१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

थपिँदै स्यानिटाइजर उद्योग

साबुन, सौन्दर्य सामग्री, स्यानिटरी प्याड उत्पादन गरिरहेका केही उद्योग स्यानिटाइजर उत्पादनमा
नुमा थाम्सुहाङ

काठमाडौँ — बजारमा ह्यान्ड स्यानिटाइजरको अभाव चुलिएसँगै केही उद्योग भने यसको उत्पादनतर्फ लागेका छन् । यसअघि साबुन, सौन्दर्य सामग्री, स्यानिटरी प्याड उत्पादन गरिरहेका केही उद्योग स्यानिटाइजरको उत्पादनमा आकर्षित भएका हुन् ।

मोरङको टंकीसिनुवारी नगरपालिकास्थित हिमगिरी हाइजिन प्राली, चितवनको भरतपुर महानगरपालिका–७ स्थित मितेरी जैविक प्याड उत्पादन केन्द्र र काठमाडौंको लाजिम्पाटस्थित लावण्या लक्जरी आयुर्वेदाले स्यानिटाइजर उत्पादन गरिरहेका छन् ।


लावण्याले चैत ३, हिमगिरी र मितेरी केन्द्रले चैत ६ बाट स्यानिटाइजर बनाउन सुरु गरेका हुन् । सुनसरीको सोनापुरस्थित एक साबुन उद्योगले पनि स्यानिटाइजर उत्पादनका लागि उद्योग विभागमा आवदेन दिएको छ, त्यो स्वीकृतिको प्रक्रियामा रहेको उद्योग विभागले बताएको छ ।


यसअघि हिमगिरीले साबुनलगायत घरायसी सरसफाइका सामान, मितेरी केन्द्रले स्यानिटरी प्याड र लावण्याले सौन्दर्य सामग्री उत्पादन तथा बिक्री वितरण गरिरहेका थिए । हिमगिरीले स्यानिटाइजर र विभिन्न सौन्दर्यका सामग्री उत्पादनका लागि थप ४/५ करोड रुपैयाँ लगानी गरेको सञ्चालक महेश जाजूले बताए । ‘हामीले ४ दिनमा १ करोड रुपैयाँ बराबरको सामान उत्पादन गरिसकेका छौं ।


घरेलु सरसफाइका सामान बनाउने हुँदा स्यानिटाइजर उत्पादन गर्ने योजना ६/७ वर्षअघि नै आएको थियो,’उनले भने, ‘विभिन्न परिस्थितिले गर्दा काम अगाडि बढेको थिएन । अहिले बजारमा अभाव देखिएपछि उद्योग विभागबाट स्वीकृति लिई औरा नाम दिई उत्पादन अघि बढाएका हौं ।’ उद्योगले अहिले ७५ र १५० एमएल (मिलिलिटर) का बट्टामा स्यानिटाइजर उत्पादन गरिरहेको छ । ७५ एमएलको मूल्य १ सय ६० रुपैयाँ र १ सय ५० एमएलको २ सय ७५ रुपैयाँ पर्ने उनले जानकारी दिए ।


‘आवश्यकतालाई हेरी योभन्दा माथिका ५ लिटरसम्म पाइने स्यानिटाइजर बनाउने तयारीमा छौं,’ उनले भने, ‘उद्योगले नयाँ उत्पादन मोबाइल ह्यान्ड स्यानिटाइजर ल्याएको छ । यसमा २ सय ५० स्प्रे अर्थात् २० एमएल छ । यसको मूल्य १ सय २५ रुपैयाँ तोकका छौं ।’ उद्योगको दैनिक १५ टन लिटर स्यानिटाइजर उत्पादन गर्ने क्षमता छ । मागअनुसार क्षमता बढाउन सकिने उनको भनाइ छ ।


२ लाख ५० हजार रुपैयाँको लगानीमा मितेरी केन्द्रले स्यानिटाइजर बनाउन सुरु गरेको हो । ‘सुरुमा परीक्षण गरी उत्पादन थाल्यौं,’ केन्द्रकी अध्यक्ष सावित्री भण्डारी भन्छिन्, ‘हामीले बनाउन सक्छौं भनेर नै बनाएका हौं । कच्चापदार्थ भएसम्म राम्रै उत्पादन दिने प्रयास गरिरहेका छौं ।’


मितेरी केन्द्रले ५०, १००, २५० र ६०० एमएल मात्राका स्यानिटाइजर उत्पादन गरिरहेको छ । यसको मूल्य ७० रुपैयाँदेखि ५ सय ५० रुपैयाँसम्म पर्ने उनी बताउँछिन् । केन्द्रको दैनिक उत्पादन क्षमता २ सय लिटर भए पनि हालसम्म ७० लिटर स्यानिटाइजर बनाएर बिक्री गरिरहेको उनले जानकारी दिइन् ।


‘पूर्वतयारी भएन । यसका लागि आवश्यक कच्चापदार्थ दिनदिनै फरक मूल्य पर्छ,’ उनी भन्छिन्, ‘केन्द्रकै ७ कर्मचारी र बाँकी सदस्य मिलेर काम गरिरहेका छौं ।’


केन्द्रबाट नै स्थानीयलाई बिक्री गरिरहेको उनले बताइन् । लावण्याको दैनिक उत्पादन क्षमता भने ३० केजीसम्म रहेको सञ्चालक श्वेता उपाध्याय बताउँछिन् । ‘टंगालस्थित रहेको ल्याबमा ४ कर्मचारीले स्यानिटाइजर बनाउने काम गरिरहेका छन्,’ उनी भन्छिन्, ‘अहिले १ सय र २ सय एमएलमा मात्र बनाइरहेका छौं । कच्चापदार्थ र कर्मचारी हेरी अहिले दिनमा १० लिटरसम्म मात्र बनाइरहेका छौं ।’


१ सय एमएलको ४ सय ५० रुपैयाँ र २ सय एमएलको ६ सय ५० रुपैयाँ पर्ने उनले बताइन् । प्याकिङदेखि सबै कच्चापदार्थ भारतबाट ल्याउनुपर्ने भएकाले महँगो पर्न गएको उनको भनाइ छ । नेपालमा नपाइने भएकाले उत्पादनको लेबलिङ, प्याकेजिङका लागि चाहिने विभिन्न मात्राको बट्टा नपाइनेजस्ता समस्या रहेको उद्योगी महेश जाजूले बताए । यसैबीच ह्यान्ड स्यानिटाइजर उद्योग दर्ता प्रक्रिया ३ महिनाभित्र पूरा गर्न औषधी व्यवस्था विभागले आग्रह गरेको छ ।

प्रकाशित : चैत्र ११, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?