कृषि मन्त्रालयले स्थानीय तहलाई भन्यो– ‘किसानले उत्पादन गरेको वस्तु बिक्री नभए प्रशोधनमा सघाउनू’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

कृषि मन्त्रालयले स्थानीय तहलाई भन्यो– ‘किसानले उत्पादन गरेको वस्तु बिक्री नभए प्रशोधनमा सघाउनू’

कान्तिपुर संवाददाता

काठमाडौँ — कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानले उत्पादन गरेका वस्तु बिक्री नभए प्राथमिक स्तरको प्रशोधन कार्यमा सघाउन स्थानीय तहलाई आग्रह गरेको छ ।

कृषिजन्य वस्तुहरूको उत्पादन र आपूर्तिलाई सहज बनाउन सबै स्थानीय तहलाई आग्रह गरेको हो ।

सहजीकरण गर्न सातबुँदे अनुरोध गरिएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । कोरोना संक्रमण हुन नदिन लकडाउनका कारण कृषि उपजको ढुवानी र बिक्रीवितरणमा समस्या भइरहेको छ । त्यसैले अहिले देखिएको समस्यालाई सहजीकरण गरिदिन सबै स्थानीय तहलाई अनुरोध गरिएको उनले बताए ।


‘उत्पादित वस्तुहरूको बिक्रीवितरण नभए स्थानीयस्तरमा नै वैकल्पिक वस्तुहरू उत्पादन वा प्राथमिकस्तरको प्रशोधन गर्ने कार्यमा सघाउनुहुन अनुरोध छ,’ मन्त्रालयले स्थानीय तहलाई लेखेको पत्रमा भनिएको छ, ‘स्थानीय स्तरमा उत्पादन भएका कृषि तथा पशुपन्छीजन्य उपजहरूको बिक्रीवितणमा कृषकहरूलाई सहयोग गर्नू ।’


मन्त्रालयले रासायनिक तथा प्राङ्गारिक मल, बीउबिजन, जीवनाशक विषादी, पशुपन्छीका औषधि, दाना, आहारा, चल्ला, अन्डा र माछामासु बेच्ने पसलका सेवा सञ्चालन गराउन पनि अनुरोध गरेको छ । यी वस्तुमा अवरोध भए स्थानीय प्रशासनसँग समन्वय गरी सहयोग गर्ने र ढुवानी व्यवस्थालाई सहजीकरण गर्न भनिएको छ ।


खाद्यवस्तु, कुखुरा, पराल, भुसा, साइलेज, ढुटो, गोबर मललगायतका कृषिजन्य वस्तुको ढुवानीका लागि स्थानीय प्रशासनसग समन्वय गरी सहजीकरण गर्नु, कृषि तथा पशुपन्छीको प्राविधीक सेवा उपयुक्त माध्यमबाट सुचारु गर्न पनि आग्रह गरेको छ । हाल चैते धान, मकै र गहु बाली रोप्ने र कटानी गर्ने कार्य सूरु भएको छ । त्यसका लागि प्रयोग हुने टिलर, ट्रयाक्टर र हार्भेष्टर लगायतका मेशिनहरूको प्रयोग र इन्धनको उपलब्धताका लागि स्थानीय प्रशासनसँग समन्वय गरी सहजीकरण गर्न पनि आग्रह गरेको छ ।


किसानले भोग्नुपरेका समस्याबारे अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । त्यसका लागि स्थानीय तहलाई सम्भावित क्षतिको यथार्थ विवरण मन्त्रालयमा उपलब्ध गराउन पनि भनिएको छ । ‘कुखुरा, च्याउ, दूध, केरा, मह, ताजा तरकारीलगायत कृषि तथा पशुपन्छीजन्य उत्पादन व्यावसायिक रूपमा गरिरहेका कृषकहरूले भोग्नुपरेको समस्याका बारेमा अध्ययन गरिरहेका छौं,’ पत्रमा भनिएको छ, ‘त्यसका लागि स्थानीय तहहरूले उद्यमहरूको अभिलेख राखी सम्भावित क्षतिको यर्थाथ विवरण मन्त्रालयमा उपलब्ध गराउन अनुरोध छ ।’


प्रकाशित : चैत्र १८, २०७६ २१:११
प्रतिक्रिया
पठाउनुहोस्

श्रमिकलाई खाद्यान्न सहयोग 

माधव अर्याल

पाल्पा — ‘लकडाउन’का कारण दैनिक गुजारा धान्न मुश्किल भएका श्रमिकलाई खाद्यान्न उपलब्ध गराइएको छ । जिल्लाको माथागढी गाउँपालिका ३, कसेनी सराई क्षेत्रका विपन्न, दैनिक ज्यालादारी मजदुरी गर्ने ३० श्रमिक परिवारलाई राहत प्रदान गरिएको हो ।

अन्य स्थानीय तहले भने अझै राहतका लागि तथ्यांक संकलन गर्न सकेका छैनन् ।
‘लकडाउन’ बाट प्रभावित श्रमजीवी परिवारलाई खाद्यान्न उपलब्ध गराई सहयोग गरिएको वडाध्यक्ष दीपक थापाले बताए ।

उनले कसेनीमा झण्डै एक सय १४ परिवार विपन्न, ज्याला मजदुरी गर्ने परिवार रहेपनि पहिलो चरणमा ३० परिवारलाई सहयोग गरिएको जानकारी दिए । बाँकी मजदुर, श्रमिकलाई दोस्रो चरणमा खाद्यान्न उपलब्ध गराइने सराई युवा क्लबका अध्यक्ष खोमबहादुर गाहाले बताए ।

सराई युवा क्लब, वडा कार्यालय, कसेनी स्वास्थ्य चौकी, सराई बजार व्यवस्थापन समिति, स्थानीय नागरिक अगुवाको सहयोगमा राहत संकलन गरिएको थियो । संकलन गरिएको मध्येबाट प्रति परिवार एक किलो दाल, दुई किलो आलु, एक पोका नुन, एक पोका तेल, २० किलो चामल, तरकारीलगायत वितरण गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष राजन बलाल मगरले जानकारी दिए ।

सराईमा ‘लकडाउन’ उल्लंघन गर्नेहरुलाई समेत जरिवानास्वरुप खाद्यान्न सहयोग गर्न आग्रह गरिएको छ । राहत प्राप्त गरेकाहरु पनि खुसी भएका छन् । ‘हामीलाई धेरै खुसी लागेको छ,’ राहत पाएकी लीलासरा कामीले भनिन्, ‘क्लबले सहयोग गरेर हामीलाई छाक टार्न मद्दत मिलेको छ ।’

तानसेन बजारमा दैनिक ज्याला मजदुरी गर्ने २२ मजदुरलाई तानसेन नगरपालिका–४ का धर्मेन्द्र गुप्ताले राहत वितरण गरेका छन् । पहिलो चरणको लकडाउनको अवधिभर दैनिक ज्याला मजदुरी गर्ने विपन्न श्रमिकलाई सहयोग गरेको उनले सुनाए । वितरण गरेका खाद्यान्नका सामग्री पूर्ण सुरक्षित र गुणस्तरीय रहेको उनले दाबी गरे ।

प्रकाशित : चैत्र १८, २०७६ २०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×