कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोरोनाले एसियाली अर्थतन्त्र चौपट

नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशत मात्रै
माल्दिभ्सको आर्थिक वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण

काठमाडौँ — अमेरिका र चीनबीचको व्यापार युद्धका कारण प्रभावित एसियाली अर्थतन्त्र यो वर्ष कोरोना भाइरस (कोभिड–१९) का कारण थप प्रभावित हुने विश्लेषण एसियाली विकास बैंक (एडीबी) ले गरेको छ ।

कोरोनाले एसियाली अर्थतन्त्र चौपट

कोभिड–१९ को प्रभाव कतिन्जेल रहन्छ भन्ने अनुमान नभए पनि अहिलेका आधारमा विश्लेषण गर्दा एसियाली अर्थतन्त्र सन् २०२० मा २.२ प्रतिशत मात्रै बढ्ने एडीबीको प्रक्षेपण छ । कोभिड–१९ प्रभाव चाँडै रोकिएर अवस्था सामान्य भए आगामी वर्ष सन् २०२१ मा एसियाली अर्थतन्त्रको वृद्धिदर ६.२ प्रतिशत हुने पनि एडीबीको विश्लेषण छ ।


एसियाली मुलुकमध्ये नव औद्योगिक मुलुकहरुको औसत आर्थिक वृद्धिदर पनि २.४ प्रतिशतमा सीमित हुने विश्लेषणमा जनाइएको छ । यस्ता मुलुकले अघिल्लो वर्ष औसतमा ५.७ प्रतिशत वृद्धिदर हासिल गरेका थिए । आगामी वर्ष भने यी अर्थतन्त्रको औसत वृद्धिदर ६.७ प्रतिशत हुने एडीबीले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२० प्रतिवेदनमा जनाइएको छ ।

दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर भने औसतमा ४.१ प्रतिशत रहने र आगामी वर्ष बढेर ६ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण छ । कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित हुने राष्ट्र माल्दिभ्स हुनेछ । सन् २०२० मा उसको आर्थिक बृद्धिदर ऋणात्मक अवस्थामा पुग्ने एडीबीको विश्लेषण छ ।


नेपालको आर्थिक वृद्धिदर भने ५.३ प्रतिशतमा झर्ने एडीबीले प्रक्षेपण गरेको छ । यो वृद्धिदर सरकारले गरेको अनुमानभन्दा ३.२ प्रतिशत बिन्दुले कम हो । सरकारले यो वर्ष ८.५ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । विश्वव्यापी रूपमा देखिएको कोभिड–१९ संक्रमणका कारण सरकारले गरेको लकडाउनले उद्योगधन्दा र व्यवसाय प्रभावित बनेको र वैदेशिक कामदारबाट आउने रेमिट्यान्ससमेत घट्ने भएकाले आर्थिक वृद्धिमा कमी आउने एडीबीको प्रक्षेपण छ ।

विशेषगरी धानसहित कृषिजन्य वस्तुको उत्पादनमा आउने कमीका कारण पनि आर्थिक वृद्धि प्रभावित हुने एडीबीको म्याक्रोइकोनोमिक अपडेटमा भनिएको छ । कोरोना भाइरस रोग महामारीका कारण आन्तरिक माग घट्ने, सिमेन्ट, आइरन, इँटाजस्ता मुख्य उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने जस्ता कारणले आर्थिक वृद्धिमा प्रभाव पार्ने पनि एडीबीको विश्लेषण छ । पछिल्ला वर्षमा भूकम्पपछिको पुनर्निर्माणले तीव्रता पाए पनि आगामी दिनमा यो क्रियाकलाप कम हुँदै जाने एडीबीको प्रतिवेदनमा जनाइएको छ ।


सन् २०२१ मा भने नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुने एडीबीको भनाइ छ । सन् २०२० मा मुद्रास्फीति ६ प्रतिशत बढ्ने एडीबीको अनुमान छ । यो अघिल्लो वर्ष रहेको ४.६ प्रतिशतभन्दा १.४ प्रतिशत बिन्दु बढी हो । कोभिड–१९ को प्रभाव चाँडै अन्त्य भए र मौसम सामान्य भए सन् २०२१ मा आर्थिक वृद्धिदर १.१ बिन्दुले बढ्ने एडीबीको आकलन छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने र प्रदेश सरकार तथा स्थानीय सरकारबाट हुने पुँजीगत खर्चमा हुने बृद्धिले आर्थिक वृद्धिमा योगदान दिन सक्ने एडीबीको अनुमान छ ।

एसियाली अन्य मुलुकसँगै चीनको पनि आर्थिक वृद्धिदर यो वर्ष घट्ने एडीबीको प्रक्षेपण छ । अमेरिकासँगको व्यापार विवादका कारण प्रभावित चिनियाँ अर्थतन्त्र कोरोना प्रभावका कारण यो वर्ष सीमित हुने प्रतिवेदनमा जनाइएको छ । सन् २०१८ र २०१९ मा क्रमशः ६.७ र ६.१ का दरले अर्थतन्त्रको आकार बढाएको चीन यो वर्ष २.३ प्रतिशतमा सीमित हुने र आगामी वर्ष पुनः ७.३ प्रतिशत बढ्ने एडीबीको आकलन छ ।


भारतको आर्थिक वृद्धिदर पनि ४ प्रतिशतमा सीमित हुने र आगामी वर्ष ६.२ प्रतिशत बढ्ने एडीबीको आकलन छ । गत वर्षको भारतको आर्थिक वृद्धिदर ५ प्रतिशत थियो भने सन् २०१८ मा उसले ६.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो । पर्यटन व्यवसायमा आश्रित विकासोन्मुख एसियाली मुलुकहरुमा भने औसत आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित हुनेछ ।

अघिल्लो वर्ष यस्ता मुलुकले औसतमा ५.४ प्रतिशते आर्थिक वृद्धिदर हासिल गरेका थिए । एसियाली बजारको मुद्रास्फीति दर पनि बढेर औसत २.९ प्रतिशतबाट ३.२ प्रतिशत हुने प्रतिवेदनमा अनुमान गरिएको छ । मुद्रास्फीतिका कारण एसियाली देशहरुमा खाद्यान्नको भाउ बढ्ने र आगामी वर्ष स्थिति सामान्य भए केही नियन्त्रणमा आउने एडीबीको अनुमान छ । विशेषगरी चीनमा बंगुरको मासु र भारतमा तरकारीको भाउ बढ्ने प्रतिवेदनमा जनाइएको छ । एसियाली अर्थतन्त्रको पछिल्लो १० वर्षमा औसत मुद्रास्फीति ३.३ प्रतिशतभन्दा कम रहँदै आएको छ ।


कोभिड–१९ को प्रभाव छोटो समय रहे पनि विश्व अर्थतन्त्रलाई २० खर्ब अमेरिकी डलरभन्दा बढी घाटा हुने र चीनलाई मात्रै साढे ६ खर्ब डलर घाटा हुने एडीबीको प्रक्षेपण छ । कोभिड प्रभाव लामो रहे विश्व अर्थतन्त्रमा यसको प्रभाव दोब्बर हुन सक्ने प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित : चैत्र २२, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?