कालिमाटीको तरकारी बजारमा शनिबारदेखि खुद्रा बजार बन्द 

पैदल यात्री एवं फुटकर उपभोक्तालाई बजार प्रवेशमा रोक
तरकारी बजारमा चारपांग्रे सवारी मात्रै प्रवेश गर्न दिइने
राजु चौधरी

काठमाडौँ — कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारदेखि खुद्रा बजार र किसान बजार बन्द गर्ने निर्णय गरेको छ । खुद्रामा ग्राहकको भीड बढेपछि लकडाउनको समयसम्म खुद्रा बिक्री बन्द गर्न लागिएको हो । 

कालिमाटीको तरकारी बजारमा शनिबारदेखि खुद्रा बजार बन्द 

यसअघि समितिले चैत १६ देखि थोक/होलसेल बिक्रीका लागि बिहानको २ देखि ७ बजेसम्म र खुद्रा बिक्रीका लागि साँझ ५ देखि ७ बजेसम्म समय निर्धारण गरिएको थियो ।

समय निर्धारण गर्दा भीड बढेपछि खुद्रा बिक्री बन्द गर्ने निर्णय भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । ‘सांसद, वडाध्यक्ष, सेना र प्रहरीका प्रतिनिधि, व्यापारिक संघसंस्थासहित शुक्रबार भएको छलफलमा खुद्रा बजार र किसान बजार बन्द निर्णय भयो,’ श्रेष्ठले भने, ‘कालिमाटी परिसरमा रहेको खुद्रा बजार बन्द हुने भएकाले पैदल यात्री एवं फुटकर उपभोक्तालाई बजार प्रवेशमा रोक लगाइएको छ ।’


समितिले थोक खरिद गरी कृषि उपज लिन आउने चारपांग्रे ढुवानी साधनलाई मात्रै प्रवेश दिइने जनाएको छ । मोटरसाइकल/साइकल प्रयोग गरी खरिद गर्न आउने व्यवसायी उपभोक्तालाई आआफ्नो क्षेत्रमा रहेका तरकारी/फलफूलजन्य पसलबाट किन्न पनि समितिको आग्रह छ । समितिले चैत १६ मा भारतबाट आयात हुने तरकारीको अर्डर नलिने निर्णय गरेको थियो । भारतीय गाडी नआए पनि सामान भने अझै आइरहेको छ । निर्णय कडाइका साथ कार्यान्वयन गर्न प्रहरी र तरकारी आयातकर्तासँग आग्रह गरिएको श्रेष्ठले बताए ।

‘भारतीय गाडी नआए पनि सामान आउन रोकिएन । मान्छे आउने क्रम पनि रोकिएन,’ उनले भने, ‘चैत १६ गतेको निर्णय कडा रूपमा कार्यान्वयन गर्न प्रहरी र आयातकर्तालाई आग्रह गरेका छौं ।’ कालिमाटी तरकारी बजारले उपत्यकाको करिब ६५ प्रतिशत माग धान्छ । बजारमा छिमेकी जिल्लासँगै तराईका विभिन्न जिल्लाबाट पनि तरकारी भित्रिन्छ । माग अपुग भएपछि भारतबाट पनि तरकारी आयात भइरहेको छ । कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो छ ।

‘हाम्रो मुख्य उद्देश्य जोखिम न्यूनीकरण गर्नु हो । केही दिन भारतबाट आयात नगर्दा केही फरक पर्दैन,’ श्रेष्ठले भने । कालिमाटी बजारभित्र थोक कारोबारमा संलग्न व्यवसायीले कृषि उपजकको कारोबार गर्दा जे जस्तो अवस्थामा प्याकेजिङ भएको छ, सोही अवस्थामा प्याकेज नखोली कारोबार गर्ने पनि समितिको निर्णय थियो ।

समितिका निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाइएको छ । सरकारले कोभिड–१९ को संक्रमण बढ्न नदिन चैत ११ देखि लकडाउन गरेको छ । यससँगै बजारमा तरकारीको मूल्य भने अकासिएको छ ।


तरकारी आयातमा अवरोध भने नरहेको समितिको भनाइ छ । तर खुद्रा बजारमा भने तरकारी अभाव छ । ‘कालिमाटीमा बोडी प्रतिकिलो १५ रुपैयाँमा बिक्री भइरहेको छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘तर बाहिर किलोको ७०/८० रुपैयाँसम्म लिइएको छ ।’

लकडाउनको फाइदा उठाउँदै केही व्यवसायीले चर्को मूल्य लिएको उनको भनाइ छ । खुद्रामा तरकारीको मूल्य अचाक्ली रहे पनि वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले अनुगमन गरेको छैन । विभागको अनुगमन ग्यास स्टोरमा मात्रै केन्द्रित छ ।

प्रकाशित : चैत्र २१, २०७६ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?