३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

माछापालकको गुनासो- बिक्री घट्यो, पाल्नलाई छैन चारो

राजकुमार कार्की

सिन्धुली — मुलुकभर लकडाउनका कारण माछा बिक्री नहुँदा माछापालक किसान मारमा परेका छन् । माछालाई चारो अभाव भएको र बिक्री पनि ठप्प रहेको उनीहरुले गुनासो गरेका हुन् । 

माछापालकको गुनासो- बिक्री घट्यो, पाल्नलाई छैन चारो

किसानका अनुसार गत साउनमा पोखरीमा हालेका भुरा माछा निकाल्ने समय घर्किन थालेको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका—३ मा दुईवटा पोखरीमा माछापालन गर्दै आएका सुदीप कार्कीले माछा बिक्री गर्ने समयमा लकडाउनले मुलुक ठप्प हुँदा समस्या परेको बताए ।


‘लकडाउन होला र मुलुक ठप्प होला भन्ने लागेन, अहिले निकाल्दा बिक्री छैन,’ कार्कीले भने, ‘केही समय पोखरीमै राखौं न त भन्दा चारा छैन ।’ उनले गत साउनमा पोखरीमा ६ हजार ८ सय भुरा हालेका थिए । अलिअलि स्थानीयले किने पनि पोखरीका आधा माछा त्यतिकै रहेको उनले बताए ।


बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा खुलेका लाइन होटलहरुमा माछा आपूर्ति गर्ने किसानको लक्ष्य थियो । ती सबै होटल यतिखेर बन्द छन् । ‘राजधानीसम्म ग्वाल्टारको माछा लैजाने योजना बनाएका थियौं,’ कार्कीले भने, ‘चिसो पानी लगाएका छौं, अब कतिन्जेल अडिन्छन्, हेरौं ।’


समयमा माछा निकाल्न नपाउँदा पोखरीभित्रै मर्ने डर समेत हुने उनले सुनाए । ‘राजमार्गमा हजारभन्दा बढी होटल छन्, ती खुलेको भए एक सातामै माछा सकिन्थ्यो,’ कार्कीले भने ।

१७ लाख रुपैयाँ लगानी गरेर निरन्तर कृषक समूह गठन गरी उनीहरुले माछापालन सुरु गरेका थिए । गोलन्जोर गाउँपालिकाको समेत माछा पालक किसानलाई सहयोग रहेको छ ।


प्रतिकिलो पाँच सयका दरले बिक्री हुनुपर्ने माछा पोखरीमै हुँदा १० लाख घाटामा जाने सम्भावना रहेको निरन्तर कृषक समूहका किसानहरुको भनाइ छ । युवा पलायन रोक्न गाउँमा नै उत्पादनमूलक काममा लगानी गरेको तर अहिले कोरोनाले समस्या निम्त्याएको गाउँपालिका अध्यक्ष पुष्प कार्कीको भनाइ छ । माछापालनका लागि सुनकोशी, मरिण, हरिहरपुरगढी, गाउँपालिका र दुधौली र कमलामाई नगरपालिकामा प्रदेश सरकारको १० करोडभन्दा बढी लगानी छ ।

प्रकाशित : चैत्र २०, २०७६ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?