घरायसी ग्राहकलाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने तयारी

१५० यूनिटसम्म खपत् गर्दा २० प्रतिशत छुट दिने व्यवस्था मिलाउन प्राधिकरणलाई मन्त्रालयको निर्देशन
कान्तिपुर संवाददाता

काठमाडौँ — विद्युतीय चुल्होमा खाना पकाउन प्रोत्साहन गर्न सरकारले १ सय ५० यूनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई महसुलमा २० प्रतिशत छुट दिने तयारी गरेको छ । 

कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण खाना पकाउने ग्याँस अभाव हुने सम्भावित अवस्थालाई मध्यनगर गर्दै यस्तो व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइएको ऊर्जा, जलस्रोत मन्त्रालयले जनाएको छ ।

मन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई यस्तो व्यवस्था मिलाउन मौखिक निर्देशन दिएको मन्त्री पुनको निजी सचिवालयद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १ सय ५० युनिटसम्म २० प्रतिशत महसुल छुट दिन मन्त्री पुनको निर्देशन छ ।

मन्त्री पुनले इन्डक्सनमा छुट दिंदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताए । ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ । विद्युत हाम्रो आफ्नै उत्पादन हो,’ मन्त्री पुनलाई उद्धृद गर्दैर् जारी विज्ञप्तीमा भनिएको छ, ‘यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ ।’

कोरोनो संक्रमण रोक्न सरकारले साताव्यापी लकडाउन घोषणा गरेसँगै विद्युत् खपत्मा भारी गिरावट आएको छ । लकडाउनका कारण उद्योग, कलखारना, व्यवसाय बन्द भएसँगै विद्युत् खपत्मा कमी आएको हो ।

विद्युतको उच्च माग १२ सय मेगावाटबाट घटेर अहिले एक हजार मेगावाट भन्दा तल झरेको छ ।

यसअघि बुधबार बसेको नोभेल कोरोना (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो । यसअघि इन्डक्सन चुल्हो आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो ।


प्रकाशित : चैत्र १३, २०७६ ११:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लकडाउन प्रभावित मजदुरलाई नगरपालिकाले दाल–चामल दिने

सन्जु पौडेल

तिलोत्तमा — तिलोत्तमा नगरपालिकाले लकडाउनबाट प्रभावित दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने वर्ग समुदायलाई लक्षित गरी राहत घोषणा गरेको छ ।

बिहीबार बिहान बसेको सचिवालय बैठकले लकडाउनबाट प्रभावित भइ दैनिक छाक टार्न समस्या भएका परिवारलाई राहत दिने निर्णय गरेको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

‘पहिलो चरणमा साँझबिहानको छाक टार्न समस्या भएका प्रतिपरिवार दश किलो चामल र दुई किलो दाल उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने, ‘टोल विकास संस्थाको सिफारिसमा राहत उपलब्ध गराउने छौं ।’

नगरपालिकाले दैनिक ज्यालामजदुरीमा काममा लगाउने व्यक्ति, ठेकेदार, संस्था, कम्पनीलाई आफ्ना कामदारप्रतिको जवाफदेहीता निर्वाह गर्नसमेत ध्यानकर्षण गराएको छ । नगरपालिकाले राहत वितरणलाई व्यवस्थित बनाउन उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति गठन गरेको छ । यसअघि बुधबार नगरप्रमुखले नगरबासीलाई सम्बोधन गर्दै लकडाउनका कारण कोही भोकै बस्नु नपर्ने भन्दै त्यसको जिम्मा स्थानीय सरकारले लिने बताएका थिए ।

प्रकाशित : चैत्र १३, २०७६ ११:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×