लकडाउनको दोस्रो दिन : दुई हेलिकप्टरद्वारा उद्धार उडान

सुरज कुँवर

काठमाडौँ — कोरोना भाइरसबाट उत्पन्न जटिल अवस्थाका कारण सरकारले जोखिम घटाउन मंगलबार बिहानदेखि गरेको एक साता लामो लकडाउनको दोस्रो दिन दुइटा हेलिकप्टर रेस्क्यु उडान भएका छन् । 

लकडाउनको दोस्रो दिन : दुई हेलिकप्टरद्वारा उद्धार उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार बुधबार उपल्लो डोल्पा र लुक्लाबाट दुईटा हेलिकप्टर उद्धार उडान भए । ती उडान एयर डायनेस्टीका दुइटा हेलिकप्टरले गरेका हुन् । डायनेस्टीका प्रबन्धक बालकृष्ण पण्डितका अनुसार बुधबार बिहान लुक्ला नजिकैको पाङबोचेबाट एक जना रसियन पर्यटकलाई उद्धार गरिएको हो । ‘पदयात्रमा रहेकी ती महिलासहित तीन जना रसियन नागरिकलाई पाङ्बोचेबाट काठमाडौं ल्यायौं,’ पण्डितले भने, ‘ती रसियनलाई लिन सोमबार नै डायनेस्टीको हेलिकप्टर लुक्ला पुगेको थियो । तर मौसम बिग्रिएका कारण काठमाडौं फर्किन सकेको थिएन ।’


मंगलबार लकडाउनको पहिलो दिन यो हेलिकप्टरलाई गृह मन्त्रालयले अनुमति नै नदिएपछि बिरामी पर्यटकसहित उतै रोकिएको थियो । अहिले ती रसियनको राजधानीको स्वाकोन इन्टरनेसनल हस्पिटलमा उपचार भइरहेको डायनेस्टीले जनाएको छ ।


त्यसैगरी डायनेस्टीकै अर्को हेलिकप्टरले माथिल्लो डोल्पामा पदयात्रामा रहेका एक फ्रान्सेली नागरिकलाई पनि बुधबार दिउँसो काठमाडौं ल्याएको छ । लकडाउनको दोस्रो दिन भएको यो दोस्रो उद्धार उडान हो । ‘ती बिरामी र उनका सहयात्रीसहित दुबै फ्रेन्च पर्यटकलाई माथिल्लो डोल्पाबाट आजै (बुधबारै काठमाडौं ल्यायौं,’ म्यानेजर पण्डितले भने । ती फ्रेन्चको लैनचौरस्थित सिविक हस्पिटलमा उपचार भइरहेको उनले बताए ।


यसैबीच डायनेस्टीले बिहीबार पनि दुइटा हेलिकप्टर चार्टर उडान गर्दै छ । खुम्बु क्षेत्रको नाम्चे र गोरकसेपबाट दुइटा उद्धार उडान गर्न लागेको कम्पनीले जनाएको छ ।


नेपालले लकडाउन गरे पनि विभिन्न हिमाली क्षेत्रमा पर्यटकहरु रोकिएका खबर प्राप्त भएका छन् । हेलिकप्टर कम्पनीहरुका अनुसार मनाङमा ३० जना, मुक्तिनाथमा ४ जना र लाङटाङमा ६ जना जर्मन नागरिक उद्धारको पर्खाइमा रहेको खबर आएको छ । ती नागरिकलाई काठमाडौं फर्काउन सम्बन्धित मुलुकको दूतावासले पहल गरिरहेको जनाइएको छ ।


यसैबीच पर्यटन बोर्डले चितवन, पोखरा, काठमाडौंमा अलपत्र परेका कोही विदेशी भएमा खबर गर्न दुइटा मोबाइल नम्बरसहित सम्पर्क व्यक्ति तोक्दै फेसबुक पेजमा राखेको छ ।

बोर्डले नेपालमा रहेकाहरुलाई आफ्ना मुलुकका दूतावासमा सम्पर्क गर्न, नजिकै सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट, हेलिकप्टर उद्धार उडान, अस्पताल, प्रहरीलगायत विषयमा जानकारी दिन बेग्लै साइट स्ट्रयान्डेडइननेपाल डट कम साइट पनि सञ्‍चालनमा ल्याएको छ ।


प्रकाशित : चैत्र १२, २०७६ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?