२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नेरु निरन्तर कमजोर हुँदै

डलरको भाउ १ सय २२.६१ रुपैयाँ पुग्यो

काठमाडौँ — राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २२ रुपैयाँ ६१ पैसा (बिक्रीदर) तोकेको छ  । यो हालसम्मकै उच्च हो ।

नेरु निरन्तर कमजोर हुँदै

यसअघि चैत २७ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २२ रुपैयाँ ५० पैसा थियो । यस्तै चैत ११ मा यस्तो विनिमय दर १ सय २२ रुपैयाँ ३४ पैसा थियो । पछिल्ला दिनमा डलरको तुलनामा रुपैयाँ निरन्तर कमजोर बन्दै गएको छ । बिहीबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय २२ रुपैयाँ ०१ पैसा तोकेको छ ।

अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि रुपैयाँ पनि कमजोर बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ  । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । यसअघि भारु बलियो हुँदा नेरु पनि बलियो भएको थियो ।

केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो । करिब डेढ वर्षअघि (०७५ असोज २४ मा) अमेरिकी डलरको विनिमय दर १ सय २० रुपैयाँ (१ सय १९ रुपैयाँ ३३ पैसा) हाराहारीमा थियो । यसअघि ०७५ साउन २७ मा डलरको विनिमयदर १ सय १० रुपैयाँ ४३ पैसा थियो ।

पछिल्ला वर्षहरूमा भारतीय अर्थतन्त्रले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन । पछिल्लो समयमा नागरिकता विधेयकलाई लिएर भारतमा हिन्दू र मुस्लिमबीचको विवाद अझै साम्य भएको छैन । विभिन्न विवादका कारण पछिल्ला महिनाहरूमा भारतमा विदेशी लगानी बढेको छैन । केही परिमाणमा पुराना लगानी पनि फिर्ता भएका छन् ।

यसकारण विश्वबजारमा भारतीय मुद्रा कमजोर भएको छ । अमेरिकी डलरको तुलनामा भारु कमजोर भएको र त्यसको प्रत्यक्ष असर नेरुमा पनि परेको जानकारहरु बताउँछन् । अमेरिकी डलर बलियो बन्दै गए पनि केही दिनयता अमेरिकामा पनि कोरोना प्रभावित व्यक्ति बढ्दै गएका छन् । नियन्त्रणका लागि त्यहाँ भएका प्रयास पनि पर्याप्त देखिएका छैनन् । अपेक्षित रूपमा कोरोना नियन्त्रण नभएको खण्डमा त्यसको असर अमेरिकी अर्थतन्त्रमा पर्ने र त्यसले डलर कमजोर हुने प्रक्षेपण पनि गर्न थालिएको छ । प्रक्षेपणअनुसार नै डलर कमजोर भए भारु केही बलियो बन्ने भएकाले नेरु पनि अधिमूल्यन हुनेछ ।

विश्वभर फैलिएको कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र प्रत्यक्ष प्रभावित भएको छ । यसले विश्वबजारमा ठूलो प्रभाव पार्ने विश्लेषणहरू भएका छन् । ठूलो अर्थतन्त्रका कारण विश्वबजारमा मन्दी आउँदा भारतीय बजार छिट्टै प्रभावित हुन्छ । त्यसो भएको खण्डमा भारु झनै कमजोर हुने आकलन गरिएको छ ।

प्रकाशित : वैशाख ४, २०७७ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?