कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोरोना रोकथाम कोषमा सहयोग घोषणा जारी

निजी क्षेत्र, सरकार सम्बद्ध व्यक्ति तथा संघसंस्थाले सहयोग गर्ने क्रम बढेको छ

काठमाडौँ — सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा निजी क्षेत्र र सरकार सम्बद्ध व्यक्ति तथा संघसंस्थाले रकम योगदान गर्ने घोषणा जारी राखेका छन् ।

यो कोषमा सरकारले ५० करोड रुपैयाँ जम्मा गरिसकेको छ भने सोमबारसम्म ६ करोड रुपैयाँभन्दा बढी योगदान हुने गरी घोषणा भइसकेका छन् ।

भाटभटेनीको १ करोड

भाटभटेनी सुपर मार्केटले मंगलबार कोषमा १ करोड रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरेको छ । ‘कोरोनाविरुद्धको लडाइँका लागि कोषलाई १ करोड नगद सहयोग गर्ने निर्णय भएको छ,’ भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले भने, ‘बुधबार बैंक खुलेपछि रकम जम्मा गर्छौं ।’


लक्ष्मी ग्रुपको १ करोड सहयोग


लक्ष्मी ग्रुपले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । लक्ष्मी ग्रुपले बुधबार उक्त कोषमा साथै ‘फिभर क्लिनिक’ स्थापनाका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । कोषमा जम्मा भएको उक्त रकम कोरोना भाइरसको संक्रमण नियन्त्रण र भाइरस प्रभावितहरुका उपचारका लागि हुने ग्रुपले जनाएको छ ।




सेबोनको ५० लाख

कोषमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । विपत्तिको यो घडीमा सरकारले चालेको रोग नियन्त्रणको अभियानमा आआफनो तर्फबाट समेत सहयोग पुर्‍याउन बोर्डले सरोबारवालालाई आग्रह गरेको छ । ‘पुँजीबजारका सबै सहभागी नेप्से, सीडीएससी, क्रेडिट रेटिङ संस्थाहरु, मर्चेन्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायी, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरुलगायत संस्थालाई सो खातामा यथाशक्य रकम जम्मा गरी सहयोग पुर्‍याउन बोर्ड अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।


सहकारी बैंकको ११ लाख

कोषमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सञ्चालक तथा लेखा समितिको बैठक भत्ता, कर्मचारीहरुको एक दिन बराबरको तलबसहित कोषमा उक्त रकम सहयोग गर्ने बैंकका अध्यक्ष केबी उप्रेतीले बताएका छन् । कोरोना नियन्त्रणका लागि आवश्यक सुरक्षा सामग्री, पीपीई, स्वास्थ्य उपकरण, नमुना परीक्षण किट र क्वारेन्टाइनलगायत अत्यावश्क सामग्री र स्वास्थ्य व्यवस्थापका लागि सहयोग गर्न बैंकले देशभरका सहकारी संघसंस्थालाई समेत अपिल गरेको छ । ‘बैंकका देशभर रहेका ४४ शाखामार्फत रकम जम्मा गर्न अपिल गर्दै बैंकले उक्त रकम नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा उपलब्ध गराउने छ,’ अध्यक्ष उप्रेतीले भने ।


संसद्को १५ दिनको तलब

सत्तारूढ दल नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस सांसदले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १५–१५ दिनको तलब दिने भएका छन् । मंगलबार दुवै दलका संसदीय दलले आफ्ना सांसदको १५ दिन बराबरको तलब दिने निर्णय गरेका हुन् ।


कार्ल्सवर्गले १ करोड ३८ लाख डलर अनुदान दिने

महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा न्यूनीकरणको अनुसन्धानको लागि कार्ल्सवर्ग फाउण्डेसनले १ करोड ३८ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ ।


फाउण्डेसनले विज्ञप्ती जारी गर्दै वैज्ञानिक, आर्थिक तथा मानवीय प्रयासद्धारा अनुसनधान, कला संग्राहालय तथा नागरिक समाजमा परिचालन तथा सहायता हुने गरी अनुदान दिने घोषणा गरेको हो ।


प्रकाशित : चैत्र १२, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?