साढे ८७ हजार ग्यास सिलिन्डर वितरण भइसके, अझै भएन सहज

मार्च २८ सम्म ४५ हजार टन ग्यास आयात
नेपाल ग्यासका उपभोक्तालाई बालाजुबाट ग्यास
राजु चौधरी

काठमाडौँ — नेपाल आयल निगमले तीन दिनमा साढे ८७ हजार सिलिन्डर ग्यास बिक्री गरिएको बताएको छ । ग्यास उद्योगीहरूले निगमलाई उपलब्ध गराएको तथ्यांकअनुसार चैत १४ गते (शुक्रबार) ३३ हजार ६ सय ५८ ग्यास सिलिन्डर बिक्रीवितरण भएको छ ।

साढे ८७ हजार ग्यास सिलिन्डर वितरण भइसके, अझै भएन सहज

चैत १५ मा १४ हजार १ सय ८ सिलिन्डर ग्यास र १६ गते ३९ हजार ८ सय ६४ सिलिन्डर ग्यास वितरण भएको छ ।

‘तीन दिनकै अवधिमा ८७ हजार ६ सय ३० सिलिन्डर बिक्रीवितरण गरेका छौं,’ निगमका प्रवक्ता विनीतमणि उपाध्यायले भने, ‘सोमबार पनि यसलाई तीव्रता दिन्छौं ।’ निगमले हजारौंको संख्यामा ग्यास सिलिन्डर वितरण गरेको दाबी गरे पनि सर्वसाधारणले भने अझै सहज रूपमा ग्यास पाएका छैनन् ।


वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सञ्चालन गर्दे आएको टोल फ्री नम्बरबाट पनि यसको पुष्टि हुन्छ । टोल फ्री नम्बरमा सबैभन्दा बढी ग्यास नपाएको गुनासो आएको विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले जानकारी दिए । निगमको तथ्यांकमा भने आयात पर्याप्त भइरहेको उल्लेख छ ।


तथ्यांकअनुसार मार्च २८ सम्ममा ४५ हजार टन ग्यास आयात भएको छ । उक्त परिमाण अहिलेसम्मकै अधिक रहेको निगमले जनाएको छ । ‘औसतमा ३८ हजार टन आयात भइरहेको ग्यास अहिले ४५ हजार टन पुगेको छ,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने, ‘यो अत्यधिक हो ।’ आयात सहज हुँदाहुँदै पनि ग्राहकले अनावश्यक मौज्दात गर्दा बजारमा केही समस्या भएको उनले बताए ।


कोभिड–१९ संक्रमणले ग्यास आपूर्तिमा अवरोध हुने आकलनले सर्वसाधारणले ग्यास सञ्चय गरिरहेको उनको भनाइ छ । भारतले ४ बाहेक अन्य नाका बन्द गर्ने जनाएपछि यहाँ थप त्रास सिर्जना भएको थियो । हाल नेपाल र भारत सरकारले लकडाउन गरेका छन् । यता, बिक्रेताहरू भने अभाव हटाउन आपूर्ति प्रणालीलाई चुस्त बनाउनुपर्ने बताउँछन् । ग्यास उद्योगीले डिपोलाई ग्यास नदिएकै कारण बजारमा समस्या भइरहेको उनीहरूको दाबी छ ।


‘केही ग्यास कम्पनीले ग्यास डिपोमा ढुवानी नगर्दा पनि ती क्षेत्रका ग्राहकलाई समस्या भयो,’ ग्यास बिक्रेता महासंघका कोषाध्यक्ष राजेश दाहालले भने, ‘बजारमा सहज बनाउन पहिलो प्राथमिकता भनेको आपूर्ति हो । वितरणमा पनि पादर्शिता हुनुपर्‍यो ।’

डिपोबाट बिक्रीवितरण नभएसम्म ग्राहकको गुनासो आइरहने उनको भनाइ छ ।

निगमको तथ्यांकअनुसार मार्चमा बरौनी रिफाइनरीबाट १२ हजार टन ग्यास आयात भएको छ । मथुरा रिफाइनरीबाट ११ हजार टन, हल्दिया रिफाइनरीबाट ११ हजार टन, पारादीप रिफाइनरीबाट ११ हजार टन ग्यास भित्रिएको छ । ग्यास अभाव हटाउन निगमले आधा सिलिन्डर ग्यास भरेर बिक्री गर्न उद्योगीहरूलाई यसअघि नै निर्देशन दिइसकेको छ । चैत १६ देखि १४.२ केजीका ग्यास सिलिन्डर बिक्री/बितरणमा समेत बन्देज लगाइएको छ । ग्यास उद्योगीहरूलाई आपसमा सहमति गरी एकअर्का उद्योगका सिलिन्डर पनि रिफिल गर्न निगमले निर्देशन दिएको छ ।


नेपाल ग्यासका उपभोक्तालाई बालाजुबाट ग्यास


नेपाल ग्यास उद्योग प्रालिले अति समस्या भएको ग्राहकलाई बालाजु औद्योगिक क्षेत्रबाटै ग्यास उपलब्ध गराउने जनाएको छ । संक्रमणकालीन अवस्थामा ग्यासको माग अत्यधिक बढेको जनाउँदै उद्योगले अति समस्यामा परेका ग्राहकलाई औद्योगिक क्षेत्रबाटै वितरण गर्ने जनाएको हो ।


‘सर्वसाधारणको माग पूरा गर्न यस उद्योगले क्षेत्रगत हिसाबमा दैनिक रूपमा ग्यास पठाउने व्यवस्था गरिरहेको छ,’ उद्योगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसबीचमा अति समस्या भएका ग्राहकलाई उद्योग बाहिर रहेको बालाजु औद्योगिक क्षेत्रको गेटबाट दैनिक बिहान ९.३० बजेदेखि १.३० बजेसम्म ग्यास वितरण गर्नेछौं ।’


प्रकाशित : चैत्र १७, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?