१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नेरु हालसम्मकै कमजोर, डलरको भाउ १ सय २२.५० रुपैयाँ पुग्यो

काठमाडौँ — राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २२ रुपैयाँ ५० पैसा (बिक्रीदर) तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि यही चैत ११ मा यस्तो विनिमय दर १ सय २२ रुपैयाँ ३४ पैसा थियो । यसअघिको न्यून विनिमय दरको तुलनामा बिहीबार नेपाली मुद्राको भाउ कमजोर (अवमूल्यन) भएको हो । यसको अर्थ सोही दरले डलर बलियो (अधिमूल्यन) भएको भन्ने हो । बिहीबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय २१ रुपैयाँ ९० पैसा तोकेको छ ।

नेरु हालसम्मकै कमजोर, डलरको भाउ १ सय २२.५० रुपैयाँ पुग्यो

अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । यसअघि भारु बलियो हुँदा नेरु पनि बलियो भएको थियो ।


केही महिनायता कोरोना भाइरसका कारण विश्वबजार प्रभावित छ । यसकारण विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेको छ । अमेरिकी डलरको माग बढेपछि मूल्य पनि बढेको हो । करिब डेढ वर्षअघि (०७५ असोज २४ मा) अमेरिकी डलरको विनिमय दर १ सय २० रुपैयाँ (१ सय १९ रुपैयाँ ३३ पैसा) हाराहारीमा थियो । यसअघि ०७५ साउन २७ मा डलरको विनिमयदर १ सय १० रुपैयाँ ४३ पैसा थियो ।


पछिल्ला वर्षहरूमा भारतीय अर्थतन्त्रले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन । कहिले जम्मु–कश्मीर त कहिले हिन्दु र मुस्लिमबीचको विवादको प्रत्यक्ष प्रभाव भारतीय अर्थतन्त्रमा परेको छ । पछिल्ला महिनाहरूमा भारतमा विदेशी लगानी बढेको छैन । केही परिमाणमा पुराना लगानी पनि फिर्ता भएका छन् । यसकारण विश्वबजारमा भारतीय मुद्रा कमजोर भएको छ ।


अमेरिकी डलर बलियो बन्दै गए पनि केही दिनयता अमेरिकामा पनि कोरोना प्रभावित व्यक्ति बढ्दै गएका छन् । नियन्त्रणका लागि त्यहाँको सरकारले भरपुर प्रयास गरिरहेको छ । अपेक्षित रूपमा कोरोना नियन्त्रण नभए त्यसको असर अमेरिकी अर्थतन्त्रमा पर्ने र त्यसले डलर कमजोर हुने प्रक्षेपण पनि गर्न थालिएको छ । त्यस्तो अवस्थामा भारु केही बलियो बन्ने भएकाले नेरु पनि अधिमूल्यन हुनेछ ।


कोरोनाको कारण चीनको अर्थतन्त्र प्रत्यक्ष प्रभावित भएको छ । चीनबाहेकका राष्ट्रमा पनि कोरोना फैलिइरहेको छ । यसले विश्वबजारमा ठूलो प्रभाव पार्ने विश्लेषणहरू भएका छन् । ठूलो अर्थतन्त्रका कारण विश्वबजारमा मन्दी आउँदा भारतीय बजार छिट्टै प्रभावित हुन्छ । त्यसो भए भारु झनै कमजोर हुने देखिन्छ । त्यसको असरले नेरु पनि झनै अवमूल्यन हुनेछ ।

प्रकाशित : चैत्र २६, २०७६ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?