खाद्य व्यवस्था कम्पनी भन्छ— दैनिक चार सय इन्डक्सन चुलो बिक्री भइरहेको छ

राजु चौधरी

काठमाडौँ — बजारमा ग्यास अभाव देखिएपछि सर्वसाधारण इन्डक्सन चुलोतर्फ आकर्षित भएका छन् । कोरोना संक्रमणले ग्यासमा समस्या हुने आकलन गर्दै सर्वसाधारण विद्युतीय किन्नेतर्फ लागेका हुन् ।

खाद्य व्यवस्था कम्पनी भन्छ— दैनिक चार सय इन्डक्सन चुलो बिक्री भइरहेको छ

उपत्यकामा दैनिक साढे ३ सयदेखि ४ सय वटा बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी दिएको छ । उपत्यका बाहिरबाट पनि माग आइरहेको कम्पनीका सहायक विभागीय प्रबन्धक धर्मकुमारी राजवंशीले बताइन् । 
‘ग्यासको समस्याले दैनिक साढे ३ देखि ४ सय वटासम्म बिक्री भइरहेको थियो । लकडाउनले हिँडडुलमा समस्या भए पनि बिक्री घटेको छैन,’ उनले भनिन् । सर्वसाधारणको पहुँचका लागि घुम्ती सेवामार्फत बिक्री गरिरहेको उनले बताइन् । बजारमूल्यभन्दा केही सस्तो भएकाले पनि सर्वसाधारणले चुलो किनिरहेको कम्पनीका बिक्री वितरण विभागका विभागीय प्रमुख लालमोहन ठाकुरको भनाइ छ । कम्पनीले इन्डक्सन चुलोको मूल्य ४ हजार रुपैयाँ तोकेको छ । 
चुलो खरिदमा एउटा कराई पनि दिइएको छ ।

यीबाहेक इन्डक्सन चुलोमा स्टिलका भाँडा पनि प्रयोग गर्न सकिन्छ, जसले गर्दा पनि सर्वसाधारणले खरिद गरेको उनको भनाइ छ । ‘बजारमा १२ हजार रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘तुलनात्मक रूपमा कम्पनीले बिक्री गर्ने चुलो बलियो छ ।’
भारतीय नाकाबन्दीका बेला चीनले अनुदानमा ११ हजार ३ सय चुलो उपलब्ध गराएको थियो । चिनियाँ सरकारले केरुङ नाकाबाट १३ सय र हवाई मार्गबाट ल्याएर १० हजार चुलो उपलब्ध गराएको थियो । हवाई मार्गबाट ०७२ पुस १६ मा चुलो आयात भएको थियो ।

आयातित चुलो नेसनल ट्रेडिङ लिमिटेडबाट बिक्री गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । 

अनुदानको चुलोको मूल्य ११ हजार ९ सय ९५ रुपैयाँ तोकेको छ । मूल्य बढी भए पनि बिक्री हुन सकेको थिएन । त्यसपछि पटकपटक मूल्य समायोजन गरेर ४ हजार निर्धारण गरिएको थियो । नेसनल ट्रेडिङ खाद्य कम्पनीमा गाभिएपछि अहिले चुलो खाद्यले बिक्री गरिरहेको छ । अहिले ग्यासको अभाव भएपछि चुलोको माग बढेको हो । कम्पनीका अनुसार पोखरा, भोजपुर, विराटनगरलगायतका डिपोबाट पनि माग भइरहेको छ । तर ढुवानीका साधन नहुँदा जिल्लाबाट बिक्री हुन सकेको छैन ।


प्रकाशित : चैत्र १५, २०७६ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?