१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

लकडाउनको असर पोल्ट्री क्षेत्रमा, प्रतिदिन २२ करोड नोक्सान

सबैभन्दा बढी क्षति पोल्ट्रीमा देखियो : कृषि मन्त्रालय
राजु चौधरी

काठमाडौँ — कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि पोल्ट्री क्षेत्रले बढी क्षति बेहोर्नुपरेको छ ।

अन्डा, चल्ला, मासु र दाना क्षेत्रमा दैनिक करिब २२ करोड रुपैयाँ बराबरको नोक्सानी भइरहेको व्यवसायी बताउँछन् । सरकारले अत्यावश्यक वस्तुको ढुवानी र बिक्रीवितरणमा अवरोध नगर्ने जनाए पनि कार्यान्वयन नहुँदा समस्या भएको उनीहरूको दाबी छ ।


‘लकडाउनले पोल्ट्रीको चक्रप्रणाली नै बिग्रेको छ । दैनिक करिब २२ करोड नोक्सान भइरहेको छ,’ नेपाल ह्याचरी उद्योग संघका कोषाध्यक्ष बलराम सन्जेलले भने । उनका अनुसार दानाका लागि कच्चापदार्थ (मकै र भटमास)को आयात ठप्प छ । यसले कुखुरालाई खुवाउने दाना अभाव भएको छ । जसले गर्दा चल्ला पनि बिक्री भएको छैन । कुखुराको अन्डा पनि बिक्री नभएको उनले गुनासो गरे ।

‘लकडाउनकै कारण मकै र भटमास भारतबाट आएन । सामान लोड गर्न कामदार छैनन् । भन्सारमा पनि कर्मचारी छैनन्,’ कोषाध्यक्ष सन्जेलले भने, ‘अहिले पोल्ट्री क्षेत्रको प्रणालीमै असर पुगेको छ ।’ कुखुरा र अन्डा ढुवानीमा प्रहरी प्रशासनबाट पनि अवरोध भएको व्यवसायी बताउँछन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहलाई कुखुरा, अन्डालगायत अत्यावश्यक वस्तु ढुवानीमा अवरोध नगर्न पत्र पठाए पनि सहजीकरणको समस्या देखिएको व्यवसायीको गुनासो छ ।

‘सातामा २८ देखि ३० लाख चल्ला उत्पादन हुन्छ । दिनदिनै ४० लाख अन्डा खपत हुन्छ । ९० प्रतिशत किराना पसलबाट बिक्री हुन्छ । तर पसल नै खुलेका छैनन्,’ सन्जेलले भने, ‘तयारी कुखुरासमेत बजारमा पठाउन सकिएन । ढुवानी गरेर सवारी खाली फर्किंदा प्रहरीले रोक्यो । अहिले खाडल खनेर कुखुरा पुर्नुपरेको छ ।’


चल्ला (ब्रोइलर र लेयर्स)मा दैनिक ३ करोड ४५ लाख रुपैयाँ र ब्रोइलर (तयारी कुखुरा)मा १५ करोड रुपैयाँ नोक्सानी भइरहेको नेपाल पोल्ट्री महासंघले जानकारी दिएको छ । अन्डामा ३ करोड रुपैयाँ र अन्य विविध उत्पादनमा ५० लाख रुपैयाँ नोक्सानी भएको महासंघको भनाइ छ ।

दाना उद्योग संघका अध्यक्ष रविन पुरीको भनाइ पनि उस्तै छ । लकडाउनका कारण हप्तामा करिब ३० लाख चल्ला गाड्नुपरेको उनले बताए । ‘बजारमा दाना छैन । ढुवानी गर्ने कामदार छैनन्,’ उनले भने, ‘कृषि मन्त्रालयले नसमात्न निर्देशन दिए पनि ट्राफिकले गाडी रोक्छ । यस्तो अवस्थामा कुखुरा राख्न सकिएन ।’ ‘सबै होटल बन्द छन् । मासु पसल सञ्चालन गर्न ग्यास पनि पाइएन,’ उनले भने, ‘दाना नपाएर कुखुरा मरेका छन् । किसानले तयारी कुखुरा पनि खाल्डोमा पुर्नुपरेको छ ।’


कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले पनि पोल्टी क्षेत्रमा बढी समस्या देखिएको बताए । ‘मासु खपत धेरै घटेको छ । ढुवानीमा समस्या छँदै छ,’ उनले भने । भारतबाट पनि पर्याप्त कच्चापदार्थ आयात हुन नसकेको उनले स्विकारे । ‘लकडाउनका कारण दानाका लागि चाहिने कच्चापदार्थ पर्याप्त आउन सकेन । आयात सहज गराउने विषयमा मन्त्रालयले प्रयास गरिरहेको छ,’ उनले भने ।


व्यवसायीका अनुसार कतिपय कच्चापदार्थ सीमामा रोकिएको छ । नेपालमा मकै उत्पादन भए पनि करिब ३ महिनालाई मात्रै पुग्छ । भटमास आयातमै निर्भर हुनुपर्ने बाध्यता छ । ‘अधिकांश भारतबाट आउँछ । तर आयात गर्ने अवस्था नै भएन,’ अध्यक्ष पुरीले भने ।



जिउँदो कुखुराको मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँ

मासुको माग घटेपछि मूल्य जिउँदो कुखुराको मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँमा झरेको छ । व्यवसायीका अनुसार मासुको बिक्री ७० प्रतिशत घटेको छ । माग नभएपछि व्यवसायीले मूल्य घटाएका हुन् । ‘तयारी मासुको मूल्य भने २ सय ६० देखि ७० रुपैयाँ छ,’ अध्यक्ष पुरीले भने ।

तीन महिनाअघि कुखुरा मासुको खुद्रा मूल्य ४ सय २० रुपैयाँसम्म पुगेको थियो । मंसिर अन्तिम साता कुखुरा व्यवसायीले उत्पादन बढी भएको भन्दै कुखुराका चल्ला नष्ट गरेका थिए । त्यसपछि उत्पादन कम भएको र माग धान्न नसकेको भन्दै मासुको मूल्य एकाएक बढाइएको थियो । अहिले कोरोनाको क्रास र लकडाउनका कारण मासु खपत घटेको छ ।

लकडाउनका कारण बजार ध्वस्त भएको चम्पादेवी पोल्ट्री फार्मका सञ्चालक विष्णु खड्काले बताए ।


प्रकाशित : चैत्र २०, २०७६ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?