१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सरसफाइजन्य सामग्री उत्पादन गर्ने युनिलिभर बन्द

सुवास विडारी

मकवानपुर — सरसफाइजन्य सामग्री उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड उद्योग १० दिनदेखि बन्द रहेको छ । 

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै हेटौंडा–३ स्थित बसामाडीमा रहेको सरसफाइजन्य सामग्री उत्पादन गर्ने उद्योग बन्द भएको हो । सरकारले सरसफाइजन्य सामग्रीहरुलाई अत्यावश्यक सूचीमा राखेको भएपनि मजदुर र उद्योग प्रशासनबीचको विवादका कारण उद्योग बन्द भएको हो । उद्योगले साबुन, डिटरर्जेन्ट पाउडर (सरफ), स्याम्पु र मञ्जन उत्पादन गर्छ ।


सरकारले घरमै बस्नु भनेको कारण मजदुरहरु उद्योगमा कामका लागि नजाँदा उद्योग बन्द भएको हो । ‘मजदुर र कर्मचारीको पनि सेफ्टीको कुरा आउँछ । हामी विश्वस्त हुन सकेनौं । जसले गर्दा काममा गएनौं । राज्यले गरेको घोषणा अनुसार हामी लकडाउनको अवधिमा घरमै बसिरहेका छौं,’ अखिल नेपाल औद्यागिक मजदुर संघका अध्यक्ष जयराम धितालले भने,‘अहिलेको समयमा साबुन र सरफको माग धेरै भएको थाहा भएपनि आफ्नो स्वास्थ्यको विषयमा पनि गम्भीर हुनुपरेको कारण मजदुरहरु काममा नगएका हुन् । ’


संघीय सरकारको स्वास्थ्य मन्त्रालय, उद्योग मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयबाट उद्योग सञ्चालन गर्न व्यवस्थापन पक्षलाई पटक/पटक आग्रह भएपनि उद्योगले आफ्नो उत्पादन सुरु गर्न सकेको छैन । उद्योग प्रशासनका अनुसार हप्तामा एकपटक मात्र काम गर्ने गरी दैनिक विहान नौ बजेटबाट दिउँसो पाँचबजेसम्म उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेपनि मजुदरहरुले वेवास्ता गरेका कारण उद्योग सञ्चालन गर्न नसकिएको हो ।


एक पटकमा १८ जनामात्र मजुदुरले उद्योगमा काम गर्ने, सरकारले तोकेअनुसारको दुरी कायम गर्ने, स्वास्थ्यजन्य सम्पूर्ण सामग्री उपलब्ध गराउने र घरबाटै आउजाउ गर्ने गरी व्यवस्था मिलाउनेभन्दा पनि मजदुरहरु काममा नआएको उद्योग प्रशासनले जनाएको छ ।


उद्योगमा मजदुर र कर्मचारी गरी करिब दुई सयजना रहेका छन् । उद्योगले करिब १५ हजार मेट्रिक टन मञ्जन, १० हजार मेट्रिकटन सरफ,६ हजार मेट्रिकटन साबुन, ५ हजार मेट्रिकटन स्याम्पु उत्पादन गर्छ । उद्योगले गतवर्ष करिब ६ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

प्रकाशित : चैत्र २०, २०७६ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?