१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सहकारी बैंकबाट दुई दिनमा झिकियो झन्डै एक अर्ब

आइतबारदेखि सहकारी बैंकका प्रदेश कार्यालय पनि खुल्ने

काठमाडौँ — गत आइतबार र सोमबार मात्र राष्ट्रिय सहकारी बैंकबाट सहकारी संस्थाले करिब एक अर्ब रुपैयाँ झिकेका छन् । लकडाउनको समयमा नगद व्यवस्थापनका लागि दुई दिनमा सहकारी संस्थाले उक्त रकम झिकेका हुन् ।

सहकारी बैंकबाट दुई दिनमा झिकियो झन्डै एक अर्ब

हरेक दिन कार्यालय खुला रहे पनि सोमबारपछि कुनै कारोबार नभएको राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले जानकारी दिए । 
‘साताका सुरुका दुई दिनमा आवश्यक नगद झिकिसकेकाले त्यसपछि कारोबार नभएको होला,’ उनले भने, ‘सहकारी संघसंस्थाले तरलता व्यवस्थापन गरिरहेका छन् ।’ 
राष्ट्रिय सहकारी बैंक सहकारी संघसंस्थाको बैंक हो । नेपालमा एक मात्र यस्तो बैंक छ । यसले मुलुकभर वित्तीय सेवा दिँदै आएको छ । 
कारोबारका लागि सहकारी संस्था नआए पनि हरेक दिन कार्यालय खुला नै रहेको उनले बताए ।

‘आलोपालो गरेर कर्मचारी व्यवस्थापन गरी कार्यालय चलाएका छौं,’ उनले भने, ‘पैसा भएन भनेर कुनै सहकारी संस्थाले डराउनु पर्दैन ।’ आइतबार देखि राष्ट्रिय सहकारी बैंकले सेवा झनै प्रभावकारी बनाउन लागेको गुरागाईले जानकारी दिए । ‘आइतबारदेखि सबै प्रादेशिक कार्यालय सञ्चालन गरिनेछ,’ उनले भने, ‘रकम आवश्यक परेका सहकारीले बैंकका प्रदेश प्रमुखसँग प्रत्यक्ष सम्पर्क गरी नगद व्यवस्थापन गर्न सक्छन् ।’

यो अवधिका कुनै सहकारी संस्थामा नगद अभाव रहे उनीहरूको कारोबारका आधारमा एकदेखि तीन महिनासम्मका लागि नगद दिइने उनको भनाइ छ । 
सहकारीमार्फत हुने वित्तीय सेवा पनि अत्यावश्यक भएकाले संस्थाहरूले लकडाउनको अवस्थामा पनि सदस्यलाई सेवा दिइरहेको सहकारी विभागका रजिस्ट्रार टोकराज पाण्डेले बताए । सम्भव भएसम्म न्यूनतम कर्मचारीबाट आलोपालो प्रणालीअनुसार दैनिक निश्चित अवधिका लागि सेवा दिइरहेका छन्,’ उनले भने, ‘नगद भएन भनेर कुनै पनि सदस्यको गुनासो आएको छैन ।’ अप्ठ्यारो परिस्थितिमा पनि सहकारीका कुनै पनि सदस्यले पैसा झिक्न र राख्न पाएनौं भन्ने अवस्था नरहेको उनले दाबी गरे । ‘सहकारीले जसरी भए पनि सेवा दिइरहेका छन,’ उनले भने ।


सहकारी संघसंस्थालाई सुरक्षित तबरले सेवा सञ्चालन गर्न राष्ट्रिय सहकारी महासंघले निर्देशन दिइसकेको छ । लकडाउनको अवस्थामा सुरक्षित तरिकाले सेवा दिन र सदस्यमार्फत कोरोनाबाट बच्न चेतनामुलक सूचना प्रवाह गर्न पनि महासंघले आग्रह गरेको छ ।
मुलुकभर सञ्चालित साढे ३४ हजार सहकारी संस्थामध्ये सबैभन्दा बढी १३ हजार ५ सय ७८ वटा बचत तथा ऋण सहकारी संस्था छन् । यो कुल सहकारी संस्थाको ३९.३४ प्रतिशत हो । यीमध्ये केहीले सहकारी सिद्धान्तअनुसार कारोबार गरे पनि अधिकांश संस्थाले सहकारीको मर्मविपरीत काम गर्दै आएका छन् । 


दर्जनौं बचत तथा ऋण सहकारी संस्था सदस्यको ठूलो रकम कुम्ल्याएर भागेका उदाहरण पनि छन् । ती संस्थाबाट पीडित सदस्यलाई न्याय दिलाउन न त सरकार तातेको छ, न त सहकारी अभियन्ता  । यसकारण सदस्यको सम्पत्तिको सुरक्षा गर्ने सवालमा सहकारी अक्षम रहेको भन्दै संस्थाको आलोचना हुँदै आएको छ । यसको मार समग्र सहकारी क्षेत्रमा परेको विज्ञहरू बताउँछन् ।


प्रकाशित : चैत्र १५, २०७६ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?