३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कोरोना प्रभाव : भर्जिन एयरलाइन्स टाट पल्टियो

नारायण खड्का

सिड्नी — कोरोना भाइरसका कारण सेवा बन्द गर्नुपरेपछि अस्ट्रेलियाको दोस्रो ठूलो विमान कम्पनी भर्जिन एयरलाइन्स धराशायी बनेको छ । आर्थिक रूपमा टाट पल्टिएपछि अस्थायी रूपमा कम्पनीको व्‍यवस्थापन डेलोइट्लाई मंगलबार सुम्पिएको छ । 

कोरोना प्रभाव : भर्जिन एयरलाइन्स टाट पल्टियो

५ अर्ब डलरभन्दा बढी लगानीको यो एयरलाइन्स कम्पनी कोरोना भाइरसका कारण धराशायी हुने पहिलो ठूलो व्यावसायिक संस्था हो। कोरोना प्रकोपका कारण अधिकांश उडान बन्द भएपछि आर्थिक समस्यामा परेको कम्पनीले अस्ट्रेलिया सरकारसमक्ष १.४ बिलियन डलर ऋण सहायता माग गरेको थियोे । तर सरकारले आर्थिक सहयोग नदिने भएपछि एयरलाइन्सले कम्पनीको व्यवस्थापन अस्थायी रूपमा अर्कै कम्पनीलाई दिने निर्णय गरेको हो । कम्पनीले व्यवस्थापन अर्कै कम्पनीको जिम्मा लगाएपछि सो कम्पनीमा कार्यरत १० हजार प्रत्यक्ष र ५ हजारबढी अप्रत्यक्ष रूपमा कार्यरत कर्मचारी बेरोजगार बनेको सञ्चारमाध्यमले जनाएका छन ।

करिब ५ अर्ब ऋण भएको कम्पनीको आम्दानी कोरोना भाइरसको प्रभावका कारण बन्द भएपछि कम्पनीले यो निर्णय लिनुपरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन। भर्जिन एयरलाइन्सका प्रमुख पउल स्कुराले कम्पनी धराशायी नभएको र व्‍यवस्थापन अर्कैलाई दिइए पनि सेवा सुचारु हुने जनाएका छन् । कम्पनीका स‌ंस्थापकमध्येका एक व्‍यवसायी रिचार्ड बेन्सनले यो आफ्नो कम्पनीको अन्त्य नभएको बताउँदै यसलाई अझ सशक्त र नयाँ किसिमले लैजाने उल्लेख गरेका छन ।

सन २००० मा स्थापना भएको यस विमान कम्पनीले अष्ट्रेलियाका सम्पूर्ण मुख्य सहरका साथै अधिकांश दुर्गम क्षेत्रमा उडान गर्दै आएको छ । यसका साथै करिब एक दर्जन बढी देशमा अन्तर्राष्ट्रिय उडान समेत गर्दै आएको छ । ९८ वटा विमान रहेको भए पनि कोरोना प्रकोपका कारण अहिले सबै उडान बन्द गरेर सिड्नी र मेलबर्नमा एकमात्र उडान गरिरहेको छ ।

सरकारले आर्थिक सहयोग नगर्ने जनाएपछि विपक्षी दलका नेता एन्थोनी अल्बानिजीले सरकारको आलोचना गरेका छन् । उनले अहिलेको अवस्थामा अर्थतन्त्रमा टेवा पुर्‍याइरहेकाे कम्पनीलाई सहयोग पुर्‍याउनुपर्ने बताएका छन । अस्थायी रूपमा व्‍यवस्थापनको जिम्मा लिएको डेलोइट्सले कुनै पनि कर्मचारीलाई तत्काल जागिरबाट ननिकालिने बताएको छ ।

प्रकाशित : वैशाख ९, २०७७ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?