१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कोरोना कोषमा जम्मा भयो करिब दुई अर्ब

सरकारले निर्देशिकासमेत बनाएर कोषको रकम प्रयोग व्यवस्थापन गरेको छ
नुमा थाम्सुहाङ

काठमाडौँ — सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सोमबारसम्म १ अर्ब ८३ करोड ७७ लाख ८० हजार ६ सय २० रुपैयाँ जम्मा भएको छ । कोषमा सरकारी निकाय, निजी व्यवसायी, विभिन्न संघसंस्था तथा व्यक्तिका तर्फबाट सहयोग गर्ने क्रम जारी छ ।

कोरोना कोषमा जम्मा भयो करिब दुई अर्ब

चैत ९ मा बसेको मन्त्रिपरिषद् बैठकले सरकारका तर्फबाट ५० करोड रुपैयाँ जम्मा गरेर कोष सुरु गरिएको थियो । यसका लागि सरकारले चैत १६ मा ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालन निर्देशिका–०७६’ समेत जारी गरेको छ । निर्देशिकाअनुसार कोषको रकम तोकेको क्षेत्रमा मात्र खर्च गर्न पाइन्छ ।


निर्देशिकाले कोष सञ्चालन गर्न ८ सदस्यीय समिति छ । जसमा समितिको अध्यक्ष राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ, स्वास्थ्य तथा जनसंख्या, गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य छन् । समितिमा महालेखा नियन्त्रकको कार्यालय र प्रधानमन्त्री कार्यालयका तर्फबाट एक–एक जना सदस्य सचिव रहने व्यवस्था छ ।


खर्च गर्न निर्देशिका तयार


निर्देशिकाले कोषको सञ्चालन महालेखा नियन्त्रक कार्यालयले गर्ने व्यवस्था गरेको छ । साथै समितिको निर्णयअनुसार कोषको रकम निकासा गर्न सकिन्छ । महालेखा नियन्त्रक र उपमहालेखा नियन्त्रकको संयुक्त दस्तखतबाट कोषको खाता सञ्चालन हुनेछ । यसको लेखा भने सरकारले अपनाएको प्रणालीअनुरूप राख्नुपर्नेछ ।

कोषको आम्दानी, निकास र खर्चको लेखापरीक्षण गराउने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयको हुनेछ । कोषको आयव्ययको अन्तिम लेखापरीक्षण महालेखापरीक्षकबाट नै हुने निर्देशिकामा उल्लेख छ ।


संक्रमित व्यक्तिको उपचार र उद्धार तथा व्यवस्थापन, भाइरस नियन्त्रण तथा रोकथामका लागि आवश्यक औषधि, उपकरण तथा औषधिजन्य सामग्री खरिदका लागि उक्त रकम खर्च गरिनेछ । ‘क्वारेन्टाइन निर्माण र सञ्चालन, आइसोलन कक्ष निर्माण, अस्पताल निर्माण वा स्तरोन्नतिका लागि पनि कोषको रकम खर्च गर्न पाइनेछ,’ निर्देशिकामा भनिएको छ, ‘अस्थायी अस्पताल निर्माण तथा सञ्चालनका लागि आवश्यक जनशक्ति परिचालन र स्वास्थ्य सामग्री व्यवस्थापनका लागि रकम खर्च गर्नुपर्नेछ ।’

भाइरस नियन्त्रणका लागि गरिएका कार्यबाट प्रभावितलाई राहत उपलब्ध गराउनुपर्ने भए निर्धारित मापदण्डअनुसार प्रदान गरिनुपर्नेछ । सरकारको निर्णयबमोजिम परिचालित जनशक्तिलाई प्रदान गरिने अतिरिक्त सुविधा तथा सामग्री व्यवस्थापन, भाइरससम्बन्धी सूचना तथा जानकारी सम्प्रेषण तथा प्रकाशनमा पनि यो रकम खर्च गर्न सकिनेछ ।


कोषबाट निकासा भएको रकमको उपयोग सम्बन्धमा समितिले अनुगमन र मूल्यांकन गर्नुपर्नेछ । भाइरस संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी कार्यमा प्रयोग गरिने औषधि, उपकरण, उपचार सामग्रीको आपूर्ति र संक्रमित व्यक्तिको व्यवस्थापनमा चाहिने पूर्वाधारको समेत जिम्मा समितिलाई छ ।

निर्देशिकाबमोजिम निकालिएको रकम गलत प्रयोग भएमा कानुनअनुसार कारबाही हुनेछ । भाइरस संक्रमण नियन्त्रण भएपछि समितिको सिफारिसबमोजिम सरकारले समिति विघटन गर्नेछ । विघटनपछि कोषको सम्पत्ति तथा दायित्व प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा सर्नेछ ।

प्रकाशित : चैत्र २५, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?