कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रोकिएको रोकियै भयो रेल

चैत तेस्रो साताबाट सञ्चालनमा ल्याउने भनिएको रेलवे सेवा कोभिड–१९ संक्रमण फैलिन थालेपछि अनिश्चित बनेको छ
विमल खतिवडा

काठमाडौँ — चैत तेस्रो साता भारतबाट ल्याउने भनिएका दुईवटा रेल सेट कोभिड–१९ संक्रमण फैलिन थालेका कारण रोकिएको छ । भारत र नेपाल दुवै देशमा लकडाउन भएसँगै रेल ल्याउने प्रक्रिया अनिश्चित बनेको हो । जयनगर–जनकपुर–कुर्था खण्डमा सञ्चालन हुने रेल सेट भारतमा बनेर ठिक्क छन् ।

रोकिएको रोकियै भयो रेल



रेल सेट बनेको पनि तीन साता हुन लाग्यो । तिनको सञ्चालन समय भने लम्बिएको लम्बियै छ ।

‘रेल बनेको ठाउँबाट हिँडिसकेको छ, मध्य प्रदेशको जवलपुरमा ल्याएर राखिएको जानकारी प्राप्त भएको छ,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘अहिले कुनै सम्पर्क छैन, कोरोनाले गर्दा समस्या भएको छ, जहाँ ल्याइएको छ, सुरक्षित राखिएको छ ।’ उनका अनुसार पछिल्लो पटक भएको सम्झौताअनुसार चैत तेस्रो साता (चैत १८) मा रेल ल्याएर सञ्चालन गर्ने भन्ने थियो । तर भनेअनुसार नभएको उनको भनाइ छ । ‘कोरोनाको समस्या नआएको भए वैशाख अन्तिमसम्म दुवै रेल सेट सञ्चालनमा आइसक्ने थिए,’ उनले भने ।


रेल आए पनि सञ्चालन गर्ने कर्मचारी छैनन् । २ सय २६ जना कर्मचारी माग गरिएको भए पनि विज्ञापन गर्दासमेत आवेदन दिने आएनन् । २६ जना प्राविधिक कर्मचारीका लागि आवेदन माग गर्दा एक जनाले पनि दिएनन् । त्यस्तै दुई सय कर्मचारीका लागि अहिलेसम्म विज्ञापन आह्वान हुन सकेको छैन ।


‘बोर्ड बैठक बसेको छैन, कोरोनाले गर्दा अवस्था जटिल बनेको छ,’ मिश्रले भने, ‘कर्मचारीका लागि विज्ञापन खुलाउने तयारी अन्तिम अवस्थामा थियो । तर लकडाउनले गर्दा रोकियो । यस्तो बेला विज्ञापन गरेर कामै हुन्न ।’ अबको पहिलो काम कर्मचारी व्यस्थापन गर्नु हो । जयनगर–जनकपुर–कुर्था खण्डको केही भागमा रेल लिक बिग्रिएको छ । लिकमा केही प्राविधिक काम गर्न बाँकी छ । ‘केही ठाउँमा लिक बिग्रियो र केही ठाउँमा चोरीसमेत भएकाले लकडाउनले गर्दा फिट गर्ने काम रोकिएको छ,’ उनले भने ।


कोरोनाका कारण भारतमा पनि रेल सेवा बन्द छ । ‘जुन समयमा रेल सञ्चालन गर्ने लक्ष्य थियो,’ मिश्रले भने, ‘अन्तिम अवस्थामा आएर यस्तो समस्या देखियो । अब अवस्था कस्तो हुन्छ भन्ने हो, जटिल बन्दै गयो भने रेल सञ्चालन प्रक्रियामा नराम्रोसँग असर पर्ने देखिन्छ ।’ कर्मचारी करारमा राखिनेछ । आठवटा स्टेसनका लागि कर्मचारी चाहिएको भए पनि अहिलेसम्म कुनै पनि स्टेसनमा कर्मचारी छैनन् । एउटा स्टेसनमा कम्तीमा १० देखि १५ जना कर्मचारी चाहिन्छ । पहिलो चरणमा जयनगरदेखि कुर्थासम्मको ३५ किमि दूरीमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजलपुरासम्म थप १७ किमि छ, जुन खण्डमा रेल लिकको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै अर्को खण्ड बिजलपुरादेखि बर्दिवाससम्मको १७ किमिमा पनि काम भइरहेको छ । सबै गरेर कुल रेल नेटवर्क जयनगरदेखि बर्दिबाससम्म ६९ किमि बन्नेछ ।


यता रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा विचाराधीन छ । रेल सेट खरिदका लागि ८४ करोड ६५ लाख छुट्याइएको हो, जसमध्ये २० प्रतिशत रकम बैंक खातामार्फत निर्माण कम्पनीलाई पठाइसकिएको छ । रेलको एक सेटमा पाँचवटा डिब्बा हुने विभागले जानकारी दिएको छ । तिनमा एक पटकमा करिब १३ सय यात्रु अटाउँछन् । दुई सेट रेल खरिदका लागि रेल विभाग र भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडबीच गत जेठमा सम्झौता भएको थियो ।

प्रकाशित : चैत्र २७, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?