कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एक परिवारलाई एउटा ग्यास सिलिन्डर

राजु चौधरी

काठमाडौँ — नेपाल आयल निगमले एक महिनामा एक परिवालाई एउटा मात्र ग्यास सिलिन्डर दिने नीति ल्याएको छ । कोभिड–१९ को असर लम्बिन सक्ने आँकलन गर्दै निगमले यस्तो व्यवस्था गरिएको बताएको छ ।

एक परिवारलाई एउटा ग्यास सिलिन्डर

बजारमा ग्यास अभाव हुन नदिन र प्रभावकारी व्यवस्थापनका लागि नयाँ व्यवस्था लागू गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । ‘डिलरले बिक्रेतालाई ग्यास बिक्री गर्दा मासिक रूपमा ‘एक परिवार, एक सिलिन्डर’को प्रक्रिया अपनाई बिक्री वितरण गर्नुपर्नेछ । बिक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बर प्रस्ट खुलेको रेकर्ड राख्नुपर्नेछ,’पौडेलले भने,‘उक्त रेकर्ड जिल्ला प्रशासन वा निगमले जुनसुकै बेला माग गर्न सक्नेछ ।’


ग्यास उद्योगले डिलरलाई बिक्री गरेको सिलिन्डरको परिमाण र डिलरले उपभोक्तालाई बिक्री गरेको परिमाण पनि नियमित परीक्षण गर्नुपर्ने उनले बताए । ग्यास उद्योगीले आफूसँग भएको ग्यासको सुरुको मौज्दात, भन्सारबाट आयात भएको परिमाण, उद्योगमा रहेको बुलेटको परिमाण र गोदाममा भरिराखेको सिलिन्डरको परिमाणको अभिलेख राखेर निगममा पठाउन निर्देशन दिएको छ ।


‘अघिल्लो दिन बिक्रीवितरण गरिएको परिमाणसहितको क्लोजिङ स्टक देखिने फेहरिस्त विवरण प्रत्येक दिन बिहान १० बजेभित्र जिल्ला प्रशासान कार्यालय तथा निगममा पठाउन पनि निर्देशन दिएका छौं,’उनले भने । निगमले ग्यास उद्योगको भण्डारणको जिम्मा गृहलाई दिइने जनाएको छ । आकस्मिक परिस्थितिजन्य माग धान्‍न भण्डारण गृहका रूपमा प्रयोग गरिने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


‘भण्डारण गृहमा गरिने मौज्दात सम्बन्धित उद्योगको भण्डारण क्षमताको करिब ५० प्रतिशतसम्म हुने र एक महिनाभित्र उक्त कार्य पूरा गर्ने व्यवस्था मिलाइनेछ,’विज्ञप्तिमा भनिएको छ । अत्यावश्यक सेवाको सुनिश्चितताका लागि प्रत्येक ग्यास उद्योगले आफ्नो उद्योगको दुई दिनको सिलिन्डर बिक्री बराबरको परिमाण तयारी अवस्थामा राख्न पनि निगमले भनेको छ । यसरी राखिएको सिलिन्डर बिक्रीवितरण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशनबमोजिम गर्नुपर्नेछ ।

प्रकाशित : चैत्र १२, २०७६ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?