३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

लकडाउन कहर : खेतमै कुहिन थाल्यो तरकारी  

छिटफुट बिक्री भएको तरकारीमा पनि किसानले मूल्य पाएनन्
देवनारायण साह

मोरङ — सरकारले लकडाउन गरेपछि जिल्लाका किसानले लगाएको तरकारी बाली खेतमै कुहिन थालेको छ । ऋण लिएर खेती गरिरहेका किसानले आफूले उब्जाएको तरकारी बजारसम्म पुर्‍याउन पाएका छैनन्, जसले खेतमै तरकारी कुहिए पनि उनीहरू टुलुटुलु हेर्न बाध्य छन् । 

लकडाउन कहर : खेतमै कुहिन थाल्यो तरकारी  

गोलभेंडा, भन्टा, लौका, बन्दागोभी, करेला, बोडी, घिरौला, भिन्डी, खुर्सानी फल्ने मुख्य सिजन हो यो । तर बजार लैजान नपाउँदा खेतमै कुहिन थालेका छन् ।

कटहरी गाउँपालिका–४ नयाँबजारका कोपिन्द्र सिंहले ४ बिघा जग्गामा बैंकबाट ऋण लिएर तरकारी बाली लगाएका छन् । उनले पनि बन्दागोभी, घिरौंला, लौकालगायत तरकारी उब्जाएका छन् । ‘तर प्रहरीले नजिकैको बजार विराटनगरसम्म तरकारी पुर्‍याउन पनि दिएको छैन,’ उनले गुनासो गरे ।


सामान्य अवस्थामा उनीहरूले विराटनगरको गुदरी बजारस्थित गल्लामाा तरकारी पुर्‍याउने गरेका थिए । प्रहरीले गाडीको पास लिन विराटनगर जान पनि नदिएको उनी बताउँछन् ।

तर केही व्यापारीले लकडाउनको फाइदा उठाउँदै किसानबाट सस्तोमा तरकारी लैजाने गरेको गुनासो पनि बढेको छ । ‘व्यापारीहरू आएर निकै मोलतोल गर्ने गरेका छन्,’ नयाँबजारका किसान महवीर सिंहले भने, ‘हामीले खेतमै कुहिनुभन्दा केही भए पनि आम्दानी होस् भनेर सस्तो मूल्यमै तरकारी बेचेका छौं ।’ तरकारी बिक्री गरेर आउने मूल्य उत्पादन लागतसमेत नउठ्ने रहेको उनको भनाइ छ ।


व्यवसायीलाई प्रतिकिलो बन्दागोभी ४ रुपैयाँ, भन्टा ५, टमाटर १० देखि १५ रुपैयाँसम्ममा बेच्नुपरेको उनले गुनासो गरे ।


जहदा गाउँपालिकाका किसानले लगाएको तरकारी पनि खेतमै कुहिन थालेको छ । उनीहरूले पनि खेतमा उब्जाएको तरकारी बाली बजारसम्म पुर्‍याउन सकेका छैनन् । यसले आफूहरूले गरेको लगानी पनि नउठ्ने किसान बताउँछन् ।


यता किसानको बारीमा तरकारी कुहिने अवस्था आए पनि विराटनगरमा भने तरकारी नै नपाउने र पाए पनि चर्को मूल्यमा किन्नुपर्ने बाध्यतामा उपभोक्ता छन् । ‘बजारमा ताजा तरकारी पाउन छाड्यो,’ विराटनगर–८ की टीका भट्टराईले भनिन्, ‘पाइहाले पनि छोइनसक्नु छ ।’


अहिले विराटनगरमा गोलभेंडा प्रतिकिलो ६०, काउली र बन्दागोभी ६० देखि ७०, भन्टा ६० रुपैयाँसम्ममा पाइन्छ । कागती २५ रुपैयाँ दाना पुगिसकेको छ । रायोको साग ३० रुपैयाँ मुठो, सिमी ८० रुपैयाँ, काँक्रो ८० रुपैयाँ र फर्सी ८० रुपैयाँ किलोमा पाइन्छ ।

प्रकाशित : चैत्र १९, २०७६ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?