कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बैंकले दिन थाले ब्याज छुट

चैतमै साँवाब्याज तिर्नेलाई ब्याजमा १० प्रतिशत छुट

काठमाडौँ — चैतभित्र साँवाब्याज तिर्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज छुट दिन थालेका छन् । राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्दै बैंक तथा वित्तीय संस्थाले छुट दिन थालेका हुन् ।

बैंकले दिन थाले ब्याज छुट

कोभिड–१९ को असरबाट प्रभावित भएको भन्दै चैतमा भुक्तानी गर्नुपर्ने साँवाब्याज असारसम्म तिरे पनि हुने व्यवस्था गर्ने निर्णय सरकारले गरेको थियो । सोही आधारमा चैतसम्म साँवाब्याज भुक्तानी गर्ने ग्राहकलाई ब्याज रकमको १० प्रतिशत छुट दिन राष्ट्र बैंकले गत साता निर्देशन दिएको थियो ।


चैतभित्र साँवाब्याज भुक्तानी गर्ने ग्राहकलाई बैंकले ब्याज रकमको १० प्रतिशत छुट दिन थालेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । ‘ग्राहकले अन्य महिनामा जस्तै सबै किस्ता रकम भुक्तानी गर्नुहुन्छ,’ उनले भने, ‘त्यसपछि बैंकले ब्याज रकमको १० प्रतिशत रकम ग्राहकको खातामा फिर्ता गरिदिन्छन् ।’ ग्राहकले रकम भुक्तानी गर्ने बेलामै ब्याज रकमको ९० प्रतिशत मात्र तिर्न पाइने भए पनि प्रायः बैंकको कारोबार प्रणाली (सिस्टम)ले त्यो स्वीकार नगर्ने भएकाले सुरुमा सबै रकम लिने र पछि बैंकले ब्याजको १० प्रतिशत रकम फिर्ता गरिदिने उनले बताए । ‘चैत मसान्तसम्म तिरेको किस्ताको ब्याज फिर्ता ढिलोमा वैशाख पहिलो सातासम्म हुन सक्छ,’ उनले भने ।


ग्राहकलाई ब्याजको १० प्रतिशत रकम फिर्ता दिँदा बैंकहरूको आम्दानी घट्ने भए पनि अप्ठ्यारो परिस्थितिमा सरकारले गरेको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न बैंकहरू प्रतिबद्ध रहेको उनले बताए । ‘बैंकहरूले नाफा मात्र हेर्दैनन्, परेको बेला नाफा घटाएर भए पनि योगदान गर्छन्,’ उनले भने ।


चैतभित्र किस्ता तिर्ने ग्राहकलाई ब्याज छुट दिने निर्देशन पूर्ण रूपमा पालना भएको राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले जानकारी दिए । ‘ब्याज छुट दिए, नदिएको बारे राष्ट्र बैंकले सूक्ष्म रूपमा नियमन गरिरहेको छ,’ उनले भने, ‘पछि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकलाई बुझाउने विवरणमा पनि त्यो देखिन्छ ।’

बैंक तथा वित्तीय संस्थाले सबै ग्राहकलाई (ब्याज छुटबारे जानकारी पाए/नपाएका) उक्त सुविधा दिनुपर्ने उनले बताए । संक्रमणको समयमा पनि नियमित किस्ता तिर्ने क्षमता भएका ऋणीलाई प्रोत्साहन गर्न गरिएको यो व्यवस्थाले बैंकको ऋण असुलीमा सहयोग पुग्ने उनको भनाइ छ ।


कोरोना संक्रमणको अवस्था भन्दै सरकारको निर्णयबमोजिम राष्ट्र बैंकले चैतसम्म भुक्तानी गर्नुपर्ने किस्ताको म्याद आउँदो असारसम्म थपेको छ । यो व्यवस्थाअनुसार चैतमा तिर्नुपर्ने किस्ता असारसम्म तिर्दा पनि अतिरिक्त शुल्क लाग्दैन । तर जसले किस्ता तिर्न सक्छ, उसलाई पनि केही फाइदा होस् भनेर सरकारले १० प्रतिशत ब्याज छुटको निर्णय गरेको हो ।


यसरी चैतसम्म भुक्तानी हुनुपर्ने साँवाब्याज कति छ भन्ने यकिन नभए पनि चैत मसान्त मासिक/त्रैमासिक किस्ता भुक्तानीको समय भएकाले छुट दिने १० प्रतिशत रकम धेरै हुने बैंकरहरूको दाबी छ ।


कोभिड–१९ को महामारीको कारण उत्पन्न असहज परिस्थितिबाट प्रभावित पर्यटन, उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रका लागि राष्ट्र बैंकले विशेष प्याकेज घोषणा गरेको थियो । ‘०७६ चैतमा असुल गर्नुपर्ने मासिक, त्रैमासिक किस्ताको भुक्तानी ०७७ असारसम्म हुने व्यवस्था मिलाउनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । उक्त किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन नपाइने पनि राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

यस्तै कर्जा असुल नभएको हकमा बैंकले उक्त कर्जालाई खराब कर्जामा राख्नु नपर्ने सुविधा पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको छ । चैत मसान्तभित्र भुक्तानी अवधि तोकिएका सम्पूर्ण चालु प्रकृतिका अल्पकालीन कर्जाको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ ।


‘०७६ पुसभित्र ब्याज तथा साँवा नियमित भुक्तानी गरिरहेका पर्यटन तथा यातायात क्षेत्रका ऋणीहरूले अल्पकालीन कर्जाको माग गरेमा साँवा तथा ब्याज बक्यौता रहे पनि आवश्यकताअनुसार निश्चित सीमासम्म संक्षिप्त प्रक्रिया अपनाई ५ दिनभित्र कर्जा प्रवाह गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ । यस्तो सीमा स्वीकृत गर्दा ०.२५ प्रतिशतभन्दा बढी शुल्क लिन नपाइने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

प्रकाशित : चैत्र २२, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?