२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

अब्बल चियापत्ती टिप्न पाइएन

किसान, मजदुर र उद्योगीलाई मार
विप्लव भट्टराई

इलाम — चिया खेती गरिएका अधिकांश ठाउँमा चियाका मुना टिप्न लायक भइसकेका छन् । पहिले यति बेला चिया कारखाना खुलिसकेका हुन्थे, मजदुरहरू धमाधम चियापत्ती टिपिरहेका हुन्थे । चिया किन्न पश्चिमा र भारतीय व्यापारीहरू पहाडका बगान चहार्दै हुन्थे । उनीहरूले आफूले वर्षभरि किन्ने चिया यही बेला अर्डर गर्थे ।

अब्बल चियापत्ती टिप्न पाइएन

तर अहिले देशभरका डेढ सय जति चिया कारखाना बन्द छन्, चियापत्ती टिपाइ ठप्प छ ।


चियाको हरेक वर्षको पहिलो मुनालाई अब्बल गुणस्तरको मानिन्छ । यसबाट तयार चिया पश्चिमी देशका बजारमा जान्छ । तर कोभिड–१९ को डरले अहिले यस्तो अब्बल चियापत्ती खेर जाला कि भन्ने चिन्ता छ ।


औलका अर्थोडक्स चिया बगानमा यति बेला एक पटक चियापत्ती टिपिसकिन्थ्यो । अधिकतर कारखानाले चिया प्रशोधन सुरु गर्थे । तर बिहीबारसम्म इलामका अधिकतर कारखाना चलेका छैनन् । ‘यो अवस्था लम्बियो भने चियामा निर्भर अन्तु, कन्याम लगायतका ठाउँका किसानलाई ठूलो समस्या हुन्छ,’ अन्तुका कमल घिमिरेले भने ।


इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, रोङ लगायतका ठाउँमा व्यावसायिक रूपमा चिया खेती गर्ने किसान धेरै छन् । ‘अरू खेती गर्दा उत्पादन गर्ने बित्तिकै बेचिहाल्नु पर्दैन तर चियापत्ती टिप्ने बित्तिकै बेच्नुपर्छ,’ साँखेजुङका गायत्री बस्नेतले भने, ‘सुरक्षाका सबै उपाय अपनाएर चियापत्ती टिप्ने र कारखानामा प्रशोधन गर्ने व्यवस्था तत्काल मिलाउनुपर्छ ।’


मुना टिप्न नपाई हुर्किए चियाको बुटालाई पनि लामो समयसम्म असर पर्छ । चियापत्ती नटिप्दा पछि पर्याप्त मुना पलाउँदैन ।


इलाममा मात्र २० हजार किसान अर्थोडक्स चिया खेतीमा छन् । झापा, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, ललितपुर, संखुवासभा, उदयपुरलगायत जिल्लामा पनि चियाखेती विस्तार हुँदै गएको छ ।


चियापत्ती टिप्न नपाएपछि किसान र उद्योगीको ठूलो लगानी जोखिममा पर्दै गएको छ । दूध, सागसब्जी लगायतलाई प्रशासनले ओसारपसार र बिक्री गर्न छुट दिएको छ । ‘वैदेशिक मुद्रा आर्जनमा चियाको राम्रो योगदान छ । चिया किसान, श्रमिक र उद्योगीको जिविकोपार्जनसँग जोडिएको छ । तर अहिले चिया खेती थला पारेको छ,’ बस्नेतले भने, ‘यो अवस्थामा राज्य र सरोकारवाला निकायले हेलचेक्र्याइँ गर्न हुँदैन ।’ बस्नेतले चिया उद्योगसमेत सञ्चालन गरेका छन् ।

ठूला कारखानामा मात्र चियापत्ती बिक्री गर्दै आएका किसानले केही वर्षयता आफैं कारखाना चलाउन थालेका छन् । यसका लागि उनीहरूले वित्तीय संस्थाबाट कर्जा लिएका छन् । उनीहरूको बैंकलाई तिर्नुपर्ने सावाँको किस्ता र ब्याज बुझाउने एक मात्र माध्यम चिया बिक्रीबाट आएको आम्दानी हो । उनीहरू कात्तिकदेखि चियाको मुना पलाउने मिति कुरेर बसेका थिए । यसपालि हिउँदमा धेरै पानी परेकाले चियाका मुना बेलैमा पलाइसकेका थिए ।

केन्द्रीय चिया सहकारी संघमा साढे आठ हजार किसान आबद्ध छन् । इलाममा १३, झापामा पाँच, पाँचथरमा तीन, धनकुटा, तेह्रथुम, संखुवासभामा दुई–दुई र उदयपुरमा एउटा चिया प्रशोधन कारखाना सहकारीका रूपमा चलेका छन् । यीबाहेक व्यक्तिगत लगानीका साना–ठूला कारखाना छन् ।


चिया सहकारी संघका सचिव रविन राई भन्छन्, ‘त्यसै पनि अनिश्चित बजारका कारण चिया क्षेत्रमा अन्योल छ । त्यसमाथि अहिलेको अवस्थाले सबैलाई के गर्ने के नगर्ने भन्ने चिन्ता थपिदिएको छ ।’


इलाम सदरमुकाममा रहेको मुलुककै जेठो चिया कारखाना । लकडाउनका कारण जिल्लाका सबै चिया कारखाना र बगान बन्द छन् । फाइल तस्बिर : विप्लव


नेपाल चिया विकास निगमअन्तर्गत इलाम र झापामा सात वटा ठूला चिया बगान छन् । ती बगान पनि यति बेला बन्द छन् ।


चियापत्ती टिप्ने काम नहुँदा किसान र उद्योगी मात्र होइन, मजदुरलाई पनि असर परेको छ । नेपाल चिया विकास निगमसहित इलामका निजी बगान र कारखानामा पाँच सय जति नियमित श्रमिक रहेको कन्यामका चिया श्रमिक अगुवा उमेश रेग्मीले बताए । ‘आंशिक समय काम गर्ने श्रमिक पनि धेरै छन्,’ उनले भने ।


अरू बेला पनि मजदुरले आफ्नो सेवासुविधाका लागि उद्योगीसँग झगडा गर्नुपथ्र्याे । अहिले कोभिड–१९ को बहानामा आफ्नो रोजीरोटी गुम्ने हो कि भन्ने चिन्ता उनीहरूलाई छ । बगान र कारखाना नखुलेकाले अधिकतर मजदुर अहिले घरमै बसेका छन् ।

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा वार्षिक ५५ लाख किलो तयारी अर्थोडक्स चिया उत्पादन हुन्छ । यसभित्र ग्रिन टी, ब्ल्याक टी, ह्वाइट टी, ओलाङ टी लगायतका दर्जनभन्दा बढी प्रकारका चिया पर्छन् । यहाँ उत्पादित अर्थोडक्स चियामध्ये १० प्रतिशत नेपालमा, ८० प्रतिशत भारतमा र बाँकी १० प्रतिशत पश्चिमी मुलुकमा खपत हुने गर्छ ।


यसैबीच, प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चैत १९ गते गरेको निर्णयले भने चिया क्षेत्रलाई राहत दिएको छ । त्यसमा अरू कुराका साथै चियापत्ती टिप्ने, ढुवानी र प्रशोधन गर्ने र कारखाना चलाउने मापदण्ड बनाउन गाउँ/पालिकालाई निर्देशन दिइएको छ । इलामकै सूर्याेदय नगरपालिकाले चिया टिप्दा र संकलन गर्दा अपनाउनुपर्ने नियम तयार गरेको छ ।


उद्योग आफैंले पनि विदेश गएर फर्केको निश्चित दिन नपुगेका मानिसलाई चिया टिप्न नलगाउने जस्ता नियम बनाउन लागेको चिया उद्यमी कमल मैनालीले बताए ।

प्रकाशित : चैत्र २०, २०७६ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?