कोरोना प्रभावित व्यवसायीलाई चैत मसान्तसम्म ऋणको सावा ब्याज बुझाउन छुट

नोटलाई संक्रमण रहित बनाउन अर्थ मन्त्रालयको निर्देशन
यज्ञ बञ्जाडे

काठमाडौँ — कोरोना प्रभावित व्यवसायीहरुले चैत मसान्तसम्म कर्जाको सावा तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ । अर्थ मन्त्रालयले बुधबार बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको हो ।


‘संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिक नभएकाले कोरोना प्रभावित व्यवसायहरुको सावा ब्याज असुली सम्बन्धी कार्य चैत्र मसान्तसम्मका लागि स्थगन गर्ने,’ निर्देशनमा भनिएको छ। कुन कुन व्यवाय तथा क्षेत्र कोरोना प्रभावित भन्ने खुलाइएको छैन।


सो अवधिमा प्रवाह भएको कर्जाको बर्गीकरण तथा नउठेको खराब कर्जा बापत गर्नुपर्ने व्यवस्था पनि स्थगनको व्यवस्था मिलाउन अर्थमन्त्रालयले राष्ट्र बैंकलाई निर्देशन दिएको छ।

बैंकको काउन्टरमा आउने ग्राहकलाई वितरण गर्ने नोटलाई संक्रमण रहित बनाएर मात्र वितरण गर्न पनि आग्रह गरिएको छ।


कोरोना संक्रमणका लागि विदेशबाट आयात गरिने औषधिको भुक्तानी सहज बनाउन टीटीको माध्यमबाट आयात गर्दा विदेशी विनिमयको सीमा लागू नहुने व्यवस्था गर्न पनि राष्ट्र बैंकलाई निर्देशन गरिएको छ।


यसैगरी, वित्तीय प्रणालीमा तरलता अभाव हुन नदिन अर्थमन्त्रालयले भुक्तानी गर्न बाकी रकम भुक्तानी गर्न, बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह कार्यलाई सहज बनाउन, पुनर्कर्जा कोषको उपयोग गर्न पनि अर्थमन्त्रालयले आग्रह गरेको छ।


यस्तै, सहुलियतपूर्ण ऋण प्रवाहलाई सहज बनाउन, कर्जा पहुाच बढाउन पनि निर्देशन दिइएको छ। बैंक तथा वित्तीय संस्थाले नगद रहित कारोबारलाई प्रोत्साहित गर्न विद्युतीय उपकरण प्रयोग गर्दा भुक्तानी गर्नु पर्ने शुल्कमा छुट दिन तथा न्यूनतम शुल्क लिन पनि अर्थले निर्देशन दिएको छ। प्रकाशित : चैत्र १२, २०७६ २०:२६

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कोरोना लकडाउनमा सांसद : कोही पुस्तक पढ्दै कोही फोनमार्फत जनतामाझ 

स्वास्थ्य व्यवस्थाबारे चिन्ता र चासो 
जयसिंह महरा

काठमाडौँ — संघीय संसदलाई पनि विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले प्रभावित बनाएको छ । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सूचना जारी गरेर स्थगित भएको छ भने राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।


प्रतिनिधिसभाको फागुन २९ गते बसेको बैठक कोरोनाकै त्रासले चैत ७ गतेसम्मका लागि स्थगित गरियो। ७ गतेकफो बैठक सूचना जारी गरेर १३ गतेसम्मका लागि स्थगित गरिएको थियो। बिहीबारका लागि आह्वान गरिएको बैठक पनि कोरोनाकै कारणले २३ गतेसम्मका लागि स्थगित भएको सूचना संसद सचिवालयले जारी गरेको छ।

यसबीच नेपालमा कोरोना संक्रमित व्यक्तिहरू थपिँदै गए। सीमा नाका बन्द गरिएका छन् भने आकाशबाट नेपाल आउने उडान पनि बन्द गरिएका छन्। मुलुकमा सरकारको तर्फबाट 'लकडाउन' आदेश जारी भएर सर्वसाधारण घरभित्र सीमित बनेका छन्। जनतासँगै जनप्रतिनिधि पनि काठमाडौंमा घर हुने घरभित्र र घर नहुने डेराभित्र सीमित बनेका छन्।

सांसद घरमा सीमित भए पनि आफ्ना मतदातासँग भने सम्पर्कमा रहेका छन्। कोही पुस्तक पढिरहेका छन् भने केहीलाई कानुन पढ्ने फुर्सद मिलेको छ। जनताजस्तै सांसदहरू पनि स्थिति सामान्य रहेको अवस्थामा चैत १८ गतेसम्म लकडाउनको अवस्थामा आइसोलेसन अर्थात् एकान्तवासमा रहनेछन्, परिवार र सीमिति व्यक्तिका साथमा।

मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा केही सांसदले दुई महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन्। केहीले उक्त कोषमा एक महिनाको रकम उपलब्ध गराउने भएका छन् भने अधिकांशले संसदीय दलका निर्णयअनुसार १५ दिनको पारश्रमिक दिने भएका छन्।

कोरोनाविरुद्ध लड्दै, समस्यामा परेकालाई सहयोग गर्दै सांसद :
आर्थिक सहयोगसँगै कोठामा सीमित भएका सांसदले आफ्नो क्षेत्रका समस्यामा परेका जनताहरूको उद्धारमा पनि खटिएका छन्। भारतसँग सीमा जोडिएका क्षेत्रका सांसदहरूको फोन लकडाउनको पहिलो दिन मंगलबार अति व्यस्त रह्यो। सरकारले भारतबाट कसैलाई पनि नेपाल छिर्न नदिने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना ठूलो संख्यामा सीमामा तैनाथ भएका थिए।

भारतबाट नेपाल आएकाको ठूलो भीड कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीमा थियो। सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी क्षेत्रबाट भारतमा मजदुरी गर्न गएका उनीहरूले आफूलाई नेपाल आउन दिन स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकार र संसद तथा संघीय सांसदहरूसँग हारगुहार लगाए। स्थानीय तहका प्रतिनिधि र प्रदेशका जनप्रतिनिधिले पनि केन्द्रबाट निर्णय गराएर नेपाललाई क्वारेन्टाइनमा बस्ने शर्तमा आउन दिन पहल गर्न आग्रह गरे।

नेकपा सांसद भीम रावलको मंगलबार भारतबाट नेपाल आउनेहरूका समस्या समाधान गर्नमा बित्यो। कोरोना रोकथाम सम्बन्धी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्च स्तरीय समितिबाट अन्तिम पटकका लागि निर्णय गराउनसम्म उनले लकडाउनको पहिलो दिन बिताए। उक्त समितिले निर्णय गरेपछि गड्डाचौकी, गौरीफन्टालगायत नाकामा रहेका हजारौंले नेपाल टेक्न पाए। 'हिजो कैलाली र कञ्चनपुरका सीमामा अड्किएका नेपालीलाई उद्दार गर्ने काममा लागियो। उनीहरूलाई छोड्ने कि के गर्ने भन्ने भन्ने विषय थियो, त्यसको समाधानमा लागियो,' काठमाडौंको घरमा एकान्तवास बसिरहेका उनले भने, 'आज कहाँ के के भइरहेको छ भन्ने जानकारी लिइरहेको छु।'

नेकपाकै सांसद जनार्दन शर्माको लकडाउनको पहिलो दिन रुकुमबाट मजदुरी गर्न सिन्धुली पुगेकालाई उद्धार गर्नमा बित्यो। उनको निर्वाचन क्षेत्रका ३६ जनाको टोली लकडाउन भएपछि मजदुरी गर्ने स्थलबाट घर जान बस चढेको थियो। उनीहरूलाई बसले बुटवलमा अलपत्र छोडिदिएको थियो। त्यसपछि शर्मा प्रशासनसँगको सहयोगमा सबैलाई सकुशल रुकुम पुर्‍याउने काममा लागेका थिए।

कोरोनाबाट संक्रमित राख्न वा क्वारेन्टाइन बनाउन राजपाकी प्रतिनिधिनिसभा सदस्य निर्जला राउतले होटल दिएकी छन्। महोत्तरीको बर्दिवासस्थित होटल पावन मिथिलालाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न तयार अवस्थामा राखेको उनले जनाएकी छन्। उक्त होटल केन्द्र सरकार र प्रदेश २ सरकारले आशव्यक परेको खण्डमा प्रयोग गर्न सक्नेछ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका अर्बपति विनोद चौधरीले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक र नर्सहरूले प्रयोग गर्ने पीपीई उपलब्ध गराउने बताएका छन्। सामाजिक संजाल ट्विटरमार्फत उनले अबको तीन दिनभित्र चौधरी फाउन्डेसनमार्फत ती उपकरण उपलब्ध गराउने जानकारी दिएका छन्। कांग्रेसबाट सांसद उनले भेन्टिलेटर, अक्सिजन सिलिन्डरलगायतका उपकरणका साथै स्वास्थ्यकर्मीलाई अभिमुखीकरणका लागि सरकारी निकायसँग सहकार्य गरेर अगाडि बढ्ने जनाएका छन्। 'आजको आवश्यकता पैसा होइन, उपकरणको सहज आपूर्ति हो। उपचारको अभिभारा बोकेका स्वास्थ्यकर्मीको सुरक्षा हो। यसतर्फ हामी अत्यन्तै सजग र संवेदनशील छौं। त्यसैले आगामी ३ दिनिभित्रमा देशभरीका सबै संवेदनशील स्थानमा पीपीईलगायत अन्य सामग्री उपलब्ध गराउने लक्ष्यसाथ अगाडि बढिरहेका छौं,' सांसद चौधरीले लेखेका छन्।

समाजवादी पार्टीका सांसद मोहम्मद इस्तियाक राई भने नेपालगञ्जमा छन्। उनी नेपालगञ्जलाई सेनिटाइज र डिसइन्फेक्टेड् गर्ने अभियानमा जुटेका छन् त्यसका लागि नेपालगञ्जका विभिन्न अस्पताल, विमानस्थल, बसपार्क र सुरक्षा निकायका कार्यालयसँगै सडकमा मेसिनबाट औषधि छर्ने काम भइरहेको उनले सामाजिक संजाल फेसबुकबाट जानकारी दिएका छन्।

लकडाउनको समय परिवार र अध्ययनलाई, फोनबाटै राजनीतिक गतिविधि :
संसद चलेको दिन संसदको अघिल्लो लाइनमा देखिने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको संसद नचलेको दिन सिंहदरबारस्थित कार्यकक्षमा बिताउने, नियमित कार्यालय जाने र फर्किने, पूर्व मेचीदेखि पश्चिम महाकालीबाट आएका विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरूसँग त्यहीँ कुराकानी गर्ने दैनिकीलाई कोरोनाको त्रासले परिवर्तन गरिदिएको छ। उनी लकडाउन हुनु एक दिन पहिलेदेखि घरमै बसेका छन्।

सिंहदरबारको कार्यकक्ष 'मिस' भइरहेको उनले फोनमा बताए। 'अफिसमा हुँदा सिंहदरबारमा हुँदा मेचीदेखि महाकालीसम्मका मान्छेहरूसँग भेट हुन्थ्यो। राजनीति, नागरिक समाज, प्राध्यापक, पत्रकार, वकिल प्राध्यापकहरूसँग साह्रै धेरै बाक्लो भेटघाट हुन्थ्यो। घरमा आइसोलेसनमा बस्दा त्यो छुट्यो,' उनले भने। 'अहिले आइसोलेसनमा बस्नु आवश्यकता हो' भन्दै उनले चित्त बुझाइरहेका छन्।

समसामयिक विषयका पुस्तक, पत्रपत्रिका पढिरहेको बताउँदै नेम्वाङले राजनीतिक गतिविधि फोनबाट चलिरहेको सुनाए। 'निर्वाचन क्षेत्रमा के भइरहेको छ भन्ने विषयमा फोनबाटै पार्टीका नेता र प्रशासनमा रहेका अधिकारीसँग फोनमै छलफल तथा जानकारी लिने काम भइरहेको छ,' उनले भने।

प्रमुख प्रतिपक्षी कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले लकडाउनको पहिलो दिन 'सुवर्ण स्मृति' पढिन्। उनले यो लडकडाउनको समयमा संसदीय अभ्यास र व्यवस्थाबारे लेखिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय पुस्तक पढ्ने योजना सुनाइन्। यो विपत्तिको बेला घरभित्र बसेर सबैले परिवार, समाज र सरकारलाई सहयोग गर्नुपर्ने उनको सुझाव छ। 'देशमा दैविक विपत्ति आएको छ। जसरी हुन्छ सरकारलाई तन, मन, धनले समर्थन गर्नुपर्छ,' उनले भनिन्, 'नेपाल अविकसीत देश भएकाले सजकताको खाँचो छ। कोरोनाको न्यूनीकरण भनेको सजगकता हो।

गाउँघरतिर बाहिरबाट विशेषगरी भारतबाट आउनुभएको छ। उहाँहरू सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ। परीक्षणको घडीमा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ। परिवारका सदस्यबाट टाढा बस्नुपर्छ। त्यसलाई कसरी पालना गर्नुभएको छ भन्ने चिन्ताको विषय भएको छ। त्यसमा सबैले ध्यान दिनुपर्छ।' उनले जिल्लामा कोरोनाविरुद्ध कसरी काम भइरहेको छ भन्ने विषयमा स्थानीय तहका प्रतिनिधिहरूसँग फोनबाट सूचना लिइरहेको बताइन्।

राजपा अध्यक्ष मण्डलका सदस्य तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले लकडाउनको समयमा पुस्तक पढ्ने र परिवारलाई समय दिने बताए। 'अध्ययन गर्नका लागि उपयुक्त समय पाएको छु। त्यसैले अध्ययनमा केन्द्रीत गरेको छु। बिहान योग, ध्यान, आत्म चिन्तनमा बित्छ। अरुबेला परिवारका सदस्यहरूसँग बस्ने समय हुँदैन थियो, अहिले समय मिलेको छ,' उनले भने, 'हिजोबाट स्यामुअल हङटिङटनको 'द क्ल्यास अफ सिभिलाइजेसन' पढिरहेको छु। विवेकानन्दसम्बन्धी पुस्तक पनि पढ्ने योजना छ। अध्यामिक र दर्शनका पुस्तक पढ्ने योजना छ।'

संसदीय सुनुवाइ समितिका सभापतिसमेत रहेका राजपा सांसद लक्ष्मणलाल कर्ण भने विधेयक पढिरहेका छन्। पछिल्लो समय विवादित विधेयक आएका र तिनको अध्ययन गर्न संसद चलिरहेको बेलामा नपाएकाले अहिले पढिरहेको उनले बताए। कानुनका पुस्तकको अध्ययनमा पनि लागेको उनको भनाइ थियो।

सांसद भीम रावल भने कोरोना भाइरसबारे अध्ययन गरिरहेको बताउँछन्। 'कोरोनाको कुन कुन ठाउँमा कस्तो प्रभाव छ? कहाँ के असर गरिरहेको छ? संक्रमणको वृद्धि कसरी भइरहेको छ? र, प्रवृत्ति के छ? भन्नेबारे पढिरहेको छु,' रावलले भने , 'पढेर विश्लेषण गर्ने र जिल्लामा तथा पार्टीका नेताहरूलाई पनि यथार्थ जानकारी गराउने गरिरहेको छु।'

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले भने समय मिलेमा रुपचन्द्र विष्टसँगको संगतबारे पुस्तक लेख्ने योजना बनाएका थिए। लामो समय संसद बैठक नबस्ने र बाहिर कार्यक्रममा पनि जान नपाउने भएपछि त्यसको सुरुवात गर्ने उनको तयारी थियो। तर उनको त्यो योजना कार्यान्वयन हुन सकिरहेको छैन। 'पढ्न, लेख्नपर्‍यो भनेर बस्यो चिन्ता लाग्छ दिमाग अन्तै जाँदो रहेछ। केही लेख्नपर्‍यो भनेर बस्यो 'टेकुमा यस्तो छ, सशस्त्रको प्रहरीको अस्पतालमा उस्तो छ' भनेर आएका समाचार दिमागमा खेल्छन्। काम गर्न पनि सकिएको छैन। किताब लेख्ने तयारी थियो, त्यो पनि अगाडि बढाउन सकेको छैन,' उनले भने।

स्वास्थ्य सेवाबारे चासो र चिन्ता :
प्रतिनिधिसभा सदस्य गगन थापाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक पत्र लेखेका छन्। स्वास्थ्यक्षेत्रबारे चिन्ता व्यक्त गरिएको पत्रमा कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने सुझाव रहेको छ। कोरोनाको जाँच बढाउनुपर्ने लगायतका सुझाव उनले दिएका छन्। स्वास्थ्यमन्त्रालयमा रहँदाको अनुभव स्मरण गर्दै उनले स्वास्थ्य क्षेत्र कोरोनालाई थेग्न नसक्ने र पर्याप्त तयारी नपुगेको लेखेका छन्।

सांसद बिडारीले कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि चाहिने अक्सिजन भेन्टिलेटर, स्वास्थ्यकर्मीका लागि सुरक्षित पहिरन सामग्री पीपीई र उपचारको तयारीबारे चिन्ता व्यक्त गरेका छन्। उनले चीनले स्वास्थ्य सामग्री दिन्छु र चिकित्सक पठाउँछु भनेको अवस्थामा सरकारले ती सामग्री ल्याउन ढिलाइ गर्न नहुने बताएका छन्।

सामाजिक संजालबाट कोरोनाबारे अफवाह फैलिइरहेको सांसद राजकिशोर यादवको भनाइ छ। त्यसले पनि मान्छेलाई अनावश्यक चिन्तामा धकेलेको उनको बुझाइ छ। यसको अन्त्य गर्नका लागि आधिकारीक र विश्वसनीय संचार माध्यममा मात्रै विश्वास गर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले थपे, 'कोरोनाको उपचारमा संलग्न चिकित्सक, नर्सलाई सरकारले सुरक्षित सामग्री दिनुपर्छ। विकासको बजेट काटेर भएपनि सरकारले उनीहरूलाई सुरक्षा व्यवस्था दिनुपर्छ। यो २० दिनयता विदेशबाट आएकालाई आइसोलेसनमा राख्न स्थानीय तहलाई भन्नुपर्छ।'

संसद बैठक स्थगित भए पनि संसद अधिवेशन अन्त्य नभएकाले अधिकांश सांसदहरू काठमाडौंमै रहेको दलहरूले बताएका छन्। राजधानी बाहिर गएकाहरू पनि आइसोलेसनमा बसिरहेको र जनतालाई परेका समस्या समाधानका लागि समन्वय गरिरहेको दलका नेताहरूको भनाइ छ।

प्रकाशित : चैत्र १२, २०७६ २०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×