१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाँच हजार रोपनीको तरकारी नष्ट

अगन्धर तिवारी

पर्वत — असिनापानीले जिल्लाका प्रायः क्षेत्रमा क्षति पुर्‍याएको छ । पर्वत र बागलुङका मुख्य तरकारी पकेट क्षेत्रको तरकारी र फलफूलमा आइतबारको असिनापानीले ठूलो क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पाँच हजार रोपनीको तरकारी नष्ट

असिनाले बेमौसमी तरकारी, फलफूल र थन्काउने बेलाको गहुँ, जौलगायत बालीमा क्षति पुर्‍याएको किसानले बताएका छन् । कतिपय गाउँमा गोड्ने समयका मकैसमेत असिनाले थिचेको छ । यसअघि समेत दुई पटक परेको असिनाले कुस्मा र गलकोट नगरपालिका, जलजला र मोदी गाउँपालिकामा क्षति पुर्‍याएको थियो । तिनै गाउँमा समेत आइतबारको असिनाले केही बाँकी रहेको तरकारी बालीमा शतप्रतिशत क्षति पुर्‍याएको किसानको गुनासो छ । ‘अस्तिअस्तिको असिनाले अलिअलि जोगिएको पनि अहिले सोत्तर परेको छ,’ जलजला–८ का रामु सुवेदीले भने, ‘दुःख जति माटोमा गयो ।’

असिनाले सबैभन्दा धेरै महाशीला र पैयुँ गाउँपालिकामा क्षति पुर्‍याएको छ । करिब एक किलोसम्मका असिना परेको पैयुँ–७ की उमादेवी बस्यालले बताइन् । ‘मसला पिस्ने लोरा जत्रै असिना परेका छन्,’ उनले भनिन्, ‘खेतीबालीको कुरै नगरौं । रुखका बोक्रासमेत खोल्सिएका छन् ।’ फलेवास, जलजला, बिहादी, पैंयु र छिमेकी जिल्ला बागलुङको जैमिनीमा समेत असिनाले करोडौं रुपैयाँको अन्न, तरकारी र फलफूलमा क्षति पर्‍याएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले बताए ।

‘क्षतिको विवरण संकलन हुँदै छ,’ रेग्मीले भने, ‘अन्नबालीभन्दा तरकारी र फलफूलमा धेरै क्षति भएको छ ।’ सुन्तला, आँप, लिचीलगायत फलफूल फुल्ने समय भएकाले असिनाले फूल झारेपछि बोट रित्तै भएको उनको भनाइ छ । ज्ञान केन्द्रले संकलन गरेको विवरणअनुसार हालसम्म करिब पाँच हजार रोपनी क्षेत्रफलको तरकारी, फलफूल तथा अन्नबाली नष्ट भएको छ ।

प्रकाशित : वैशाख ९, २०७७ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?