१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

औद्योगिक कच्चा पदार्थ आयात ठप्प

व्यापारिक प्रयोजनका मालसामान आयात रोकिए पनि पेट्रोलियम पदार्थ, एलपी ग्यास, खाद्यान्न, फलफूल र तरकारीमा भने बाधा छैन

(भैरहवा, कपिलवस्तु, नेपालगन्ज) — नेपाल र भारत दुवैतर्फ लकडाउन गरिएपछि प्रदेश ५ को मुख्य भैरहवा नाकाबाट पछिल्ला दिनमा औद्योगिक कच्चा पदार्थ र व्यापारिक प्रयोजनका मालसामानको आयात ठप्प छ । यहाँबाट भारततर्फ मालवस्तुको निकासी भएको छैन । तर यही अवधिमा पेट्रोलियम पदार्थ, खाना पकाउने एलपी ग्यास, चामल, आलु, प्याज, हरियो तरकारी, फलफूल, औषधिलगायत सामानको आयात भने यथावत् छ ।

औद्योगिक कच्चा पदार्थ आयात ठप्प


अहिले सीमाबाट सर्वसाधारणको आवतजावत रोकिएको छ । मालवाहक गाडी आउजाउमा रोक छैन । तर पूर्ववत् अवस्थामा जस्तो नाकाबाट आयात भएको छैन । भैरहवा भन्सारमा रहेका भारतीय मालवाहक गाडीका चालक बन्दाबन्दीका कारण नेपाल र भारततर्फ खान, बस्न र लोड/अनलोड गर्ने मजदुर अभावले ढुवानीमा समस्या भइरहेको बताउँछन् ।


‘जताततै बन्द छ । कहाँ खाने, के खाने, कहाँ बस्ने भन्ने समस्या छ,’ मंगलबार भन्सार परिसरमा भेटिएका यूपी २३ टी ६९१६ नम्बरको गाडीका चालक जाने आलमले भने, ‘कसरी भनेको ठाउँसम्म सामान पुर्‍याउने र के गरी फर्किने भन्ने समस्या छ ।’ उनका अनुसार काठमाडौं पुर्‍याउनुपर्ने ६ वटा गाडीमा रहेको डाइपर भन्सार नछुटेकाले दुई सातादेखि यहीँ अलपत्र छ । आफूसित भएको खर्च पनि सकिन थालेको उनले गुनासो गरे ।


ती सामानबापतको भन्सार राजस्व र कागजात प्राप्त नभएकाले नछुटेको भन्सार कार्यालयले जनाएको छ । भन्सार परिसरमा यस्ता उदाहरण धेरै छन् । लकडाउनका कारण कतिपय बैंक खुलेका छैनन् । खुलेकाले पनि पहिले जस्तो छिटोछरितो सेवा दिन सम्भव छैन । संक्रमणको डरले ग्र्राहकले बैंकबाहिरै आफ्नो पालो कुरेर धेरै समय बिताउनुपर्छ । सामान छुटाउने अख्तियारी लिने गरेका भन्सार क्लियरिङ एजेन्ट पनि घरमै बस्नुपर्ने बाध्यता छ ।


‘एसी खोलेर मालसामान ल्याउने आयातकर्तालाई बैंक नखुलेर समस्या परेको हुन सक्छ,’ एक भन्सार अधिकृतले भने, ‘अधिकांश भन्सार क्लियरिङ एजेन्टले बैंक नखुल्दा वा सहज नभएकाले सामान छुटाउन नसकिएको बताउने गरेका छन् । धेरै सामान लकडाउन अवधिदेखि नै भन्सारमै रोकिएका छन् ।’ भैरहवा भन्सारको तथ्यांकअनुसार अन्य सामान्य बेलामा कार्यालयले दैनिक २५ देखि २६ करोड रुपैयाँ राजस्व संकलन गर्थ्यो । तरकारी र फलफूल ढुवानी गर्ने साना गाडीबाहेक साढे ४ देखि ५ सय गाडीले दैनिक मालसामानको ढुवानी गर्ने गर्थे । अहिले यो क्रममा कमी आएको छ । दैनिक राजस्व डेढ करोडदेखि दुई करोड रुपैयाँ हाराहारीमा संकलन हुने गरेको छ ।


दैनिक डेढ सयदेखि दुई सयको संख्यामा मालसामान लिएर गाडी नेपाल आउने गरेका छन् । दुवै मुलुक लकडाउन गरिएपछि आयातमा कमी आएको भन्सार अधिकृत तथा सूचना अधिकारी पूर्णप्रसाद लम्सालले बताए । ‘खाना पकाउने एलपी ग्यास, पेट्रोलियम पदार्थ, औषधि, चामल, आलु, प्याज, हरियो तरकारी, फलफूलको आयात भने सामान्य अवस्थामै छ,’ उनले भने, ‘औद्योगिक कच्चा पदार्थ र व्यापारिक प्रयोजनका सामानको आयात भएको छैन ।’


भन्सारका अनुसार होलीदेखि नै नाकाबाट आयात बढेको छैन । होली सकिएर आयात बढ्ने क्रममा रहेका बेला कोरोना संक्रमणको प्रभाव पर्‍यो । लगत्तै लकडाउन गरिएपछि आयातमा प्रतिकूलता आएको हो । चैतमा ८ अर्ब १८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा चैत १ देखि १० गतेसम्ममा २ अर्ब २२ करोड ४९ लाख रुपैयाँ संकलन भएको थियो । चैत ११ देखि लकडाउन सुरु गरिएपछि २४ गतेसम्म २६ करोड ६७ लाख रुपैयाँ मात्र संकलन भएको छ ।


लकडाउन भएको १४ दिनमा २ सय ५२ वटा एलपी ग्यासका बुलेट नेपाल आएका छन् । यो संख्या अन्य बेलाको तुलनामा बढी हो । यही अवधिमा ३५ ट्यांकर पेट्रोल र १२ ट्यांकर डिजेलको आयात भएको छ । अन्य बेलाको तुलनामा पेट्रोलियम पदार्थको यो संख्या धेरै कमी हो ।

लकडाउनका कारण यातायात बन्द रहेकाले खपतमा कमी आएकाले यसको आयात कमी भएको अनुमान गरिएको छ । आलु, प्याज, तरकारी, चामल, औषधि, कोइला, फलफूललगायत अन्य सामानका २ सय ९९ वटा गाडी आएका छन् ।


नेपालगन्जबाट सहज


बाँकेसँग सीमा जोडिएका सबै नाकाबाट मानिसको आवतजावत पूर्ण रूपमा बन्द रहे पनि नेपालगन्जको जमुनाह भन्सार हुँदै आवश्यक मालवस्तुको आयात रोकिएको छैन । अहिले खाद्यान्न, तरकारी र कच्चा पदार्थको आयात बढ्दै गएको छ ।


‘तरकारी र चामल बढी आयात भइरहेको छ,’ नेपालगन्ज भन्सार प्रमुख शान्तिराम निरौलाले भने, ‘नेपाली उत्पादन थोरै निर्यात हुने गर्छ ।’ दैनिक तरकारी र खाद्यान्न बोकेर २० भन्दा बढी ट्रक भित्रिने गरेको निरौलाले बताए । नेपालगन्ज भन्सारमा पेट्रोलियम पदार्थ आयातबाट धेरै राजस्व संकलन हुने गरेको छ । मंगलबार पनि पेट्रोलियम पदार्थ बोकेर आएका ४० वटा गाडी सीमामा रोकिएका छन् । ‘हामीले रोकेका होइनौं,’ उनले भने, ‘पेट्रोलको खपत धेरै नहुने भएकाले फिर्ता गएका छैनन् ।’


पेट्रोलियम पदार्थ, सवारी साधन, सिमेन्ट, तोरी, चिनी, चामल, पत्थर कोइला, कपडा, मोटर पार्ट्स आदि बढी आयात हुने गरेको भन्सार प्रमुख निरौलाले सुनाए । लकडाउनभरि सरकारले खाद्यान्न, औषधिलगायत अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । लकडाउनको समयावधि बढाइए पनि बजारमा उपभोग्य वस्तुको कमी देखिएको छैन । ‘तर, पहाडी जिल्लामा खाद्यान्न पुर्‍याउन ढुवानी सहज छैन, प्रक्रिया जटिल बनाउँदा पहाडी जिल्लामा खाद्यान्न लैजान असहज छ,’ उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठले भने, ‘सरकारले नियमन गरेर ढुवानी व्यवस्थालाई सहज बनाउनुपर्छ ।’


फलफूल र तरकारी मात्र


कपिलवस्तुका दुई नाका हुँदै भारतबाट उपभोग्य वस्तुको आयात भइरहेको छ । पाँच/सात दिनयता अन्य मालवस्तुभन्दा तरकारी र फलफूल आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न औद्योगिक कच्चा पदार्थ पनि आयात भइरहेका छन् ।


कृष्णनगर नाका हुँदै सोमबार २१ मिनी ट्रकमा फलफूल र तरकारी, चार ट्रक चामल र नौ ट्रक औद्योगिक कच्चा पदार्थ आयात भएको थियो । आइतबार २६ मिनी ट्रकमा फलफूल, चार ट्रक चामल र नौ ट्रक औद्योगिक कच्चा पदार्थ आयात भएको कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विष्णु पौडेलले बताए ।


दुई दिनमा ४९ लाख भन्सार राजस्व संकलन भएको उनले जानकारी दिए । कपिलवस्तुको अर्को सुठौली नाकाबाट पनि दैनिक सात/आठ लाख राजस्व संकलन भइरहेको छ । दुवै मुलुकमा लकडाउन हुँदा पनि तरकारी, खाद्यान्न र औद्योगिक कच्चा पदार्थ उचित परिमाणमा भित्रिनु खुसीको कुरा भएको सुठौली भन्सार कार्यालयका भन्सार अधिकृत तीर्थराज पासवानले बताए ।

प्रकाशित : चैत्र २७, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?