिएको किसानको भनाइ छ । पहिलो चरणमा लगाएको च्याउबाट लगानी उठाउन नसकेपछि अर्काे पटकका लागि बीउ लगाउन समस्या भएको अछामका किसान बटाला सुनाउँछन् ।

फागुनमा दोस्रो चरणका लागि च्याउ लगाउन भनी उनले ५० हजार रुपैयाँ बराबरको बीउ किनेर राख्नुपरेको बताए । असोजमै लगाएको च्याउबाट नै उत्पादन भइरहेको उनको भनाइ छ । ‘अहिलेसम्म प्रतिकिलो २ सय रुपैयाँमा ७ क्विन्टल च्याउ बेचिसकें,’ उनले भने, ‘बीउ र कच्चापदार्थ सबै किन्नुपर्छ ।’

बटाकाले कालीकोट, दैलेख, सुर्खेत, धनगढी र अछामका केही स्थानमा च्याउ बिक्री गर्दै आएका थिए । तर अहिले अछामकै दुईवटा नगरपालिकाभन्दा बाहिर जान नपाएको उनको भनाइ छ ।

तिमल्सिनालाई पनि अर्काे चरणको च्याउ लगाउनुपर्ने भए पनि अगाडि नै नोक्सान बेहोर्नुपरेकाले के गर्ने भन्ने द्विविधा परेको छ । किसानले पुरानै लटको च्याउ बिक्री गरिरहेको च्याउ उत्पादक किसान संघ नेपालका अध्यक्ष प्रेमनारायण अधिकारी बताए ।

‘नयाँ उत्पादनका लागि पराल, बाँसलगायत कच्चापदार्थ ढुवानीमा समस्या छ,’ उनले भने, ‘त्यसैले गत चैतको तुलनामा उत्पादन ५० प्रतिशत घटेको छ । उपत्यका छाड्ने धेरै भएकाले उपभोक्ता पनि घटिरहेका छन् ।’

५ करोड क्षति

लकडाउनका बेला च्याउ किसानले मात्र पाँच करोड रुपैयाँ बराबरको नोक्सानी बेहोरेको अधिकारीले बताए । वार्षिक रूपमा १ अर्ब रुपैयाँ बराबरको ८० लाख किलो कन्ये र २७ करोड रुपैयाँ बराबरको १ लाख किलो गोब्रे च्याउ उत्पादन हुने संघको तथ्यांक छ ।

७ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ५० हजार किलो सिताके र ३० लाख रुपैयाँ बराबरको अन्य च्याउ उत्पादन हुन्छ । यसबाट ३५ हजारले प्रत्यक्ष रोजगारी पाइरहेको संघले जनाएको छ।

काठमाडौंको बलम्बु, भक्तपुरको दधिकोट, ललितपुरको चापागाउँलगायत ४२ जिल्लामा कन्ये, गोब्रे, सिताके, मिल्की, ग्यानोडर्मा जातका च्याउको व्यावसायिक उत्पादन हुने गरेको छ । च्याउ उत्पादनको ६० प्रतिशत खपत काठमाडौं उपत्यकामा हुने गरेको संघको तथ्यांक छ ।

प्रकाशित : वैशाख १३, २०७७ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?