कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

हिमालयन डिस्टिलरीद्वारा दैनिक २५ हजार लिटर स्यानिटाइजर उत्पादनको प्रस्ताव

स्वीकृति दिन सहज छैन, मन्त्रिपरिषदले निर्णय गरिदिए मात्रै सम्भव छ: 
जीवनप्रकाश सिटौला 
महानिर्देशक, उद्योग विभाग
बिमल खतिवडा

काठमाडौँ — 
हिमालयन डिस्टिलरीले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि प्रयोग हुने ह्यान्ड स्यानिटाइजर उत्पादन प्रस्ताव पेस गरेको छ ।

हिमालयन डिस्टिलरीद्वारा दैनिक २५ हजार लिटर स्यानिटाइजर उत्पादनको प्रस्ताव

दैनिक २५ हजार लिटर उत्पादन गर्ने गरी उद्योग विभागमा अनुमति माग गरे पनि स्वीकृत नपाएको डिस्टिलरीले जनाएको छ । ‘डेढ हप्ताअघि स्वीकृतिका लागि आवश्यक पत्र उद्योग मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग विभाग र आन्तरिक राजस्व विभागमा पठाएका थियौं,’ डिस्टिलरीका प्रमुख कानुन अधिकृत गुरु अधिकारीले भने, ‘तर अहिलेसम्म उत्पादन स्वीकृति पाउन सकिएको छैन ।’ 

भारतमा मदिरा उद्योगहरूले नै ठूलो परिमाणमा उत्पादन गरी सहयोग गरिरहेको जनाउँदै डिस्टिलरीले पनि यहाँ उत्पादनको तयारी गरेको हो ।

‘चरम अभाव हुनुभन्दा अघि नै यसको उत्पादन गर्दा राम्रो हुने थियो,’ उनले भने, ‘उत्पादन स्वीकृति मागे पनि पाउन सकिएन, उद्योग विभागमा बुझ्दा मन्त्रिपरिषद्ले निर्णय गरिदिए मात्र अनुमति दिन सम्भव रहने भन्ने कुरा आएको छ ।’ 

स्वीकृति पाए सुरक्षा ब्यारेक, कारागारलगायत संस्थागत रूपमा वितरण गर्ने गरी ठूलो परिणामको उत्पादन गरिने अधिकारीले बताए । मदिरा उत्पादन गर्ने उद्योगलाई स्यानिजाइजर उत्पादन गर्न दिन नियमअनुसार प्रक्रिया लामो भएको उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले जानकारी दिए । ‘औद्योगिक व्यवसाय ऐनअनुसार मदिराजन्य उद्योग औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डबाट स्वीकृति लिनुपर्छ,’ उनले भने, ‘त्यस्तै उत्पादन विविधीकरण गरेर मदिरा उद्योगबाट मदिरा तथा स्यानिटाइजर उत्पादन गर्ने बनाउनुपर्छ ।’ उद्देश्य पनि थप गर्नुपर्ने उनको भनाइ छ । ‘प्रक्रिया लामो हुन्छ, सबै पूरा गर्नुपर्छ,’ उनले भने, ‘त्यही भएर मन्त्रिपरिषद्बाट निर्णय भयो भने चाँडो होला, नत्र सहज रूपमा दिन सकिने अवस्था छैन ।’


‘मदिरा उत्पादनका लागि प्रयोग हुने कच्चापदार्थ नै स्यानिटाइजर उत्पादनमा पनि प्रयोग हुने हुँदा यस्तो प्रस्ताव राखेका हौं,’ अधिकारीले भने । हिमालयन डिस्टिलरी ०५७ सालमा स्थापना भएको हो ।


प्रकाशित : चैत्र १६, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?