बारीबाटै चोरियो तरकारी

रातिको समयमा तरकारी चोर्नेहरुको बिगबिगी
दिनेश रेग्मी

ललितपुर — हरेक दिन बिहान ८० वर्षीया लीला कार्की लौरो टेकेर घरनजिकैको तरकारी बारी पुग्छिन् । यति बेला खन्न ठिक्क भएको आलु बारीबाटै चोरिएपछि उनको मन थामिसक्नु भएको छैन । ‘१ हजार ६ सय रुपैयाँको आलुको बीउ ल्याएर मरी मरी खनेर रोपेको हो,’ ललितपुरको महालक्ष्मी नगरपालिकाको चाँगाथलीकी कार्कीले भनिन्, ‘सप्पै खनेर चार थोक्रा (२ सय केजीभन्दा बढी) भन्दा बढी लगे, यसरी कहिल्यै चोरिएको थाहा थिएन ।’

बारीबाटै चोरियो तरकारी

नजिकै लगाएको लसुन र प्याजका बोट पनि उखेर लगेको उनले गुनासो गरिन् । महालक्ष्मी नगरपालिका– ७ चाँगाथली र वडा नम्बर ५ टीकाथलीका १२ किसानको बारीमा आलु, प्याज, लसुन, साग, धानियाँलगायत तरकारी बिहीबार राति चोरी भएको छ । कार्कीको भने एक साताअघि र पछि गरी दुई रातमा चोरी भएको थियो । ‘लसुन थाप्लाबाट उठाएर लगेको छ, प्याज ठुल्ठूला छानेर लग्यो,’ कार्कीले भनिन्, ‘अरूका पनि पकपकी उठाएर लगेका छन्, के गर्नी अब ?’

गोदावरी खोलाको आसपासका चाँगाथली र टीकाथलीका बारीबाट एकै रातमा सबैभन्दा बढी चोरी भएको महालक्ष्मी–५ टीकाथलीका केशव बुढाथोकीले बताए । ‘मेरो बारीबाट आलु चोरी भएपछि छिमेकीहरुको पनि हेरें, १०/१२ घरको तरकारी चोरेछन्,’ उनले भने, ‘मेरै बारीबाट खनेर ४ बोरा जति लगेछन्, अरूहरुको पनि एकै रातमा भसक्कै बनाएछन् ।’

घरबाट करिब ५ मिनेट पैदलका दूरीमा आलुसहित लसुन, रायो, धनियाँ, पालुंगो, चम्सुर लगाएका बुढाथोकीलाई बाँकी तरकारी कसरी जोगाउने भन्ने चिन्ता छ । ‘बूढो मान्छे जागिर छैन, पेन्सन छैन, तरकारी लगायो, चोरिदिन्छन्,’ ७२ वर्षीय बुढाथोकीले भने, ‘अब के गर्ने ?’ स्थानीय किसानका अनुसार रवि बुढाथोकी, सहदेव बुढाथोकी, लक्ष्मी श्रेष्ठ, मञ्जु शाह, जयराम बुढाथोकीलगायतको बारीबाट तरकारी चोरी भएको छ । ‘मेरो दुई ब्याड रायको साग लगे,’ जयरामले भने ।

मञ्जु शाहले आफ्नो बारीबाट पनि आलु र प्याज चोरी भएको बताइन् । ‘खन्ने बेला भएको थिएन । तर आलु प्याजहरु लगे, अब खन्नुपर्ने भो,’ उनले भनिन्, ‘राति कल्ले लान्छ लान्छ, केही थाहा हुँदैन ।’

केही किसानको बारीबाट आलु चोरी भएको खबर आएको र यसबारे प्रहरीलाई पनि जानकारी गराएको महालक्ष्मी नगरपालिका–५ का वडाध्यक्ष राजकुमार सिलवालले बताए ।

प्रकाशित : वैशाख ७, २०७७ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?