कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

वैशाख ३ सम्म सेयर बजार पनि बन्द

लकडाउन अवधि बढेसँगै नेप्सेको अवधि पनि लम्बिएको हो

काठमाडौँ — २०७७ वैशाख ३ गतेसम्म सेयर बजार पनि बन्द हुने भएको छ । सरकारले ‘लकडाउन’ अवधि बढाएपछि नेप्सेले पनि थप एक साता सेयर बजार बन्द गर्ने भएको हो । मंगलबार बसेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालक समिति बैठकले थप एक साताका लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए । गएको दुई साता पनि सेयर बजार बन्द थियो ।

वैशाख ३ सम्म सेयर बजार पनि बन्द

‘बुधबारदेखि थप ६ कारोबार दिनका लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘अर्थ मन्त्रालय र धितोपत्र बोर्डको आग्रहमा बजार बन्द गर्ने निर्णय गरिएको हो ।’ लकडाउनको अवधिमा घरबाट निस्किन नमिल्ने भएकाले सरकारको आग्रहलाई समर्थन गर्न कारोबार बन्द गरिएको उनको भनाइ छ । ‘लकडाउन नहटेसम्म सेयर कारोबार सम्भव देखिएन,’ उनले भने ।


कोरोना संक्रमणको असर भन्दै सेयर कारोबार बन्द छ । सुरुमा धितोपत्र बोर्डले कारोबार बन्द गरेको हो । धितोपत्र ऐनमा बोर्डले बढीमा ६ कारोबार दिनका लागि मात्र कारोबार रोक्न पाउने व्यवस्था छ । त्यसकै आधारमा पहिलो पटक चैत ११ देखि बोर्डले कारोबार रोक्ने निर्णय गरेको थियो । दोस्रो पटक सूचीकरण तथा कारोबार नियमावली–०७५ को नियम २१ बमोजिम नेप्सेले थप एक साता कारोबार बन्द गर्‍यो । त्यसको समयावधि चैत २५ मा सकिएको थियो । नियमावलीको नियम २१ मा मुलुकमा राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आए नेप्सेले कारोबार रोक्न सक्ने व्यवस्था छ । नेप्सेले सोही व्यवस्थाका आधारमा पुन: थप एक साता बजार बन्द गर्ने निर्णय गरेको हो ।

गत माघसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २ सय ११ छ । त्यसमध्ये १ सय ४८ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका छन् । ०७६ असारमा सूचीकृत कम्पनी २ सय १५ थिए ।


सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ८०.३ प्रतिशत छ । जलविद्युत् कम्पनीको हिस्सा ५.८, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.७, होटलको हिस्सा १.५, व्यापारिक संस्थाको हिस्सा ०.३ तथा अन्य समूहका कम्पनीको हिस्सा ८.५ प्रतिशत छ । ०७६ माघसम्म सूचीकृत संस्थाको सेयर ४ अर्ब ६६ करोड कित्ता रहेको नेप्सेले जनाएको छ ।

प्रकाशित : चैत्र २५, २०७६ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?