लकडाउनले तरकारी बजार सुनसान

चाँदनी कठायत

वीरेन्द्रनगर — सरकारले ‘लकडाउन’ को अवधि सात दिनका लागि थप गरेपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित तरकारी बजार सुनसान बनेको छ । बजारमा स्थानीय उत्पादन आउन नसक्दा केही तरकारी पसल बन्द भइसकेका छन् ।

लकडाउनले तरकारी बजार सुनसान

कृषि बजार व्यवस्थापन समितिका अनुसार लकडाउनभन्दा अगाडि दैनिक करिब तीन सय क्विन्टल तरकारी भित्रिन्थ्यो । अहिले स्थानीयस्तरमा उत्पादन भएको तरकारी प्रतिदिन १० देखि १५ क्विन्टल मात्रै आउने गरेको समितिका अध्यक्ष प्रवल शाहीले बताए । ‘धेरैजसो तरकारी र फलफूल भारतबाटै आउने हो,’ उनले भने, ‘स्थानीय उत्पादन साग, काउली र बन्दा मात्र बजारमा छ ।’ उनले चार दिनअघि भारतबाट ल्याएको तरकारीले हालसम्म काम चलेको जनाए ।


पहिले मौज्दात रहेको तरकारीले उपभोक्ताको माग पूरा गरिरहेको व्यवसायीको भनाइ छ । ‘स्थानीयस्तरमै तरकारी प्रशस्त उत्पादन भए भारतको भर पर्नुपर्ने थिएन,’ पूजा सब्जी मण्डीकी सञ्चालक पूजा सिंहले भनिन्, ‘कृषिउपज अभावमा मण्डी बन्द गर्नुपर्ने बाध्यता आयो ।’ भारत र अन्य जिल्लाबाट तरकारी ल्याउन ढुवानी समस्या भइरहेको उनको भनाइ छ । लकडाउन लम्बिए केही दिनमै तरकारी बजार खाली हुने उनले सुनाइन् ।


देवकोटा सब्जी मण्डीका लक्ष्मण देवकोटाले काउली, फर्सी र बन्दाको माग मात्र स्थानीय उत्पादनले धानेको बताए । उनका अनुसार वीरेन्द्रनगरका व्यवसायीले भारतसँगै महेन्द्रनगर, नारायणगढ, कपुरकोट, दैलेखलगायत स्थानबाट तरकारी र फलफूल भित्र्याउँछन् ।

प्रकाशित : चैत्र १८, २०७६ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?