कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि विश्‍व बैंकको ३ अर्ब बढी सहयोग

रासस

काठमाडौँ — विश्व बैंकले कोभिड–१९ आपत्कालीन प्रतिकार्य स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि नेपाल सरकारलाई ३ अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । ऋण सहयोगसम्बन्धी समझदारीपत्रमा मंगलबार विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जेर्भोस र अर्थसचिव शिशिरकुमार ढुङ्गानाले हस्ताक्षर गरे ।  

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारका स्वास्थ्य सामग्री र उपकरण खरिद, सघन उपचार कक्ष र ‘आइसोलेसन वार्ड’स्थापना, देशका विभिन्न भागमा अवस्थित अस्पताल, प्रयोगशाला तथा स्वास्थ्य संस्थाको स्तरोन्नतिमा उक्त रकम खर्च गरिनेछ । परियोजना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यान्वयन गर्नेछ । आजैदेखि उक्त परियोजना लागू हुनेछ । तीन साताको अवधिमा परियोजनामा लगानी गर्नेसम्बन्धी सम्पूर्ण काम पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ ।


सचिव ढुङ्गानाले कोरोना भाइरसका कारण उत्पन्न अकल्पनीय परिस्थितिमा अन्तर्राष्ट्रिय विकास सङ्गठन (आइडीए)बाट बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराएकामा हार्दिक आभार व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेर भविष्यमा पनि बैंकले सहायतालाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।


यसैबीच, भिडियो कन्फ्रेन्सिङको माध्यमबाट आजै केही आर्थिक पत्रकारहरूसँग कुरा गर्दै देशीय प्रबन्धक हदादले कोभिडविरुद्ध नेपाल सरकारले समयमै चालेका सुरक्षात्मक कदमको सराहना गरे । नेपालका विकासका साझेदारसँगको समन्वयमा बैंकले कोभिड–१९ बाट नेपालको अर्थतन्त्रमा पर्ने प्रभावको अल्प, मध्य र दीर्घकालीन मूल्याङ्कन गर्ने जानकारी दिँदै उनले पर्यटन, विप्रेषण, श्रम, व्यापार एव रोजगारीका क्षेत्रलाई गतिशील तुल्याउन बैंकले थप सहयोग गर्ने बताए ।


आगामी शुक्रबार अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, एशियाली विकास बैंक, एशियाली पूर्वाधार विकास बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकका उपाध्यक्षले सामूहिकरुपमा स्थितिको विश्लेषण गरी भावी सहयोगको रुपरेखा तयार पार्ने जानकारी उनले दिए । उनले नेपालको आर्थिक विकासको संवाहक निजी क्षेत्र र साना तथा मझौला उद्योगलाई पनि बैंकले सघाउने बताए ।

प्रकाशित : चैत्र २५, २०७६ १८:११
प्रतिक्रिया
पठाउनुहोस्

नयाँ कामदार नथप्‍ने गरी आंशिक रुपमा अरुण तेस्रोको काम सुरु 

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको चिचिला र मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम आंशिक रुपमा लकडाउनकैबीच सुरु गरिएको छ । 


लकडाउनका कारण रोकिएका ठूला आयोजनालाई सरकारले काम गर्न अनुमति दिएकाले नयाँ कामदार नथप्ने प्रतिबद्धता पछि काम सुरु भएको हो । अरुण तेस्रो आयोजनामा सुरक्षा सतर्कता, नयाँ कामदार नथप्ने र स्टक रहेको निर्माण सामाग्री रहुञ्जेल आयोजनाको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले दुईसातादेखि काम प्रभावित भएको थियो । आयोजनाको काममा कुनै पनि कामदार नथप्ने र निर्माणस्थलमा भएका कामदारको स्वास्थ्य परीक्षण गरेर परिचालन गरेर काम अघि बढाउने उनले बताए । आयोजनामा कार्यरत अधिकांश मजदुर बाहिरी जिल्ला र भारत भएका कारण घर फर्किन सम्भव नभएकाले काम थालिएको अरुण तेस्रोका सीईओ अरुन धिमानले बताए ।

भारतीय निर्माण कम्पनी सतलजले ९ सय सय मेगावटको जलविद्यत् आयोजनाको निर्माणको काम गरिरहेको छ । सरकारले ठूला आयोजनाको काम गर्ने दिने बाटो खोलेपछि क्याम्पमा रहेका कामदारबाट काम सुरु गरिएको सतजल कम्पनीले जनाएको छ ।

अरुण तेस्रो आयोजना स्थलमा रहेको करिब १ हजार ५ सय कामदारले काम गर्न सुरु गरेका हुन् । यसअघि आयोजनामा ३ हजारभन्दा बढी कामदार थिए । आयोजनामा अधिकांश कामदार भारतीय छन् ।

कारोनाभाइरस (कोभिड–१९) संक्रमण त्रासले देशै ठप्प भएपछि श्रमिक र निर्माण सामग्री अभावका कारण अरुण तेस्रोको काम रोकिएको थियो । आयोजनासंग उपलब्ध निर्माण सामग्री अनुसारका काम सुरु गरिएको हो ।

आयोजना निर्माणमा परिचालन हुने कामदारको स्वास्थ्य सुरक्षालाई प्राथामिकता दिँदै काम थालिएको कम्पनीको कार्यालय तुम्लिङटारले जनाएको छ ।

प्रकाशित : चैत्र २५, २०७६ १८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×