कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

एक महिनामा विराटनगर भन्सारद्वारा ५७ करोड राजस्व असुली

विनोद भण्डारी

विराटनगर — महिना दिनको लकडाउनको अवधिमा विराटनगर भन्सारले करिब ५७ करोड राजस्व असुली गरेको छ । यो भन्सारले सामान्य अवस्थामा दैनिक सरदर १५ करोड राजस्व असुली गर्दै आएको हो ।

लकडाउनको समयमा पनि भारतबाट खाद्यान्न, तरकारी, पेट्रोलियम पदार्थ र एलपी ग्यास आयात र झण्डै २५ करोड मूल्यबराबरका वस्तु निकासी हुँदा बुधबारसम्ममा ५६ करोड ८१ लाख रुपैयाँ राजस्व असुली गरेको भन्सार कार्यालयले जनाएको छ । यो अवधिमा विराटनगर भन्सार नाकाबाट ७० करोड मूल्यबराबरको ११ लाख ५२ हजार टन खाद्यान्न, तरकारी र फलफूल आयात भएको भन्सारको तथ्यांक छ । यो नाकाबाट ३ करोड ५० लाख मूल्यबराबरको करिब ५ लाख किलो चामल भित्रिएको छ ।

त्यसैगरी २३ करोड २५ लाख रुपैयाँ बराबरको ६९ लाख ५१ हजार किलो मकै र ३ करोड ५४ लाख ४८ हजार मूल्यको आठ लाख ६५ हजार किलो धान आयात भएको भन्सारको तथ्यांक छ ।

त्यसैगरी हजार किलोलिटर पेट्रोल, ७ हजार किलोलिटर डिजेल, ३८ लाख किलोग्राम एलपी ग्यास, ७ लाख किलोग्राम पोलिथिनको दाना आयात भएको छ । त्यस्तै सुपारी एक लाख ८० हजार किलोग्राम, मरिच ८० हजार किलोग्राम, ३९ लाख २५ हजार ९ सय ८० किलोग्राम पथ्थर कोइला आयात भएको छ । त्यसैगरी यो अवधिमा एक सय २० वटा मोटरसाइकल समेत आयात भएको भन्सारको तथ्यांक छ ।

यो अवधिमा विराटनगर नाकाबाट ३ करोड ५० लाख मूल्यको आलु ४ करोड ४५ लाख मूल्यको प्याज र ३३ लाख मूल्यको तरकारीसहित आठ करोड ५५ लाख मूल्यको फलफूल आयात भएको छ । भन्सारका अनुसार यो अवधिमा भारत लगायत तेस्रो मुलुकबाट करिब ३ अर्ब मूल्यका सामान आयात भएको छ ।

त्यसैगरी लकडाउन अवधिमा ११ लाख मूल्यको खजुरको प्रशोधित तेल, ४ लाख मूल्यको भटमासको प्रशोधित तेल, सूर्यमुखी फूलको प्रशोधित तेल, चाउचाउ, नुडल्स, पास्ता भटमासको कच्चा तेल, सेन्थेटिक कार्पेट निकासी भएको भन्सारको तथ्यांक छ ।

प्रकाशित : वैशाख ११, २०७७ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?