५० हजार डलरभन्दा बढी मूल्य पर्ने गाडी नल्याउँदा वार्षिक सवा अर्ब बिदेसिन रोकिने

नेपाल नाडा अटोमोबाइल्स एसोसिएनका अनुसार ५० हजार डलरभन्दा बढी मूल्य पर्ने सवारी वार्षिक २ सय वटा आउँथे  
विमल खतिवडा

काठमाडौँ — सरकारले ५० हजार डलरभन्दा माथिका सवारीसाधन ल्याउन नपाउने निर्णय गरेसँगै एक अर्ब रुपैयाँभन्दा बढी रकम बिदेसिनबाट रोकिने भएको छ ।

५० हजार डलरभन्दा बढी मूल्य पर्ने गाडी नल्याउँदा वार्षिक सवा अर्ब बिदेसिन रोकिने

महँगा सवारीसाधनको आयात निरुत्साहित गर्न भन्दै आइतबारबाट सरकारले तिनमा रोक लगाएको छ ।


सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यस्ता साधन अहिले आवश्यक नरहेकाले आयातमा रोक लगाइएको जानकारी दिए । ५० हजार डलरभन्दा बढीका सवारीसाधन ल्याउँदा नेपाली बजारमा तीन करोड रुपैयाँभन्दा बढी पर्न गई महँगो हुने भएकाले यस्ता गाडीको बजार सीमित छ ।


वार्षिक रूपमा बढीमा २ सय गाडी आयात हुने गरेको अटोमोबाइल्स एसोसिएसन आफ नेपाल (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । यो संख्यालाई आधार मान्दा वार्षिक १ करोड डलर (हालको विदेशी विनिमय दर अनुसार १ अर्ब २० करोड रुपैयाँ) बिदेसिनबाट रोकिने भएको छ ।


निर्यात ठप्पप्रायः रहेको, कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री बढी आउने र रेमिट्यान्स कम भइरहेको सन्दर्भमा सरकारलाई विदेशी मुद्रा सञ्चितिका लागि महँगा सवारीसाधन आयातमा रोक लगाइएको हो । यो निर्णयले नेपालको अटो बजारमा ठूलो असर नपर्ने नाडाका अध्यक्ष दुलाल बताउँछन् ।



‘असार मसान्तसम्म देश पूर्ण रूपमा खुल्ने अवस्था देखिँदैन, त्यही भएर गाडी बिक्रीवितरण खासै हुनेवाला छैन,’ उनले भने । नेपालको अटोमोबाइल बजारमा महँगा गाडीको हिस्सा करिब १ प्रतिशत मात्रै छ ।


कोरोना भाइरस संक्रमण फैलिने त्राससँगै महँगा गाडी मात्र होइन, साना गाडी पनि आयात भएका छैनन् । भारतमा यससँग सम्बन्धित प्रायः उद्योग बन्द छन् । ‘यस्तो अवस्थामा महँगा हुन् वा सस्ता गाडी ल्याएर बिक्री गर्ने सम्भावना छैन,’ दुलालले भने, ‘जेठ १५ सम्म भएकै स्टक गाडी बिक्री गर्दा ठिक्क हुन्छ ।’


नेपाली बजारमा बढी मूल्यका सवारी ल्याउने टोयोटा हो । मर्सिडिज बेन्ज, बीएमडब्ल्यू, टोयोटाको ल्यान्डक्रुजर, अडी ई–ट्रनको विद्युतीय गाडी, भक्सवागन, फोर्ड, भोल्भो, माज्दालगायत महँगा गाडी नेपालमा आउने गरेका छन् । यी सवारीको मूल्य २ करोडभन्दा माथि ७/८ करोड रुपैयाँसम्म पर्छ । यस्ता गाडी भारत, थाइल्यान्ड, जापान, जर्मनी, कोरियालगायत देशबाट आयात हुने गरेका छन् ।


‘नेपालमा बिक्री हुने महँगा गाडीमध्ये करिब ७५ प्रतिशत हिस्सा टोयोटाको छ,’ अध्यक्ष दुलालले भने, ‘अरू कम्पनीको बजार २५ प्रतिशत मात्र हो ।’ महँगा सवारी आयातको रोकावटले यस क्षेत्रका केही व्यापारीलाई भने असर गर्ने निश्चित छ ।


महँगा सवारी बिक्री गर्ने डिलर तथा सोरुममा पनि धेरै लगानी हुने भएकाले असर पर्ने भएको व्यवसायी बताउँछन् । सरकारले गरेको निर्णयले महँगा गाडीको डिलरसिप लिएका व्यवसायीलाई असर गर्ने नाडाका पूर्वअध्यक्ष शम्भुप्रसाद दाहालको भनाइ छ ।


प्रकाशित : चैत्र १८, २०७६ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?