कतै जाम बनाउँदै, कतै स्ट्रबेरी फ्याँक्दै
काठमाडौँ — लकडाउनका कारण कतिपय ठाउँमा फलफूल तथा सागसब्जीले बजार नपाइरहेका बेला केही किसानले भने यसको विकल्प निकालेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित हिमालयन स्ट्रबेरी फार्मले जाम बनाएर बिक्री गर्न थालेको छ ।
लकडाउनका सुरुको दिनमा दुई सय किलो स्ट्रबेरी त्यसै फ्याँक्नु परे पनि अहिले आफैंले त्यसको जाम बनाएर बिक्री गरिरहेको फार्मका सञ्चालक लवराज उपाध्यायले जानकारी दिए । ‘अहिलेसम्म २५ केजी जाम बिक्री गरिसकेका छौं,’ उनले भने । जाम प्रतिकेजी ४ सय रुपैयाँसम्म बिक्री भइरहेको उनको भनाइ छ ।
लबराज, चक्र जोशी र श्याम थापामगरले २० लाख रुपैयाँको सामूहिक लगानीमा आठ रोपनी क्षेत्रफलमा स्ट्रबेरी खेती गरेको एक वर्ष भइसकेको छ । कोरियामा कृषि क्षेत्रमा काम गरेर स्वदेश फर्किएपछि उनीहरूले फार्म सञ्चालन गरेका हुन् ।
‘हामीलाई यसको जाम बनाउने प्रविधिबारे थाहा थिएन,’ उपाध्यायले भने, ‘हामीले कोरियामा काम गरेको कम्पनी मालिकसँग कुरा गर्यौं । जाम बनाउन ठूलो प्रविधि नै नचाहिने, घरैमा भएको ठूलो भाँडामा ५/६ घण्टा लगाएर चिनीसँग पकाए धेरै दिन टिक्ने बताएपछि त्यसै गरेका हौं ।’
फार्ममा दैनिक ५० देखि ६० केजीसम्म स्ट्रबेरी टिप्न मिल्छ । अहिले दैनिक २० देखि ३० केजी स्ट्रबेरीलाई पकाएर ५/६ केजी जाम तयार गर्ने गरिएको उनले जानकारी दिए । वर्षभरको लगानी उठाउने बेलामै कोभिड–१९ संक्रमण फैलिन थालेपछि व्यापार नहुँदा सस्तोमै भए पनि बिक्री गर्नुपरेको उनी सुनाउँछन् ।
‘काठमाडौंका होटल र रेस्टुरेन्टमा हाम्रो स्ट्रबेरी प्रतिकेजी ८ सयदेखि ९ सय रुपैयाँसम्ममा बिक्री हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले त्यही स्ट्रबेरी स्थानीयलाई नै १ सयदेखि २ सय रुपैयाँसम्म बेचिरहेका छौं ।’ बिक्री नभएको स्ट्रबेरीको जाम बनाइरहेको उनले बताए ।
स्ट्रबेरी जाम बनाउन पनि ग्यास र चिनी अभाव भइरहने उनको भनाइ छ । फाल्नुभन्दा यसको विकल्प प्रयोग गरेर उपयोगमा ल्याउनु राम्रो सम्झेर त्यसै गरेको उपाध्याय बताउँछन् ।
अन्य किसानले भने त्यसो गर्न सकेका छैनन् । नुवाकोटको ककनी गाउँपालिकास्थित दिलमाया कृषि फार्मका सञ्चालक पूर्ण तामाङले उक्त विधि अपनाए पनि पूरा उपयोगमा ल्याउन नसकेको प्रतिक्रिया दिए ।
‘हामीले पनि जाम बनाउने कोसिस गरेका थियौं,’ उनले भने, ‘सुरुमा घरमै खान मिल्ने तीन–चार केजी जति बनायौं । तर राम्रो बनाउन सकेनौं ।’ १५ वर्षअगाडि ५० हजार रुपैयाँ लगानीमा चार रोपनी क्षेत्रफलमा उनले स्ट्रबेरी फार्म सुरु गरेका थिए । अन्य समयभन्दा सबैभन्दा धेरै उत्पादन दिने समयमा नै लकडाउन भएकाले बेच्नै नपाएको उनको गुनासो छ।
अहिले उनले एक दिन बिराएर ४० केजी स्ट्रबेरी टिप्छन् । सके जति स्ट्रबेरीको घरेलु मदिरा बनाउने र अन्य फ्याँक्ने गरेको उनले जानकारी दिए । ‘अहिलेसम्म तीन सय केजीभन्दा बढी स्ट्रबेरी फ्याँकिसक्यौं,’ उनले भने, ‘लकडाउनभर २ लाख रुपैयाँ बराबरको घाटा हुने अनुमान गरेको छु । यसले त जेठपछि नयाँ बिरुवा लगाउनका लागि लगानी उठाउन समस्या भयो ।’
पाकेको फल बिक्री नभए पनि स्याहार गर्नुपर्छ । यसका लागि औषधि, नर्सरी प्लास्टिक चाहिने भए पनि खर्चसमेत निकाल्न समस्या देखिएको तामाङले बताए । नुवाकोटबाट काठमाडौंको न्युरोड र मार्टहरूमा स्ट्रबेरी बिक्री गर्ने भए पनि यातायातलगायत सबै बन्द भएकाले कतै बिक्री गर्न नसकेको उनको गुनासो छ ।
प्रकाशित : वैशाख ४, २०७७ ०९:१८