कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

शुक्रबार काठमाडौंबाट कोरिया, जापान र लन्डन चार्टर उडान

सुरज कुँवर

काठमाडौँ — लकडाउनका कारण नेपालमा अलपत्र परेका विदेशीलाई स्वदेश फर्काउन शुक्रबार काठमाडौंमा रहेका कोरिया, जापान र बेलायतका दूतावासले तीनवटा चार्टर उडान गर्दैछन् ।

शुक्रबार काठमाडौंबाट कोरिया, जापान र लन्डन चार्टर उडान

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षत्रीका अनुसार, काठमाडौंमा रहेका यी तीन मुलुकका दूतावासको अनुरोधमा शुक्रबार तीनवटा अन्तर्राष्ट्रिय चार्टर उडान हुन लागेका हुन् । काठमाडौंस्थित संयुक्त अधिराज्य (बेलायत) ले आफ्ना नागरिकका लागि टाइटन एयरको जहाज शुक्रबार दोस्रोपटक काठमाडौं ल्याउँदैछ ।


प्राधिकरणका अनुसार, २ सय ६५ यात्रु क्षमताको उक्त विमान १ बजे काठमाडौं आएर दुबई हुँदै लन्डन फर्किने छ । काठमाडौंस्थित बेलायती राजदूत निकोला पोल्लिटले ट्‍वीटरमा चार्टर उडानमा सबै सिट भरिएको जनाउँदै अर्को साता दूतावासकै पहलमा तेस्रो चार्टर उडान हुने लेखिकी छन् । अर्को साताका लागि हुने उडानको मिति भने तय भइसकेको छैन ।


बेलायती दूतावासले टाइटन अघि नेपाल वायुसेवा निगमको विमान चार्टर गर्न ‘इच्छा देखाएको’ सञ्‍चारमाध्यले लेखेका थिए । तर, युरोपियन युनियनले नेपाली वायुसेवा कम्पनीहरुलाई लगाएको निषेधका कारण निगमको जहाज चार्टर गर्न नमिल्ने दूतावासले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ ।


अध्यागमन विभागका महानिर्देशक रमेश केसीका अनुसार, २ सय ५३ बेलायती नागरिकहरुलाई लिएर बुधबार टाइटन एयरको पहिलो चार्टर काठमाडौंबाट लन्डन उडेको थियो । टाइटन बेलायती चार्टर वायुसेवा कम्पनी हो ।


रित्तै लन्डनबाट आउने उक्त विमान दुबईमा टेक्निकल ल्याण्डिङ (इन्धन भर्ने) छ । काठमाडौंबाट फर्किंदा पनि दुबई हुँदै लन्डन जाने छ । यस उडानको अनुमति लिने लगायतका संयोजनकारी कार्यमा दूतावास संलग्न भए पनि टिकट खर्च भने यात्रुहरुले आफैं गरेका छन् । टिकट खरिदमा बेलायतकै सिटिएम कम्पनी आबद्ध छ । काठमाडौंमा रहेका बेलायतीहरुले अनलाइनमा ८ सय पाउन्ड तिरेर टिकट खरिद गर्न सक्छन् ।


यसैबीच, निगमको जहाज शुक्रबार बेलुका काठमाडौंमा अलपत्र परेका १ सय ९० जापानी नागरिक लिएर नारिता उड्दै छ । यस उडानमा संलग्न एक अधिकारीका अनुसार, ३० हाराहारी नेपाली छन् । जसका श्रीमती, श्रीमान् वा परिवारका अन्य सदस्य जापानी नागरिक हुन् । ‘२ सय ७६ सिट क्षमताको निगमको वाइडबडी विमानमा जापानी नागरिकबाहेक नेपालीले पनि फर्किने इच्छा राखेका थिए तर दूतावास र अध्यागमन विभागको स्विकृतिबिना सिट उपलब्ध गराउन सकिएको छैन,’ उनले भने ।


अध्यागमन विभागका महानिर्देशक केसीले नेपालीहरु जापानमा अलपत्र पर्न सक्ने भएकाले उक्त उडानमा रोक लगाइएको बताए । ‘यदि दूतावासले परिवारका कुनै पनि सदस्य जापानमा रहेकालाई ग्यारेन्टी गर्ने पत्र दिन्छ भने हामी रोक्दैनौं,’ महानिर्देशक केसीले भने ।


यदि नेपाली नागरिकलाई उक्त उडानमा रोक लगाइएमा वाइडबडीले १ सय ६० देखि १ सय ७० जापानी नागरिकमात्रै उडाएर जानुपर्ने छ । यो उडानको भाडा भने जापानी सरकारले नै ब्यहोर्दै छ । उसले प्रतिघण्टा १८ हजार १ सय डलरमा निगमको जहाज चार्टर गरेको हो । दूतावासले चार्टर उडानबापतको रकम भुक्तानी गरिसकेको निगमले जनाएको छ ।


यस उडानमा काठमाडौंको हात्तीसारमा रहेको सोसाइटी ट्राभललाई दूतावासले स्थानीय एजेन्ट तोकेर यात्रुहरुको टिकट वितरणको जिम्मा दिएको छ । निगमको जहाज नारिताबाट रित्तै शनिबार फर्किने छ ।


यसैबीच लकडाउनयता कोरियन एयरले पहिलोपटक चार्टर उडान गर्दै छ । काठमाडौंमा रहेको कोरियाली दूतावाससँगको सहकार्यमा हुन लागेको उडानमा १ सय ८० कोरियाली नागरिक स्वदेश फर्किँदै छन् । यात्रुको संख्या केही थपघट हुन सक्ने सम्बद्ध स्रोतले कान्तिपुरसँग भनेको छ । कोरियन एयरको विमान दिउँसो साढे ३ बजे काठमाडौं आउने तालिका छ । यो उडानमा भने यात्रुहरु काठमाडौं–सोल इकोनमी श्रेणीमा ८ सय डलर र बिजनेस श्रेणीमा १५ सय डलरमा टिकट आफैंले टिकट खरिद गरेका हुन् ।


यस्तै कोरोना सम्बन्धी मेडिकल सामग्री ल्याउन वायुसेवा निगमको बाइडबडी विमान चीनको ग्वाङजाउ जाने भएको छ । काठमाडौंमा रहेको कार्गो कम्पनी सांग्रीला फेटले गर्न लागेको चार्टर उडानमा विभिन्न अस्पतालका लागि सामग्री ल्याइन लागिएको हो । ‘काठमाडौंमा रहेको क्यामिकल एण्ड मेडिकल सप्लाइ एशोसिएसनको कार्गो हो,’ सांग्रीलाका सञ्‍चालक अशोकमान कपालीले भने, ‘निगमको वाइडबडी जहाजको क्षमता २५ टन हाराहारी हो हामी १६ टन हाराहारी सामान ल्याउने छौं ।’


शुक्रबार एउटा कार्गो उडान र तीनवटा उद्धारसहित चारवटा अन्तर्राष्ट्रिय उडान हुनेछन् ।

प्रकाशित : चैत्र २७, २०७६ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?