१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ज्याक मा फाउन्डेशन र सरकारले किनेको स्वास्थ्य सामग्री आज राति आइपुग्दै

 ललितपुर ओसीसीई कम्पनीबाट सवा एक अर्बको स्वास्थ्य सामग्री
कृष्ण आचार्य

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि अलिबाबा, ज्याक मा फाउन्डेशन र सरकारले खरिद गरेका स्वास्थ्य सामग्री आज राति आइपुग्ने भएको छ ।

ज्याक मा फाउन्डेशन र सरकारले किनेको स्वास्थ्य सामग्री आज राति आइपुग्दै

चीनको प्रमुख व्यापारी गन्तब्य गोञ्जाओमा अलिबाबा र ज्याक मा फाउन्डेशन र स्वास्थ्य मन्त्रालयले खरिद गरेका सामग्रीहरु लोड भइसकेको छ । सरकारले ललितपुरको कृष्ण गल्लीस्थित ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीबाट सवा एक अर्ब रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरी उसले चीनमा संकलन गरेका सामग्री ल्याउने भएको हो ।

खरिद गर्न लागिएका समाग्रीहरुको मुल्य विवरण सार्वजनिक भएपनि समाजिक सञ्जालमा भने बजार भाऊ भन्दा बढी भएको भन्दै ‘अनियमितताको व्याख्या’ गर्न थालिएको छ । नेपालमै यसअघि भएका कारोबार र अन्तराष्ट्रिय अनलाईन बजार राखिएको मुल्यसँग तुलना गरी समाजिक सञ्जालमा आलोचना सुरु भएको हो ।


सम्झौतामा उल्लेख भएअनुसार १ करोड ३ लाख ९० हजार ४ सय अमेरिकी डलर (हालको विनिमय दर अनुसार १ अर्ब २४ करोड ६८ लाख ४८ हजार नेपाली रुपैयाँ) का सामग्रीहरु उक्त कम्पनीमार्फत सरकारले खरिद गर्ने सम्झौता गरेको हो । सामग्रीहरुको मूल्यसूची सार्वजनिक भएपछि बजार मूल्यभन्दा महँगो भएको भन्दै सामाजिक सञ्जालमा ‘अनियमितताको व्याख्या’ गर्न थालिएको छ । नेपालमै यसअघि भएका कारोबार र अन्तर्राष्ट्रिय अनलाइन सपिङ साइटमा राखिएको मूल्यसँग तुलना गरी सामाजिक सञ्जालमा आलोचना सुरु भएको हो ।


परराष्ट्र स्रोतले उपलब्ध गराएको विवरणअनुसार सरकारले खरिद गर्ने भनिएमध्येका १२ प्रकारका सामग्री शनिबार राति १ बजेपछि नेपाल आइपुग्ने छन् । ती स्वास्थ्य सामग्री गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेको स्रोतले जनाएको छ ।

‘बाँकी सामग्री अप्रिल २ र ५ तारिखमा नेपाल ल्याउने कम्पनीसँग सम्झौता भएको छ,’ स्रोतले भन्यो । ढुवानी खर्च पनि सम्बन्धित कम्पनीले नै व्यहोर्ने हो । शनिबार पठाइएको वायुसेवा निगमको जहाजको खर्च कसले व्यहोर्ने भने खुलेको छैन । सामान खरिदको सम्झौतामा नेपाल सरकारको तर्फबाट स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ र कम्पनीकी प्रबन्ध निर्देशक डा. सीमा सिटौलाले हस्ताक्षर गरेकी छन् । सम्झौता अनुसार १ अर्ब २४ करोड बराबरका उक्त सामाग्री तीन पटकमा नेपाल ल्याइसकिने उल्लेख छ ।


पहिलो चरणका सामाग्री ल्याउन नेपाल एयरलाइन्सको ४१७१ नम्बरको जहाज शनिबार साढे बाह्र बजे चीन उडेको थियो । ‘जहाज राति १ बजेतिर नेपाल आइपुग्ने छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले ट्वीटरमा भनेका छन् ।


यही जहाजमा चीनको सिचुवान प्रदेश, चिनियाँ दूताबास, अलिबाबा र ज्याकमा फाउन्डेशनले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराउने भनिएका सामाग्रीहरु पनि ल्याइदैछ । सिचुवान प्रदेश र चिनियाँ दूताबासबाट प्राप्त हुने सामग्री १.१ मेट्रिक टन् छन् भने दुई फाउन्डेशनले उपलब्ध गराएको समान १.४ मेट्रिक टन हो । दुई फाउण्डेसनले कूल १९ लाख ९८ हजार ८ सय ५५ चिनियाँ यूयान (हालको विनिमय दर अनुसार ३ करोड १९ लाख १ हृजार ६ सय रुपैयाँ) बराबरको सामग्री पठाएका हुन् । सिचुवान प्रदेश र चिनियाँ दूताबासले भने ३ लाख ३ हजार १ सय चिनियाँ यूयान (हालको विनिमय दर अनुसार ५४ लाख ९ हजार ५ सय रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री पठाएका हुन् ।


सिचुवान प्रदेश र चिनियाँ दूताबासले नौ प्रकारका स्वास्थ्य सामग्री पठाउँदै छन् । यसमध्ये केही सामाग्री गण्डकी प्रदेशस्थित पोखरामा वितरण गर्नु भनी तोकेर पठाइएको छ । दुई फाउण्डेशनले भने एक लाख २ सय एन–९५ मास्क र २ हजार ६४ जनालाई कोरोना परीक्षण गर्ने किट पठाएका छन् । ‘यी सामाग्रीहरुको सूची शुक्रबार साँझ तय भएको हो,’ आपूर्ती प्रणालीमा संलग्न सरकारका एक उच्च अधिकारीले भने, ‘यीमध्ये केही सामाग्रीहरु अन्तिम समयमा लोड नभएको खबर पनि छ । त्यो कुन कुन हो आइतबार बिहान मात्रै थाहा हुने छ ।’


सरकारले सहयोग तथा आफैले खरिद गरी कोरोना भाईरस (कोभिड–१९) रोकथाप, परीक्षण तथा उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधीहरु पहिलोपटक ल्याउन लागेको हो । आइतबार विहानैबाट यी समाग्री बाँड्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : चैत्र १५, २०७६ २३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?