कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘बैंक खुले पनि ग्राहक छैनन्’

यज्ञ बञ्जाडे

काठमाडौँ — कर्मचारीले आलोपालो प्रणालीमार्फत बैंक सञ्चालन गरे पनि ग्राहकको उपस्थिति न्यून रहेको बैंकहरूले बताएका छन् ।

ग्रामीण भेगमा केही ग्राहक आउने गरे पनि काठमाडौं उपत्यकालगायत प्रमुख सहरमा नगन्य संख्यामा ग्राहक आउने गरेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘काठमाडौं उपत्यकामा बैंकहरूले एक/दुई शाखा मात्र खोल्ने गरेका छन्,’ उनले भने, ‘खुलेका शाखामा पनि ग्राहक उपस्थिति निकै कम छ ।’ लकडाउन सुरु भएपछिका एकदुई दिनपछि बैंकमा ग्राहक आउन छाडेको उनले बताए । यो अवधिमा मोबाइल, इन्टरनेट बैंकिङलगायत विद्युतीय बैकिङ कारोबार बढेको उनले जानकारी दिए ।

मोफसलमा बैंकका शाखा स्थानीय तह (सरकार)को अनुमतिमा मात्र खुल्ने गरेको पनि बैंकर्स संघले बताएको छ । कोरोना जोखिमको अवस्था हेरेर स्थानीय तहले खोल्न भनेको दिनमा खुलेका र बन्द भनेको दिनमा नखुल्ने गरेको जानकारी संघले राष्ट्र बैंकलाई दिएको छ ।

पहिलो पटक लकडाउन घोषणा गरेपछिका तीन दिन (गत मंगलबार, बुधबार र बिहीबार) वाणिज्य बैंकका ग्राहकले मात्र करिब १२ अर्ब रुपैयाँ बराबरको कारोबार गरेका छन् । यसमध्ये काठमाडौं उपत्यकामा मात्र ४ अर्ब ४४ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार मोबाइल र इन्टरनेट बैंकिङमार्फत भएको हो । सो अवधिमा भएको कुल कारोबारमा आधाभन्दा बढी डिजिटल बैंकिङमार्फत भएको संघले बताएको छ ।

लकडाउनपछिका तीन दिनमा ग्राहकले करिब साढे ३ अर्ब रुपैयाँ बैंकबाट झिकेका छन् । सो अवधिमा एटीएमबाट १ अर्ब १७ करोड २६ लाख र चेकमार्फत २ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ नगद निकालिएको छ । यो कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले नागरिकलाई घरमै बस्न निर्देशन दिएपछि एटीएम र बैंकको काउन्टरबाट निकालिएको रकम हो ।

एटीएमबाट झिकिएको रकममध्ये काठमाडौं उपत्यकाभित्र ५५ करोड ७४ लाख रुपैयाँ छ । बाँकी ६१ करोड ५१ लाख रुपैयाँ मोफसलका ग्राहकले निकालेका छन् । बैंकबाट झिकिएको रकम काठमाडौं उपत्यकाभित्र भन्दा मोफसलमा धेरै छ ।


प्रकाशित : चैत्र १८, २०७६ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?