बिमा शुल्क तिर्ने म्याद वैशाखसम्म

बिमा कम्पनीलाई समितिले दियो कार्यान्वयन निर्देशन 

काठमाडौँ — जीवन बिमाका ग्राहक (बिमित)ले बिमा शुल्क तिर्ने समयावधि ०७७ वैशाखसम्म पाएका छन् । सरकारले कोभिड–१९ का प्रभावितलाई छूट दिने क्रममा उक्त निर्णय पनि गरेको थियो ।

सोही निर्णयका आधारमा बिहीबार बिमा समितिले नीतिगत व्यवस्था गरी कार्यान्वयनका लागि कम्पनीहरूलाई निर्देशन दिएको छ ।


‘जीवन बिमासम्बन्धी प्रिमियम संकलन गर्ने समयावधि वैशाख मसान्तसम्म र उक्त अवधिको ब्याज नलाग्ने निर्णय गरिएको छ,’ बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने । यस्तै, बिमा अभिकर्ता र सर्भेयरले इजाजतपत्र (लाइसेन्स) नवीकरणका लागि ०७७ वैशाखसम्म म्याद पाएका छन् । उक्त अवधिमा लाइसेन्स नवीकरणका लागि थप शुल्क पनि तिर्न नपर्ने व्यवस्था समितिले गरेको छ ।

बिमा कम्पनीहरूले विद्युतीय माध्यमबाट पनि बिमालेख नवीकरण गर्ने व्यवस्था मिलाउनुपर्ने निर्देशन पनि समितिले दिएको छ । कोरोना भाइरसका कारण सिर्जित असामान्य परिस्थितिमा अवधि समाप्त भएको बिमालेखको हकमा सम्बन्धित बिमितको लिखित अनुरोधमा विद्युतीय माध्यमबाट पनि बिमालेख नवीकरण गर्न समितिले निर्देशन दिएको हो । यो व्यवस्था नयाँ नभएपनि त्यसलाई थप प्रभावकारी बनाउन निर्देशन दिइएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

निर्जीवन बिमाको दाबी भुक्तानी सम्भव भएसम्म चाँडो गर्न पनि समितिले बिमा कम्पनीलाई निर्देशन दिएको छ । ‘निर्जीवन बिमकले तत्काल सिर्जना हुने दाबी भुक्तानीका लागि विद्याुतीय माध्यमबाट समेत निवेदन प्राप्त भए अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने,’ समितिको निर्देशनमा भनिएको छ । गत साता सरकारले गरेको निर्णयको आधारमा समितिले यी सबै निर्देशन जारी गरेको हो ।


यसैगरी, वैदेशिक रोजगारीमा जाने नेपालीलाई अनलाइन प्रणालीबाट पनि सुविधा दिन समितिले कम्पनीहरूलाई निर्देशन दिएको छ । ‘वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसी जारी गर्दा लाग्ने बिमा शुल्कमा रोजगारीमा जान चाहने व्यक्तिबाट नगद, बैंक चेकका अतिरिक्त अनलाइन प्रणालीबाट समेत भुक्तानी व्यवस्था गर्नुहुन,’ समितिले भनेको छ ।


प्रकाशित : चैत्र २०, २०७६ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?