२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘डलर बिदेसिन रोक्न मरिच, केराउ र छोकडा आयात बन्देज’

विज्ञ भन्छन्– यो उचित भएन
राजु चौधरी

काठमाडौँ — कोभिड–१९ को संक्रमण फैलने त्राससँगै सरकारले लकडाउन गरेपछि समग्र अर्थतन्त्रमा असर पुगेको छ ।

‘डलर बिदेसिन रोक्न मरिच, केराउ र छोकडा आयात बन्देज’

यसलाई दृष्टिगत गरी सरकारले आइतबार राहत प्याकेजसमेत सार्वजनिक गर्‍यो । प्याकेजअन्तर्गत सुनको दैनिक आयात कोटा घटाउनेदेखि खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाउनेसम्म छन् ।

प्याकेज सार्वजनिक कार्यक्रममा अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडाले केराउ, मरिच, छोकडा, सुपारी मदिरा जस्ता वस्तको आयात अर्को व्यवस्था नभएसम्म रोक लगाइएको बताए ।

विज्ञहरू भने सरकारले सवारीसाधन र सुनमा गरेको कडा उचित भए पनि केराउ, मरिच र छोकडाको प्रतिबन्ध उचित नभएको तर्क गर्छन् । उनीहरूका अनुसार मरिचलाई आयुर्वेदिक डाक्टरले पनि खान सिफारिस गर्ने गरेका छन् । तर यो स्वदेशमा उत्पादन हँुदैन । हरियो केराउ स्वदेशमा उत्पादन भए पनि पर्याप्त छैन । यीबाहेक छोकडा पनि स्वास्थ्यका लागि प्रतिकूल नभएको अर्थविद् केशव आचार्यले बताए । ‘सुनको कोटा घटाउनु ठीकै हो । तर केराउ, मरिच र छोकडा किन रोकियो, अचम्म लाग्यो,’ उनले भने ।

कार र सुन आयातमा कडाइ गरिनुले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले बताए । ‘सुनसँगै सुपारी, मदिरा पनि आवश्यक छैन,’ उनले भने । यद्यपि, मरिच, केराउ, छोकडा भने आयात रोक्न नपर्ने उनको भनाइ छ । ‘बाहिरबाट आयात भएर पुन: भारततिर तस्करी हुने वस्तु रोक्नु राम्रो हो । अनावश्यक वस्तु र व्यापारमा विचलन ल्याउने वस्तु रोक्नुपर्छ,’ उनले भने, ‘तर केराउ रोक्नुहुँदैन ।’

भन्सार विभाग स्रोतले भने डलर बिदेसिनबाट रोक्न आयातमा केही कडाइ गरिएको बताएको छ । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७ हजार ४ सय ९३ केजी सुन आयात भएको थियो । उक्त सुन खरिदमा ३४ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको थियो । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा २ हजार २ सय ५० किलो सुन आयात भएको छ । यसका लागि १२ अर्ब ५७ करोड रुपैयाँ बिदेसिएको छ ।

‘सुनकै लागि अर्बौं रुपैयाँ बाहिरियो,’ भन्सारका एक अधिकारीले भने, ‘आयात कोटा ५० प्रतिशत घटेपछि रकम स्वदेशमै रहन्छ ।’ विभागका अनुसार गत वर्षमा सुपारी ९ हजार १ सय २८ टन आयात भएको थियो । अहिले ८ महिनामै १५ हजार १८ टन आयात भएको छ । सुपारी खरिद गर्न मात्र ८ महिनामै २ अर्ब १० करोड रुपैयाँ बिदेसिएको छ ।

सुपारी औपचारिक रूपमा आयात भएर अनौचारिक रूपमा बाहिरिएको आशंका रहेको ती अधिकारी बताउँछन् । जसले गर्दा आयात रोक्ने निर्णय भएको उनको भनाइ छ । छोकडाको आयात पनि उलेख्य बढेको छ । गत वर्ष करिब २४ करोड रुपैयाँको २ हजार ८ सय ६७ टन आयात भएको छोकडा चालु आवको ८ महिनामै २८ हजार ७ सय ५९ टन आयात भएको विभागको तथ्यांक छ । यसमा २ अर्ब ४५ करोड रुपैयाँ बाहिरिएको छ । गत वर्ष ४ अर्ब ७३ करोड रुपैयाँको आयात भएको केराउ चालु आवको ८ महिनामै ५ अर्ब ७६ करोड रुपैयाँको आयात भएको छ । यस्तै चालु आवको ८ महिनामा २ अर्ब ८९ करोड रुपैयाँको मरिच आयात भएको विवरणमा छ । अघिल्लो वर्ष मरिच आयातमा ६ अर्ब २५ करोड रुपैयाँ बाहिरिएको थियो ।

अर्थविद् आचार्य भने यस्ता वस्तु अहिले चोरी निकासी हुन नसक्ने दाबी गर्छन् । ‘नाका सबै बन्द छन् । खाद्य वस्तु भारततर्फ चोरी निकासी गर्न सम्भव छैन,’ उनले भने, ‘तस्करी हुने कल्पना पनि गर्न सकिन्न ।’


प्रकाशित : चैत्र १७, २०७६ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?