कोरोना नियन्त्रणका लागि अहिलेसम्म डेढ अर्ब निकासा

अहिलेकै अवस्थामा बजेट नपुग्ला भन्ने दबाब छैन : अर्थ मन्त्रालय
कृष्ण आचार्य

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि अर्थ मन्त्रालयले हालसम्म डेढ अर्ब रुपैयाँ बजेट निकासा गरेको छ । 

स्वास्थ्य मन्त्रालयलाई ८५ करोड रुपैयाँ बजेट रकमान्तरको अनुमति दिइएको अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख धनीराम शर्माले जानकारी दिए । ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न ५० करोड निकासा भएको छ,’ उनले भने, ‘चीनको वुहानबाट १७४ नागरिकलाई उद्धार गर्दाको खर्च १३ करोड रुपैयाँ हो ।’


यस आधारमा हालसम्म १ अर्ब ४८ करोड रुपैयाँ अर्थले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि निकासा दिएको हो । यो बजेटमध्ये वुहानबाट उद्धार गर्दाको १३ करोड रुपैयाँ पूरै खर्च भइसकेको छ ।


कोभिड–१९ संक्रमण फैलिएको प्रमुख मुकाम चीनको वुहानबाट फागुन पहिलो साता सरकारले १७५ जना नेपालीलाई हवाई चार्टड गरी उद्धार गरेको थियो । उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा १४ दिन राखिएको थियो । उद्धारका लागि प्रयोग भएको नेपाल वायुसेवा निगमको जहाजदेखि क्वारेन्टाइन निर्माण र खानालगायत खर्च सरकारले बेहोरेको थियो ।


‘स्वास्थ्य मन्त्रालयलाई रकमान्तर गरिदिएको ८५ करोड र कोषमा राखिएको ५० करोड रकम भने पूरै खर्च भइसकेको छैन,’ शर्माले भने, ‘हिजो मन्त्रिपरिषद्ले निर्णय गरेअनुसारको आर्थिक प्याकेजका लागि प्रदेश र स्थानीय तहलाई दिनुपर्ने रकमले केही खर्च बढ्न सक्छ । नभए अहिलेकै वातावरण कायम भए तत्काल धेरै खर्च हुने सम्भावना छैन ।’

कोरोना त्रासका कारण गत साताबाट सरकारले ‘लकडाउन’ गरिसकेकाले विकास निर्माण तथा अन्य नियमित खर्च ठप्पप्रायः छ । राजस्व समेत कम संकलन भइरहेको छ । अन्य क्षेत्रमा खर्च पनि कम हुने हुँदा थप बजेटको दबाब नरहेको अर्थले जनाएको छ ।

आइतबार नै मन्त्रीपरिषद् बैठकले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंक (एडीबी) बाट पनि कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारका लागि करिब २१ अर्ब रुपैयाँ बराबरको ऋण तथा सहायता लिने निर्णय गरिसकेको छ ।


प्रकाशित : चैत्र १७, २०७६ १७:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कोरोना भाइरसबाट संक्रमित भएपछि... 

अर्जुन शाह

धनगढी — देउता घरमा साँझबिहान दियो जल्थ्यो । जुठोसुतकलगायत असुद्धबाहेक हरेक बिहान आँगन छेउको तुलसी मठमा पूजा पनि हुन्थ्यो । तर दुई दिन भयो, घर अध्याँरो छ । आँगन अगाडीको पोलको बत्ति बाल्दिने हिम्मत पनि कसैलाई छैन । 

दुबईबाट घर फर्केका छोरालाई कोरोनाको संक्रमण पुष्टि भयो । सेती प्रादेशिक अस्पतालको बन्द कोठामा बनाइएको शैयामा उपचाररत संक्रमित छोरा त पीडामा हुने नै भए । परिवारलाई त्यो भन्दा बढी पीडा र छट्पटी छ ।

छोरालाई पोजिटिभ देखिएको भोलिपल्ट एम्बुलेन्स घरमै आएर परिवारका सदस्य सबैलाई क्वारेन्टाइनमा लिएर गयो । उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले व्यवस्थापन गरिरहेको धनगढी रंगशालाको क्वारेन्टाइनमा राखिएको छ । तीन जना नाबालकसहित परिवारका आठै जना क्वारेन्टाइनमा बस्नुपर्दा उनीहरुको छटपटी छ । अप्ठेरो परेकाले देवी देउतालाई सम्झिने, पूजा गर्ने सुदूरपश्चिमको धार्मिक आस्था पनि घर परिवारले पुरा गर्न पाएका छैनन् ।

गाईभैसी र बाख्रा गोठभित्र कराइरहेका छन्, आवाज सुनिदिने कोही छैन । ‘एक जना घरमै बस्न पाएको भए होम क्वारेन्टाइनमा बस्थ्यौं, पशु चौपाया त बाँच्थे,’ बिरामी युवाका बुवाले दुखेसो गर्दै भने, ‘भयानक अपराध गरेको जस्तो भएको छ ।’

उता क्वारेन्टाइनमा बसेका परिवारलाई अर्को कुराले पनि निकै चित्त दुखाएको छ । उनीहरुलाई टोलबासीले घरमा कसैलाई पनि आउन दिनु हुन्न भन्ने गरेको सुनाएका छन् । उनले भने, ‘दुर्भाग्यवस मेरो परिवारमा दुर्घटना भएपनि अरुको स्वास्थ्यमा ख्याल गर्दै सामाजिक दूरी कायम गर्नैपर्छ भन्नेमा त हामी सबै सचेत छौं नि ।’

छरछिमेक मात्रै हैन, नजिकका नातागोता पनि उनको सुनसान घरमा फर्किन सकिरहेका छैनन् । क्वारेन्टाइनबाट टेलिफोनमा गुहारेका एक आफन्तले हिम्मत जुटाएर टाढैबाट पशुवस्तुलाई पानीसम्म दिइरहेका छन् धन्न ।
टोलको सन्नाटा बेग्लै छ । टोलीवासीहरुले खबर सुन्दा झमक्क साँझ परिसकेको थियो । धेरैका घरमा खाना पाकिसकेको थियो । कतिपयका घरमा पाक्दै थियो । खाना पाकेर खान तयार भएकाहरुले बीचैमा छाडे ।

संक्रमित युवाको छिमेकी घरका एकजनाले भने, ‘हाम्रोमा त चुलै बलेन । न त रातभर निन्द्रा लाग्यो ।’ धेरैजसोले घर अगाडीको सार्वजनिक बाटोमै हिड्न पनि छाडेका छन् । क्वारेन्टाइनमा बसेका आमाबुवालाई यो सुनेर थप पीडा भइरहेको छ ।

कतै ती युवासँग प्रत्यक्ष संसर्ग भएको व्यक्तिको लसपस आफूहरुसम्म पनि आइपुगेको त छैन भन्ने चिन्ता टोलबासीमा छ । हुन पनि उनी दुबईबाट आएर तीन दिन घरमै बसेका थिए । नातागोतालाई भेटेका थिए ।
सम्बन्धित निकायले टोलमा स्प्रे गरिदेओस् भन्ने चाहना पनि जिल्ला स्वास्थ्य कार्यालयले चौथो दिनसम्म पुरा नगरेको एक परिवारले बताए ।

त्यही दिनदेखि टोलमात्रै हैन, पुरै धनगढीमा सन्नाटा छाएको हो । शुक्रबार एकाएक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा खबर फैलिएपछि लकडाउनका बेला पनि घर वरपर टहलिदै गरेकाहरु झटपट भित्र पसेका थिए । तरकारी, खाद्यान्न लगायत अत्यावश्यक सेवाका लागि निस्केकाहरुमा पनि झनै हतारमा घर फर्केर झ्याल–ढोकासमेत बन्द गरेका थिए । त्यो शनिबारदेखि त धनगढी झन् सुनसान छ ।

अस्पतालमा उपचाररत संक्रमित झन् तनावमा छन् । पोजिटिभ देखिएपछि सबैले चटक्क छाडेको गुनासो सञ्चारकर्मीहरुमाझ सुनाएपछि सेती प्रादेशिक अस्पतालको टीम पनि उनीप्रति सकारात्मक छैन । उनले सञ्चारमाध्यममा गुनासो गरेको सुनेपछि केही डाक्टरहरु रिसाए । त्यसपछि उनीहरुले आफ्ना गुनासोहरु सार्वजनिक गरे । केही स्वास्थ्यकर्मीले फेसबुकमै ‘मर्ने कसैलाई रहर हुँदैन’ भन्नेसम्म लेखेर झन् निरास पार्ने काम गरे ।

अस्पतालका स्वास्थ्यकर्मीहरुको मुख्य गुनासो मास्क, पन्जा र पीपीई सेट छैन भन्नेमै थियो । तर प्रदेश आपूर्ति केन्द्रका अनुसार आइतबारसम्म सेतीमा १८७ सेट पीपीई दिइएको थियो । शनिबार सय थान र त्यस अगाडीको साता अवधिमा ८० थान । स्रोतका अनुसार आइतबार सााझसम्म सेतीमा झण्डै सय सेट मौज्दात थियो ।

यता केही चिकित्सकहरु भने फेसबुक स्ट्याटस र केही सञ्चार माध्ययममा बिना हतियार युद्ध लड्न पठाइएको दाबी गरिरहेका थिए । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने, ‘सेती अस्पताललाई अढाई करोड गएको छ ।’ तर सेतीका वरिष्ट फिजिसियन डा. शेरबहादुर कमरले फेसबुक स्ट्याटस लेख्दै ‘वर्षको २–३ चोटी स्वास्थ्यमन्त्री र ४–६ चोटी सचिव परिवर्तन भइराख्ने स्वस्थ्य मन्त्रालय अनि ‘भिजन, मिसन’ नभएको र ‘द पोरेस्ट डिसिजन पावर’ भएको नेतृत्वबाट यो भन्दा अरु के नै आस गर्न सकिन्थ्यो र ? दबाई त छैन अब दुवाको भरोसा !’

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना उपचारका लागि डेडिकेटेड अस्पतालका रुपमा स्थापना गर्ने निर्णय गरेको छ ।

यतिबेला सुदूरपश्चिम कोरोनाको इपिसेन्टर बन्लाकी भन्ने चिन्ता धेरैमा छ । त्यसमा सरोकारवाला निकायले चारतिर मुख फर्काएर काम गरिरहेकोमा नागरिक अगुवाहरु चिन्ता व्यक्त गरिरहेका छन् । ‘एक जना संक्रमित देखिँदा त यो अवस्था छ, भोली महामारी नै फैलियो भने उत्पन्न हुने अवस्थाको त कल्पना पनि गर्न सकिन्न,’ मानवअधिकारकर्मी खडकराज जोशी भन्छन्, ‘सरकार र सबै क्षेत्र जुटेर सर्वसाधारणलाई आत्मविश्वासमा दिनुपर्छ । सबै क्षेत्र उत्तिकै जिम्मेवार हुनुपर्छ ।’

अर्कोतिर धनगढी र सुदूरपश्चिमका नाकामा भारतबाट फर्कने नेपालीको लर्कोले पनि बढी जोखिम छ । लकडाउन सुरु भएको दिनसम्म सुदूरपश्चिमका सीमा नाकामा १ लाख २५ हजार भारतबाट भित्रिएको सुरक्षा निकायको तथ्यांक छ । भारतका विभिन्न सहरबाट फर्किएका उनीहरु सुदूर पहाडका कुनाकाप्चा पुगिसकेका छन् । पहाडतिरका बासिन्दा यही त्रासमा छन् ।

प्रकाशित : चैत्र १७, २०७६ १७:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×