कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उत्तरी हुम्लामा खाद्यान्न अभाव

स्थानीय उत्पादन पाक्ने बेला नभएको र लकडाउनका बेला ढुवानी समस्याले स्थानीयलाई पिरेको छ
छपाल लामा

हुम्ला — चीन सीमाको नाम्खा गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । कोभिड–१९ को जोखिम बढेपछि उत्तरी नाका बन्द हुँदा खाद्यान्न समस्या सिर्जना भएको हो ।

नाम्खाका बासिन्दा लामो समयदेखि चिनियाँ खाद्यान्नमा निर्भर छन् । गाउँपालिकाको जाङ, तिल, हल्जी, चाला, यारी, मुचु, तुम्कोटलगायत गाउँमा खाद्यान्न अभाव देखिएको मुचुका पाल्जोर लामाले जानकारी दिए । स्थानीय खाद्यान्न नपाकेकाले अभाव भएको उनको भनाइ छ ।

‘उच्च हिमाली बस्ती भएकाले स्थानीय उत्पादन न्यून हुन्छ,’ उनले भने, ‘त्यसैले वर्षौंदेखि खाद्यान्न र दैनिक उपभोग्य सामग्री चिनियाँ बजारबाटै खरिद गर्न बाध्य छौं ।’ लकडाउन र कोरोनाको जोखिमका कारण चीनको ताक्लाकोट गएर खाद्यान्न ल्याउन समस्या छ ।

सीमा नाका बन्द हुँदा खाद्यान्न अभाव बढिरहेको नाम्खा–४ चालाका दोर्जे लामाले बताए । यस वर्ष बढी हिउँ परेकाले लामो समयसम्म ताक्लाकोट जाने बाटो खुलेको थिएन । ‘हिउँ बिलाएपछि ताक्लाकोट गएर खाद्यान्न ल्याउने सोचेका थियौं,’ उनले भने, ‘कोरोनाको डरले नाका बन्द हुँदा प्रायः घरमा चामललगायत खाद्यान्न अभाव भयो ।’

लिमीस्थित तिल, जाङ र हल्जीमा १ सय ६९ घरधुरी छन् भने चालमा ३५ परिवारको बसोवास छ । चारवटै गाउँमा वर्षको एकपल्ट मात्र खाद्यान्न उत्पादन हुन्छ । स्थानीय उत्पादनले तीन महिना पनि नपुग्ने चालगाउँका लामाको भनाइ छ । ‘टाढा भएकाले सदरमुकामबाट खाद्यान्न ओसार्न समस्या हुन्छ,’ उनले भने, ‘त्यसैले ताक्लाकोटबाट वर्षभरिको खाद्यान्नको जोहो एकैपल्ट गर्छौं ।’

विद्यालयका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीलाई पनि खानाको जोहो गर्न समस्या भएको चाला स्वास्थ्यचौकीका इन्चार्ज गणेश रोकायाले बताए । ‘गाउँमा एकातिर खाद्यान्न समस्या छ, अर्कोतिर भरपर्दो सञ्चार सुविधा छैन,’ उनले भने, ‘स्थानीयसँग पैंचो मागेर गुजारा चलाइरहेका छौं ।’ सदरमुकाम आउन चालाबाट दुई र लिमीबाट चार दिन हिँड्नुपर्छ ।

नाम्खा नजिकको सर्केगाड खाद्य डिपोमा तीन सय क्विन्टल खाद्यान्न मात्र मौज्दात रहेको सर्केगाड गाउँपालिका उपाध्यक्ष जोशी धामीले जानकारी दिए । लामो समयदेखि ठेकेदारले खाद्यान्न ढुवानी नगर्दा मौज्दात चामल पनि बिक्री नगरिएको उनको भनाइ छ । सर्केगाडका केही वडामा पनि खाद्यान्न अभाव हुन थालेको उनले बताए ।

सर्केगाड डिपोमा खाद्यान्न पुर्‍याउने जिम्मा ओम जय दुर्गा जनरल सप्लायर्सले पाएको छ । कम्पनीलाई यस वर्ष १८ सय क्विन्टल खाद्यान्न पुर्‍याउने जिम्मा दिए पनि ३ सय ४२ क्विन्टल मात्र खाद्यान्न सर्केगाड पुगेको छ । चार सय क्विन्टल चामल मुगुबाट लिन खोजे पनि लकडाउनका कारण समस्या भएको कम्पनीका प्रतिनिधि भीरबहादुर थापाले बताए । मुगु सीमासम्म गाडीमा पुर्‍याइएको खाद्यान्न डिपोसम्म खच्चडमार्फत ढुवानी गरिन्छ ।

अहिले सदरमुकामस्थित खाद्य संस्थानको गोदाममा ५ हजार ३ सय क्विन्टल खाद्यान्न मौज्दात छ । खाद्यान्न अभाव हुन नदिन यस वर्ष चामलको कोटा २ हजार क्विन्टल थप गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिए । सिमकोटमा जहाजमार्फत खाद्यान्न ढुवानी थालिएको छ । सदरमुकामसम्म ढुवानी भएको चामल नाम्खा र खार्पुनाथ गाउँपालिकामा पठाउन आवश्यक तयारी गरिएको उनको भनाइ छ ।

प्रकाशित : वैशाख ४, २०७७ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?