कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कोरोना नियन्त्रणका लागि अहिलेसम्म डेढ अर्ब निकासा

अहिलेकै अवस्थामा बजेट नपुग्ला भन्ने दबाब छैन : अर्थ मन्त्रालय
कृष्ण आचार्य

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि अर्थ मन्त्रालयले हालसम्म डेढ अर्ब रुपैयाँ बजेट निकासा गरेको छ । 

कोरोना नियन्त्रणका लागि अहिलेसम्म डेढ अर्ब निकासा

स्वास्थ्य मन्त्रालयलाई ८५ करोड रुपैयाँ बजेट रकमान्तरको अनुमति दिइएको अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख धनीराम शर्माले जानकारी दिए । ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न ५० करोड निकासा भएको छ,’ उनले भने, ‘चीनको वुहानबाट १७४ नागरिकलाई उद्धार गर्दाको खर्च १३ करोड रुपैयाँ हो ।’

यस आधारमा हालसम्म १ अर्ब ४८ करोड रुपैयाँ अर्थले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि निकासा दिएको हो । यो बजेटमध्ये वुहानबाट उद्धार गर्दाको १३ करोड रुपैयाँ पूरै खर्च भइसकेको छ ।


कोभिड–१९ संक्रमण फैलिएको प्रमुख मुकाम चीनको वुहानबाट फागुन पहिलो साता सरकारले १७५ जना नेपालीलाई हवाई चार्टड गरी उद्धार गरेको थियो । उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा १४ दिन राखिएको थियो । उद्धारका लागि प्रयोग भएको नेपाल वायुसेवा निगमको जहाजदेखि क्वारेन्टाइन निर्माण र खानालगायत खर्च सरकारले बेहोरेको थियो ।


‘स्वास्थ्य मन्त्रालयलाई रकमान्तर गरिदिएको ८५ करोड र कोषमा राखिएको ५० करोड रकम भने पूरै खर्च भइसकेको छैन,’ शर्माले भने, ‘हिजो मन्त्रिपरिषद्ले निर्णय गरेअनुसारको आर्थिक प्याकेजका लागि प्रदेश र स्थानीय तहलाई दिनुपर्ने रकमले केही खर्च बढ्न सक्छ । नभए अहिलेकै वातावरण कायम भए तत्काल धेरै खर्च हुने सम्भावना छैन ।’

कोरोना त्रासका कारण गत साताबाट सरकारले ‘लकडाउन’ गरिसकेकाले विकास निर्माण तथा अन्य नियमित खर्च ठप्पप्रायः छ । राजस्व समेत कम संकलन भइरहेको छ । अन्य क्षेत्रमा खर्च पनि कम हुने हुँदा थप बजेटको दबाब नरहेको अर्थले जनाएको छ ।

आइतबार नै मन्त्रीपरिषद् बैठकले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंक (एडीबी) बाट पनि कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारका लागि करिब २१ अर्ब रुपैयाँ बराबरको ऋण तथा सहायता लिने निर्णय गरिसकेको छ ।


प्रकाशित : चैत्र १७, २०७६ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?