एटीएम नभएको स्थानका बैंक शाखा नियमित खुला

सहरका बैंकमा ग्राहक छैनन्, गाउँमा भीड

काठमाडौँ — 
लकडाउनको समयमा बैंक तथा वित्तीय संस्थाले एटीएम नभएको स्थानका शाखा नियमित रूपमा सञ्चालन गर्दै आएका छन् । बैंकहरूले हरेक दिन २ घण्टा (११ देखि १ बजेसम्म) शाखा सञ्चालन गर्दै आए पनि ग्राहक निकै कम आउने गरेको बताइएको छ ।

एटीएम नभएको स्थानका बैंक शाखा नियमित खुला

बैंकहरूले भने सबै स्थानीय तहलगायत सहरबजारमा निश्चित शाखा सञ्चालन भएको दाबी गरेका छन् ।

स्थानीय प्रशासनले बन्द गर्न भनेको स्थानमा बाहेक सबै स्थानीय तहमा दैनिक दुई घण्टाका दरले बैंक खुला हुने गरेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘सहरमा निकै कम ग्राहक आउने गरेका छन्,’ उनले भने, ‘ग्रामीण भेगका शाखामा भने ग्राहक आउने गरेका छन् ।’ ग्राहकको सुविधाका लागि हरेक बैंकले सम्बन्धित शाखा प्रबन्धकलगायतको नाम तथा फोन नम्बर पनि उपलब्ध गराइएको उनले बताए । ‘बैंकहरूले वेबसाइटमा तथा कार्यालयमा देखिने गरी आधिकारिक व्यक्तिको फेन नम्बर राखेका छन्,’ उनले भने ।

बैंक सञ्चालनका क्रममा राष्ट्र बैंकको निर्देशनअनुसार नै पर्याप्त सुरक्षणका उपाय अपनाएको दाहालले बताए । ‘बैंकहरूले न्यूनतम कर्मचारीबाट आलोपालो प्रणालीअनुसार सेवा दिइरहेका छन्,’ उनले भने । कोरोनाको सम्भावित जोखिमबाट बच्न ग्राहकलाई विद्युतीय बैंकिङमार्फत कारोबार गर्न प्रोत्साहन गरिरहेको उनले जानकारी दिए ।

जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस कनेक्टलगायत सबै प्रकारका विद्युतीय भुक्तानी निःशुल्क रहेकाले ग्राहकलाई अतिरिक्त भार नपर्ने उनले बताए ।

‘लकडाउन सुरु भएपछिका एकदुई दिनमा एटीएममा धेरै भीड देखिएको थियो,’ दाहालले भने, ‘अहिले एटीएममार्फतको कारोबार पनि कम छ ।’ ग्राहकले आफूलाई आवश्यक रकम जोहो गरिसकेकाले पनि अहिले एटीएमबाट कम मात्र पैसा बाहिरिएको हुन सक्ने दाहालको अनुमान छ ।

कोरोनाको जोखिमबाट बच्न विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै राष्ट्र बैंकले पनि त्यस्ता कारोबारको सीमा बढाएको छ । नयाँ व्यवस्थाअनुसार मोबाइल बैंकिङ ‘क्यूआर’ कोडमार्फत दैनिक १ लाखसम्म कारोबार गर्न सकिन्छ । यो कारोबारमा मासिक सीमा १० लाख रुपैयाँ छ । मर्चेन्टद्वारा गरिने इन्टरनेट बैंकिङको कारोबार सीमा प्रतिदिन १० लाख रुपैयाँ छ । मासिक रूपमा महिना दिनमा ३० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिन्छ ।

यसैगरी, इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा १० लाख दैनिक कारोबार गर्न मिल्छ भने मासिक सीमा ५० लाख रुपैयाँ छ । वालेटमार्फत गरिने कारोबारमा ऐजेन्ट वा सबएजेन्टबाट दैनिक २५ हजार र महिनाको १ लाख, बैंक खाताबाट वालेटमा एक पटकमा २५ हजार, दैनिक १ लाख र मासिक ५ लाखको सीमा कायम गरिएको छ ।

वालेटबाट अन्य बैंक खातामा प्रतिकारोबार २५ हजार, एकदिनमा १ लाख र महिनामा ५ लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित : चैत्र १४, २०७६ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?