बैंक सेवा केही घण्टा

प्रायः बैंकले केन्द्रीय कार्यालय रहेको स्थानका शाखाबाट दिनदिनै केही घण्टा सेवा दिने
यज्ञ बञ्जाडे

काठमाडौँ — सरकारले आह्वान गरेको ‘लकडाउन’ को समयमा पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । तर निश्चित स्थानका शाखामार्फत सीमित बैंकिङ सेवा (नगद कारोबार मात्र) प्रदान गरिने बैंकहरुले बताएका छन् ।

बैंक सेवा केही घण्टा

बैंकहरुले प्रायः केन्द्रीय कार्यालय रहेको स्थानका शाखाबाट सेवा दिने बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।


‘मंगलबार पनि बैंकहरुले सेवा दिइरहेका छन्,’ उनले भने, ‘केही जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले नै बन्द गर्नू भनेपछि बन्द छन् । बा“की सबै जिल्लामा बैंकहरुले सीमित सेवा दिइरहेका छन् ।’ बैंकहरुका सबै स्थानका शाखा नखुल्ने भएकाले सम्भव भएसम्म एटीएम, मोबाइल, इन्टरनेटलगायत विद्युतीय माध्यमबाट कारोबार गर्न पनि बैंकहरुले आग्रह गरिरहेका छन् । ‘सबै बैंकलाई एटीएममा पैसा रिफल गर्न भनेका छौं,’ उनले भने ।


यो अप्ठ्यारो अवधिमा कर्मचारीको सेवा दिने कर्मचारीको व्यवस्थापन गर्न सबै बैंकले सवारी पास निकालिसकेको पनि दाहालले बताए । ‘हरेक बैंकले न्यूनतम ३-४ वटा पास निकालेका छन्,’ उनले भने, ‘आलोपालोअनुसार कर्मचारी व्यवस्थापन गरी सेवा दिन्छौं ।’ घरबाहिर निस्कँदा जोखिम हुने भएकाले अत्यावश्यक अवस्थामा बाहेक ग्राहकलाई बैंकमा नआउन आग्रह गरिएको उनको भनाइ छ । काठमाडौं उपत्यकालगायत प्रमुख सहरमा एक÷दुई शाखा खुले पनि अन्य स्थानमा निश्चित समय (घण्टा) मात्र बैंक खुला रहने दाहालले जानकारी दिए ।


बैंक अत्यावश्यक सेवामै भर्ने भएकाले सेवा नरोक्न निर्देशन दिइएको कामु गभर्नर चिन्तामणि शिवाकोटीले बताए । ‘सम्भवतः बुधबार बैंक कसरी सञ्चालन गर्ने, कस्ता सेवा दिनेलगायत विषयमा केही निर्देशन दिन सकिन्छ,’ उनले भने, ‘संकटको अवस्था भएकाले सम्भव भएसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न अनुरोध गर्छु ।’


राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमा बढाएको छ । अब मोबाइल बैंकिङ ‘क्यूआर’ कोडमार्फत दैनिक १ लाखसम्म कारोबार गर्न सकिनेछ । मासिक सीमा १० लाख छ । मर्चेन्टद्वारा गरिने इन्टरनेट बैंकिङको कारोबार सीमा प्रतिदिन १० लाख रुपैयाँ छ । महिना दिनमा ३० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिन्छ ।

प्रकाशित : चैत्र ११, २०७६ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?