सेयर बजार पनि चैत २५ सम्म बन्द

यज्ञ बञ्जाडे

काठमाडौँ — गत सोमबारदेखि बन्द रहेको सेयर बजार थप एक साताका लागि बन्द हुने भएको छ । सरकारले गरेको ‘लकडाउन’मा सहयोग पुर्‍याउने उद्देश्यले चैत २५ सम्म बन्द गर्न लागिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष लक्ष्मण न्यौपानेले बताए ।

सेयर बजार पनि चैत २५ सम्म बन्द

‘मंगलबारदेखि थप ६ कारोबार दिनका लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘अर्थमन्त्रालय र धितोपत्र बोर्ड आग्रहमा बजार बन्द गर्ने निर्णय गरिएको हो ।’ सोमबार बिहान बसेको नेप्से सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको उनले बताए ।


सूचीकरण तथा कारोबार नियमावली २०७५ को निमय २१ बमोजिम नेप्सेले एक साताका लागि कारोबार बन्द गर्ने निर्णय गरेको हो । नियमावली मुलुकमा राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आएमा नेप्सेले कारोबार रोक्न सक्ने व्यवस्था छ । कोरोना संक्रमणको असर भन्दै गत सोमबारदेखि सेयर कारोबार बन्द छ । त्यति बेला धितोपत्र बोर्डले कारोबार बन्द गरेको हो ।

धितोपत्र ऐनमा बोर्डले बढीमा ६ कारोबार दिनका लागि मात्र कारोबार रोक्न पाउने व्यवस्था छ । त्यसकै आधारमा गत आइतबार साँझ बोर्डले कारोबार रोक्ने निर्णय गरेको थियो । त्यो समय आज (चैत १७) देखि सकिँदै छ । सोही कारण नेप्सेले मंगलबारदेखि पुनः कारोबार बन्द गर्न लागिएको हो ।


अहिलेको अवस्थामा बजार चलाउन सक्ने अवस्था नभएको भन्दै धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीले गरेको व्यवस्था अनुसार सेयर बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको थियो ।


प्रकाशित : चैत्र १७, २०७६ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?