कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

एटीएममा पर्याप्त पैसा राख्न राष्ट्र बैंकको निर्देशन

यज्ञ बञ्जाडे

काठमाडौँ — लकडाउनको समयमा एटीएममा पर्याप्त पैसा राख्न र नियमित निगरानी गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ । अप्ठ्यारो परिस्थितिमा सकेसम्म ग्राहकलाई आधारभूत सेवा प्रदान गर्न पनि बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले भनेको छ ।

एटीएममा पर्याप्त पैसा राख्न राष्ट्र बैंकको निर्देशन

बैंक तथा वित्तीय संस्थालाई स्थानीय सरकारसँग समन्वय गरेर सकेसम्म सर्वसाधारणले बैंकमा राखेको रकम झिक्न पाउने व्यवस्था मिलाउन निर्देशन दिइएको राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले बताए । लकडाउनको अवधिमा सर्वसाधारणलाई नगद आवश्यक पर्ने र त्यसका लागि न्यूनतम बैंकिङ सेवा प्रदान गर्नु वाञ्छनीय भएको भन्दै राष्ट्र बैंकले निर्देशन जारी गरेको हो ।


बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता प्रदान गरी आफ्ना ग्राहकलाई सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सूचित गर्न पनि भनिएको छ । हरेक स्थानीय तहमा सम्भव भएसम्म कम्तीमा एउटा शाखा सञ्चालन गर्न पनि राष्ट्र बैंकको निर्देशन छ ।


लकडाउन अवधिमा खुला रहने शाखाको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर आफ्नो वेबसाइटमा अद्यावधिक गर्न र बन्द रहने शाखाको मूलढोकामा सर्वसाधारणले देख्ने गरी बन्द शाखाको विवरण सूचना टाँस्न पनि राष्ट्र बैंकले भनेको छ ।


भन्सारबाट प्राप्त हुने चेक क्लियरिङको उचित व्यवस्था मिलाउने, अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चितता प्रदान गर्न ड्राफ्ट, टिटी, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देश गरेको छ । ‘घ’ वर्गका वित्तीय संस्थाले समेत स्थानीय प्रशासनसँग समन्वय गरी काउन्टरमार्फत सम्भव भएसम्म कारोबार सञ्चालन गर्न भनिएको छ ।


बैंक तथा वित्तीय संस्थाले नियमित रूपमा राष्ट्र बैंकमा बुझाउनुपर्ने रिपोर्ट पछि बुझाए पनि हुने सुविधा पाएका छन् । ‘बैक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा गर्नुपर्ने रिपोर्टिङ परिस्थिति सामान्य भई कार्यालय नियमित रूपमा खुलेको ७ कार्य दिनभित्र गर्ने व्यवस्था मिलाउनुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।


बैंक तथा वित्तीय संस्थाले निश्चित स्थानमा शाखा खुला गरे पनि ग्राहक खासै आएका भने छैनन् ।

प्रकाशित : चैत्र १२, २०७६ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?